खरसाङ, ११ जनवरी : नागरीफार्म चियाबारीको स्रष्टा परिवारद्वारा प्रदान गरिने डीके प्रधान स्मृति पुरस्कार यसवर्ष वरिष्ठ समालोचक प्रा. डा. कविता लामाको कविता डिस्कोर्स (समालोना कृति)-लाई दिइनेछ। बिहीवार बसेको सभापछि पुरस्कारको घोषणा गरिएको हो।
प्राप्त जानकारीका अनुसार यसवर्षको डीके प्रधान स्मृति पुरस्कारका लागि जुरी सदस्यमा गुप्त प्रधान, मदन ओझा र कमला राई थिए। उनीहरूले यसवर्षको पुरस्कार लामाको उक्त समालोचना कृतिलाई दिने निर्णय गरेका हुन्।
कविता डिस्कोर्सभित्रका डिस्कोर्सहरू फरक परिपाटिका र नयाँ स्रष्टाहरूका कृति उन्मुख रहेकोले यो पुस्तक चर्चामा छ। कविता डिस्कोर्स सन् २०१७ –मा प्रकाशित महत्त्वपूर्ण कृति हो।
लामालाई यो पुरस्कार आगामी ९ फरवरीको दिन एक साहित्यिक कार्यक्रम आयोजन गरी अर्पण गरिनेछ। पुरस्कार स्व. डीके प्रधानको परिवारले प्रायोजन गरेको छ।
यता, कविता डिस्कोर्सले पुरस्कार पाएपछि कृतिकार कविता लामा खुशी भएकी छन्। पुरस्कारभन्दा पनि उनी कविता डिस्कोर्सले मान्यता पाएको बढ़ी खुशी छन्। “मेरो कृतिले पुरस्कार पाउनु अपत्यारिलो कुरा झैं लागिरहेको छ। किनभने मैले पुरस्कारबारे सोचेको थिइन। मेरो काम लेखिरहनु हो, तर कृति विशेषलाई चयन गरी पुरस्कार दिइएकोमा बढ़ी खुशी छ”, उनले थपिन्, “किनभने मेरो साहित्यिक कर्मलाई स्वीकार गरिएको, मान्यता दिइएको लागिरहेको छ। जुरीका सदस्यहरूले पारदर्शी कार्य गरेका छन् भन्ने मलाई लागेको छ।”
उल्लेखनीय छ, पछिल्लो २२ दिसम्बरको दिन लामाले साहित्य कला सङ्गम दमक झापाद्वारा प्रदान गरिने भवानी मिश्र अन्तर्राष्ट्रिय साहित्यिक पुरस्कार प्राप्त गरेका थिए। उनको साहित्यिक योगदानलाई मूल्याङ्कन गरी यो पुरस्कार प्रदान गरिएको थियो।