कोलकातामा सङ्कटः कोरोनाको डरले नोकरी छोड़्ने नर्सहरूको सङ्ख्या ३०० पुग्यो

0
1425
प्रतीकात्मक तस्वीर।

कोलकाता, १७ मईः कोरोना भाइरसको डरका कारण कोलकातामा नोकरी छोड़्ने नर्सहरूको ताँती लागेको छ।

हिन्दी दैनिक दैनिक जागरणमा प्रकाशित खबरका अनुसार कोलकाताका विभिन्न प्राइभेट नर्सिङ होमहरूमा नोकरी छोड़्ने नर्सहरूका सङ्ख्या ३०० पुगेको छ।

नोकरी छोड़्ने अधिकतर नर्स मणिपुरका छन्। केही अन्य राज्यका छन्। नोकरी छोड़ेर उनीहरू आ-आफ्ना घरतर्फ गइसकेका छन्।

यसैबीच नोकरी छोड़्ने नर्सहरूको ताँती लागेपछि कोलकातामा स्वास्थ्य क्षेत्रमा सङ्कट देखापरेको छ।

कोलकातामा १७ निजी चिकित्सा संस्थानको संस्था द एसोसिएशन अव् ईस्टर्न इन्डिया (एएचआईई)-ले राज्यका मुख्य सचिव राजीव सिन्हालाई पत्र लेखेर यस सङ्कटको निवारणका लागि हस्पक्षेप गर्ने माग गरेको छ।

सूत्रका अनुसार यसै साताको शुरूमा कम्तीमा १८५ नर्स नोकरी छोड़ेर आफ्ना घर फर्केका थिए। उनीहरू सबै मणिपुरनिवासी थिए।

त्यसपछि शनिवार कुल 169 नर्स नोकरी छोड़ेर आ-आफ्ना घर  मणिपुर, त्रिपुरा, ओडिशा र झारखण्डतर्फ गइसकेका छन्।

एएचआइईका अध्यक्ष प्रदीप लाल मेहताले पत्रमा भनेका छन्, ‘उनीहरूले किन नोकरी छोड़िरहेका छन्, त्यसको सही कारण हामीलाई थाह छैन। तर जतिजना पनि यहाँ छन्, उनीहरूका भनाइअनुसार मणिपुर सरकारले उनीहरूलाई घर फर्किनका लागि लोभ लाग्दो प्रस्ताव दिइरहेको छ।’

यद्यपि मणिपुरका मुख्यमन्त्री नाङ्गथोमबम वीरेन सिंहले फेसबुक पोस्टमार्फत् यस्तो दाबीलाई खारेज गरेका छन्। उनका अनुसार मणिपुर सरकारले यस्तो कुनै परामर्श जारी गरेको छैन।

‘हामीले कसैलाई फर्किनु भनेका छैनौं। हामीलाई उनीहरूमाथि गर्व छ, जसले कोलकाता, दिल्ली र चेन्नईमा बिरामीहरूको सेवा गरिरहेका छन्’, मणिपुरका मुख्यमन्त्रीले भिडियो सन्देशमा भनेका छन्, ‘कोभिड-१९ सङ्क्रमित बिरामीहरूका उपचारमा खटिनेहरूला सहयोग राशि र इनाम दिनेछौं भनेर हामीले अघिबाटै भनेका छौं।’

उनले भिडियो सन्देशमा थप भनेका छन्, ‘तर यदि नर्स र डाक्टरहरू जहाँ काम गरिरहेका छन्, त्यहाँ उनीहरूलाई ठीक लागेन भने त्यो उनीहरूको फैसला हो। म उनीहरूमाथि त्यहाँ काम गरिरहनका लागि दबाव दिन सक्दिनँ। उनीहरू फर्किनुको सायद यो नै कारण हुनसक्छ।’

मणिपुर फर्किसकेकी एक नर्सले नोकरी छोड़्नुको मुख्य कारण सुरक्षा सम्बन्धी चिन्ता र आमा-बाबाको दबाव रहेको बताएकी छन्।

उल्लेखनीय छ, कोलकातामा कोरोना कहर अत्यधिक छ। यहाँ अहिलेसम्म कोरोना सङ्क्रमणका १३११ मामिला प्रकाशमा आइसकेको छ। त्यहीं अहिलेसम्म यहाँ १०८ मृत्यु भइसकेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here