खरसाङ, 18 मईः खरसाङको गिद्दे पहाड़स्थित निर्माणीधीन टुरिस्ट लज हिजो आइतवार राति जलेर खरानी भएको छ।
यसका साथै यसै टुरिस्ट लजको केही तल राखिएका दुईवटा गाड़ीको ऐना पनि फुटाइएको घट्ना अघि आएको छ।
एकैसाथ टुरिस्ट लजमा आगो लाग्नु अनि यसकै छेउमा राखिएका गाड़ीहरूलाई पनि क्षति पुऱ्याउने कार्यबाट यो असामाजिक तत्त्वहरूको दुष्कर्म हुनपर्ने स्थानीय मानिसहरूको आशङ्का छ।
गिद्दे पहाड़का नागरिकहरूले ड्रग्सखोरहरूले नै टुरिस्ट लजमा आगो लगाएको तथा गाड़ी पनि तोड़फोड़ गरेको आशङ्का व्यक्त गरेका छन्।
खरसाङको गिद्दे पहाड़मा जीटीएले गत चार वर्षदेखि टुरिस्ट बनाउने कार्य शुरू गरेको थियो, जसको निर्माण कार्य हाल पनि जारी नै थियो। तर आधा-अधुरो निर्माण भइसकेको यस टुरिस्ट लजमा कसले अनि किन आगो लगायो भन्नेबारे विस्तृत जानकारी पाइएको छैन।
घटनाबारे खरसाङ पुलिसले जाँच कार्य शुरू गरिसकेको छ।
यसबारे जीटीए अध्यक्ष अनित थापासित सम्पर्क गर्दा उनले पनि खरसाङमा ड्रग्सखोरहरूको सङ्ख्यामा व्यापक वृद्धि भइरहेको बताउँदै यस्तै ड्रग्सखोरहरूले नै गाड़ी तोड़फोड़ साथै टुरिस्ट लजमा आगो लगाइएको हुनसक्ने बताए।
वर्तमान कोरोना सङ्क्रमणको कारण देशमा चलिरहेको लकडाउनको समयमा यसप्रकारको घटना कुनै पनि सामान्य मानिसहरूले गर्न सक्तैनन् भन्दै थापाले यो काम ड्रग्सखोरहरूकै हो भन्ने बताए।
“टुरिस्ट लजमा आगो लाग्नसक्ने सम्भावना पनि छैन। हाल पुलिस प्रशासन कोरोना सङ्क्रमण वा लकडाउनको कारण यसतिर व्यस्त छ, यसैको फाइदा उठाएर ड्रग्सखोरहरूले ड्रग्सको अवैध व्यापार पनि गरिरहेका छन्’’, थापाले भने।
यस्तै ड्रग्सखोरहरूले नै खरसाङ टुरिस्ट लजमा आगो लगाएको हुनसक्ने उनको आशङ्का छ।