-दीपा राई
धर्तीले खुसुक्क भन्दैछ,
मलाई पनि मेरो ज्यान प्यारो छ
मै बाँचे त अरूलाई बचाउला
प्रदूषणले मेरो फोक्सो नै लान आँटे
त्यसैले केही दिन सुरक्षित बसे
म फर्केर चाँड़ै आउला
फेरि सँगै रमाउला
म पनि तिमीहरू बिना सञ्च कहाँ छु र,
प्रदूषणमुक्त छु
तर,
अचकाली दुख्दैछु
भयङ्कर पीड़ामा छु म
जीवन-मृत्युको युद्धमा लड़िरहेको यो भीड़लाई देखेर
यतिबेला मेरो छातीको ग्रेभयार्डमा
लश्कर लागेका छन्
पीड़ाहरू पर्खेर अन्तिम संस्कार
पर्ख केही क्षण
बस,
तिमी सुरक्षित बसिदेऊ
घरमा बसिदेऊ
स्वच्छ बसिदेऊ
प्रदूषणमुक्त वातावरणमा
प्रदूषणमुक्त विचार राखिदेऊ
कस्सम हामी भेट्नेछौ
नयाँ बिहानीमा
पहिलाभन्दा दह्रो गरी
अनि
म चाँड़ै अँगालोमा बाधेर म्वाई खाने छु
मेरो प्यारा नानीहरूलाई।
(गान्तोक)