कालेबुङ, 11 जनवरी : दार्जीलिङको वर्तमान राजनीतिक स्थिति र आगामी लोकसभा चुनाउमाथि छलफल गर्नका लागि अखिल भारतीय गोर्खा लीग (अभागोली)-ले डाकेको सर्वदलीय बैठक शुक्रबार सम्पन्न भयो।
स्थानीय श्यामादेवी भवनमा डाकिएको यो बैठकमा दार्जीलिङ पहाड़का राजनीति दलहरूमध्ये जन आन्दोलन पार्टी (जाप) र हिल कङ्ग्रेसले मात्र सहभागिता जनाए। गोर्खा लीगका महासचिव प्रताप खातीका अनुसार यी जापबाट भुपेन्द्र राई र नरेश राई, कङ्ग्रेसबाट सुरेन्द्र पारेखलगायत तीनवटा सामाजिक सङ्गठनका प्रतिनिधिहरू तथा ननिता गौतमले भाग लिएका थिए। आयोजक दल गोर्खा लीगबाट भने अध्यक्ष एसके प्रधान, महासचिव प्रताप खातीलगायत अन्य थिए।
महासचिव खातीका अनुसार बैठकमा दार्जीलिङको वर्तमान स्थिति र आगामी लोकसभा चुनाउबारे विशद् चर्चा गरिएको थियो। “आगामी 23 जनवरी अघि हामी फेरि कालेबुङमा सर्वदलीय बैठक बस्नेछौं। उक्त बैठकमा स्टेरिङ कमिटी गठन गर्नेछौं। यो कमिटीले हाम्रा मुद्दा र समस्याहरूलाई लिएर राष्ट्रिय र क्षेत्रीय राजनीतिक दलहरूसँग बैठक गरी छलफल गर्नेछ”, आजको बैठकमा लिएको निर्णयबारे जानकारी गराउँदै उनले जनसंवादलाई भने।
एक प्रश्नको उत्तरमा धेरै राजनीतिक दल र सामाजिक सङ्गठनहरूले चिट्ठी ढिलोगरी पाएकोले आजको सर्वदलीय बैठकमा पातलो उपस्थिति रहेको गोर्खालीग महासचिवले दाबी गरे। “हामीले सबैलाई चिट्ठी पठाएका हौं। धेरैले ढिलो चिट्ठी पाएको बताए। यसैले उनीहरू धेरजसो आजको बैठकमा उपस्थित हुनसकेनन्, आगामी 23 जनवरी अघि हुने सर्वदलीय बैठकमा सबै राजनीतिक दल सामाजिक सङ्गठनहरू उपस्थित हुने हामीलाई आशा छ।”
उल्लेखनीय छ, क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टी (क्रामाकपा) -ले अघिबाटै गोर्खा लीगले डाकेको यो सर्वजलीय बैठकमा नजाने घोषणा गरेको थियो।