नेपालीभाषी महिलामाथि आपत्तिजनक टिप्पणी, अनुष्काविरुद्ध मानव अधिकार आयोगमा मुद्दा

0
2190

दार्जीलिङ, १९ मईः बलिउड अभिनेत्री अनुष्का शर्माविरुद्ध अरूणाचल प्रदेशको अल अरूणाचल प्रदेश गोर्खा युथ वेलफेयर एसोसिएशनद्वारा मानव अधिकार आयोगमा मुद्दा दर्ता गरेको छ।

अनुष्कानिर्मित वेब सीरिज ‘पाताल लोक’ -मा नेपाली महिलामाथि अत्यन्त आपत्तिजनक शब्द प्रयोग गरिएकाले उनीविरुद्ध अरूणाचल प्रदेशको गोर्खा समाजले मानव अधिकार आयोगमा मुद्दा दर्ता गरेको हो।

‘पाताल लोक’ -मा नेपाली महिलामाथि प्रयोग गरिएको अत्यन्त आपत्तिजनक दृश्य र संवादका कारण अहिले अनुष्का शर्मा विवादमा तानिएकी छन्।

उनको विरोधमा भारतका विभिन्न प्रान्तमा रहेका गोर्खा समाज आक्रोशित बनेका छन्।

बलिउड अभिनेत्री शर्माविरुद्ध अल अरूणाचल प्रदेश गोर्खा युथ एसोसिएशनले मात्र होइन, तर  दिल्ली बस्दै आएकी दार्जीलिङनिवासी अञ्जनी शर्माले पनि मानव अधिकार आयोग र दिल्लीको साइबर क्राइममा हिजै एकैचोटि मुद्दा दर्ता गरेकी छन्।

‘पाताल लोकमा नेपालीभाषी महिलामाथि जुन प्रकारको शब्द प्रयोग गरिएको छ, त्यो अत्यन्त निन्दनीय छ; यो आपत्तिजनक र नस्लवादी टिप्पणी हो’, शर्मा भन्छिन्, ‘यसैले मैले अनुष्का शर्माविरुद्ध मानव अधिकार आयोग र साइबर क्राइममा उनीविरुद्ध मुद्दा दर्ता गरेकी हुँ।’

अञ्जनी शर्मा गोर्खाल्याण्ड संयुक्त सङ्घर्ष समितिकी प्रवक्ता पनि हुन्।

अर्कोतिर भारतभरि सङ्गठन रहेको भारतीय गोर्खा परिसङ्घको युवा एकाइ भारतीय युवा गोर्खा परिसङ्घले पनि अभिनेत्रीविरुद्ध भारत सरकारको सूचना एवं प्रसार मन्त्रालयमा ‘अनलाइन उजुरी’ दर्ता गरेको छ।

युवा परिसङ्घका राष्ट्रिय संयोजक नन्द देवानका अनुसार ‘पाताल लोक’ -मा नेपालीभाषी महिलामाथि गरिएको टिप्पणी १०.५ मिलियन भारतीय गोर्खामाथि अपमान हो।

यस संवादका लागि अमेजन प्राइम, निर्माता अनुष्का शर्माले माफी माग्नुपर्ने तथा बेव सीरिजबाट उक्त दृश्य र संवाद हटाउनुपर्ने भारतीय युवा गोर्खा परिसङ्घको माग छ।

स्मरण रहोस्,  चार दिनअघि अर्थात् १५ मईका दिन रीलिज भएको अमेजन प्राइमको वेब सीरिज ‘पाताल लोक’ -मा पूर्वोत्तर भारतको एक जनजाति महिलालाई ‘नेपाली वेश्या’ -को रूपमा सम्बोधित गरिएको छ।

यो दृश्य र संवादले आहत पुगेको गोर्खा समाजले यसको विरोधमा मानव अधिकार आयोगसमक्ष मुद्दा दर्ता गरे पनि अहिलेसम्म न अमेजन प्राइम न त अनुष्का शर्माबाट कुनै स्पष्टीकरण नै आएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here