सीटु नेता समन पाठकसहित ९ जना पक्राउ

0
1199
सीटु नेता समन पाठकलाई पक्राउ गर्दै पुलिस।

सिलगढ़ी, २२ मईः देशव्यापी लकडाउनका कारण बिचल्ली परेका प्रवासी श्रमिकहरूका हितमा विभिन्न मागलगायत सरकारको श्रमिकविरोधी नीतिको विरोध गर्न आज सड़कमा ओर्लेका सीटु नेता समन पाठकलगायत ९ जनालाई सिलगढ़ी पुलिसले पक्राउ गऱ्यो।

यद्यपि अपराह्न ३ बजे पुलिसले उनीहरू सबैलाई पीआर बण्डमा रिहाइ गरेको छ।

उल्लेखनीय छ, श्रमिकहरूको हितमा विभिन्न मागसहित सरकारका श्रमिकविरोधी नीतिविरुद्ध आज देशव्यापी विभिन्न श्रमिक सङ्गठनले प्रतिवाद गरेका थिए।
यसैक्रममा सिलगढ़ीमा पनि विभिन्न श्रमिक सङ्गठनले प्रतिवाद जनाएका थिए।

हिलकार्ट रोडलगायत महकुमा शासकको कार्यालयअघि प्रतिवाद जनाएका यी श्रमिक सङ्गठनहरूको महकुमा शासकलाई ज्ञापन चढ़ाउने कार्यक्रम थियो।

तर, यसअघि नै लकडाउन उल्लङ्घन गरेको आरोपमा सीटु नेता पाठकलगायत अन्य ९ जनालाई प्रधाननगर पुलिसले पक्राउ गऱ्यो।

‘‘अहिलेघरी लकडाउनका कारण श्रमिकहरूको अवस्था मर्नु न बाँच्नु भएको छ। श्रमिकहरूलाई घरसम्म पुऱ्याउनका लागि सरकारले समुचित व्यवस्था गर्न सकेको छैन। आफ्नै व्यवस्थामा हिँड़ेर नभए वाहनमा जोखिम उठाएर फर्किरहेका श्रमिकहरू पनि दुर्घटनामा परेर ज्यान गुमाइरहेका छन्’’, समन पाठकले जनसंवादसँग टेलिफोनिक कुराकानी गर्दै थप भने, ‘‘यस्तो जटिल स्थितिमा सरकारले अझ मालिकवर्गलाई फाइदा पुऱ्याउन श्रमिकहरूका कतिवटा अधिकारलाई खारेज गर्ने कार्य गर्दैछ। यस्तै नीतिको विरोधमा हामी आज सड़कमा निस्केर प्रतिवाद जनाएका हौं। यदि श्रमिकहरूका हितमा सड़कमा ओर्लिँदा हामीलाई पक्राउ गरिन्छ भने हाम्रो भन्नु केही छैन।’’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here