-प्रताप खाती
मदन तामाङलाई उनको दशौं पुण्यतिथिमा आज सम्झना गर्दै! आजकै दिनमा २१ मई २०१० का दिन दार्जीलिङको क्लबसाइडमा दिनको उज्यालोमै उनको जघन्य हत्या गरिएको थियो। उक्त दिन मदन तामाङको जनसभा क्लबसाइडमा हुने तय थियो। उनी बिहानै उक्त स्थानमा आइपुगेका थिए।
छुट्टै राज्यको नाममा सत्तासँग मिलेर आफ्नै जातिलाई दिग्भ्रमित पार्ने अनि अत्याचार गर्ने सरकारी प्रायोजनमा निस्किएका एक झुण्ड काउन्टर नेतृत्वका विरोधी थिए मदन तामाङ। त्यससमय सरकारी प्रायोजनमा चल्ने ती नेताहरूले चुनाउ नै नगरीकन दागोपाप चलाइरहेका थिए। उनीहरूले दागोपापमा आउने करोड़ौं पैसामाथि आफ्नो जीवनको श्रेष्ठ पल बिताइरहेका थिए, भ्रष्टचार चरममा थियो।
यसैको सट्टा उनीहरूले छुट्टै राज्यको नाममा भइरहेको मागलाई भित्रभित्रै चौकी र सहुलियतसँग साटिसकेका थिए। ‘बङ्गालभित्र बस्दैनौं’ भन्दै बङ्गालभित्रकै अन्तरिम व्यवस्थामाथि औपचारिक सही छाप गर्नमात्र बाँकी थियो।
त्यसदिन मदन तामाङले सरकारी काउन्टर नेतृत्वहरूको भण्डाफोर गर्नेछन् भन्ने सन्त्रास उनीहरूमा व्याप्त थियो। यसैले उनीहरूले मदन तामाङलाई मार्ने षड्यन्त्र रचे। उक्त षड्यन्त्रको पर्दाफास, उनीहरूको फोनमा भएको कुराकानीको पूर्णविवरण इण्डियन एक्सप्रेस एउटा प्रतिष्ठित पत्रिकामा प्रकाशित भएको छ। यस आपराधिक घटना स्थानीय न्यायालय, उच्च न्यायालय र सर्वोच्च न्यायालयहरूमा आजसम्म चलिरहेको छ।
मदन तामाङसँगको मेरो सामिप्यताबारे संस्मरण गर्दा, झण्डै २१ वर्ष लामो संसर्ग थियो हाम्रो। आफ्ना मानिसहरूको पक्षमा बोल्ने अनि आफ्नो प्रतिबद्धता उजागर गर्ने मदन तामाङको स्वभावले मलाई उनीप्रति आकर्षण गरेको हो। मैले पनि उनको पाइला पहिल्याउन उनकै नेतृत्वमा सम्मिलित भएको हुँ।
दार्जीलिङमा म कलेजको विद्यार्थी हुँदादेखि उनको मरणको ओछ्यानसम्ममा पनि मैले उनमा इमानदारिता, सत्यता अनि भारतभरिका गोर्खा जातिका लागि प्रतिबद्धता देखेँ, तपस्या भेटेँ। नेता भन्ने बित्तिकै चुनाउ, सत्ता, चौकी एकैसाथ आउँछन् तर उनका लागि त्यो ठूलो कुरा थिएन।
उनी जनताका लागि बोल्ने नेता मात्रै बन्ने चाह गर्थे, कुनै चुनाउमा उनी आफै प्रतिद्वन्द्वी भएर उठेनन्। उनले आफ्नो जीवनको अन्तिम क्षणसम्म गोर्खा समुदायलाई आफ्ना समय, ज्ञान, धन-सम्पत्ति अनि आफ्ना प्राणसम्म प्रदान गरे।
यस अर्थमा उनी राजनीति गर्ने प्रतिद्वन्द्वी नभएर गोर्खाहरूका निम्ति प्रतिनिधि र प्रतिबद्धताका उदाहरण हुन्! साँचो नेता हुन्।
बङ्गाल सरकारको दास भएर बस्न नरुचाउने मदन तामाङ सदैव भारतीय गणतन्त्रभित्र गोर्खाहरूका लागि एउटा छुट्टै राज्य हुनुपर्छ भन्ने हाम्रा आवाज थिए। उनी गोर्खा हुँदा-हुँदै, उनीभित्र असल राष्ट्रभक्तिको भावना थियो, यसैले देश हितको सर्वोपरि सत्य नै गोर्खाहरूका छुट्टै राज्य ठान्थे।
उनलाई एकपल्ट भेट्ने अनि कुराकानी गर्ने मानिस, कहिले पनि उनलाई बिर्सन सक्दैन थिए। मानिसहरू उनको ज्ञान-विवेकअघि तर्क गर्न सक्दैन थिए। आफ्नो पसिना र रगतले कमाएको धनले सम्पन्न, ज्ञान र विवेकले पूर्ण, जन्मजात हिम्मत र प्रताप भएका मदन तामाङ गोर्खाहरूका कोखमा फेरि जन्मनु अर्को घटना नै हुनेछ।
आफ्ना जातिका पक्षमा उभिएर बोल्ने उनलाई नै दिनको उज्यालोमा जघन्य हत्या गरिनु हामी गोर्खाहरूका लागि अर्को आत्मग्लानि र विश्वासघातको क्षण हो, यो दिन। उनका हत्याराहरू आजसम्म दार्जीलिङमा खुल्ला घुमिरहेका छन्।
उनको हत्या भएको दश वर्ष भयो। तर, उनका परिवार, यहाँका जनतालाई अझैसम्म न्याय भएको छैन। दार्जीलिङले अझसम्म मदन तामाङ जस्ता अर्का नेता पाउन सकेको छैन।
आऔँ! मदन तामाङजस्ता यशस्वीको सन्तान भएर उनका पद चिह्नहरू पछ्याऔँ! उनी जस्तै इमानदार भएर जातिको हितमा लागौँ।
यसैले जातीय हितका लागि आज उनको दशौँ पुण्यतिथिमा, प्रतिज्ञा गर्दै, उनकै पदचिह्नहरू पछ्याउँदै अनि अखिल भारतीय गोर्खालीगको सेवा गर्दै, हाम्रो सामुहिक लक्ष्य हासिल गर्न सदैव तयार रहौँ।
उनले छोड़ेर गएका गोर्खा जातिका कार्यहरू गोर्खा लीगले पूर्ण गरेरै छोड्नेछ। यो हाम्रो सङ्कल्प रहोस्।
उनका आत्माले शान्ति पाउन्!
जय गोर्खा।
सदैव गौरव राख्नेछौँ गोर्खाको।
(लेखक अखिल भारतीय गोर्खा लीग केन्द्रिय समितिका महासचिव हुन्)