गान्तोक, २९ मईः पूर्व सिक्किमको रिनाकस्थित चालिसेमा हावाहुरीका कारण ढलेको रूखले किचेर एक ६० वर्षीय महिलाको मृत्यु भएको छ, जबकि दुईजना घाइते भएका छन्।
उक्त बीभत्स घटना आज अपराह्न घटेको हो। मृतक महिलाको नाम गोपीमाया दर्जी बताइएको छ।
एउटा ठूलो रूख ढलेर गोपीमाया दर्जीको घरलाई थिच्दा उनको मृत्यु भएको बताइएको छ। यस घटनामा ३५ वर्षीय कुन्ता दर्जी र ११ वर्षीय निक्की दर्जी घाइते भएका छन्।
उनीहरूलाई रिनाकमै प्राथमिक उपचारपछि गान्तोक रेफर गरिएको छ।
अर्कोतिर उक्त हावाहुरीबाट रिनाक क्षेत्रमा धेरै क्षति पुगेको छ।
यसैबीच आज सांसद इन्द्रहाङ सुब्बा र विधायक आदित्य गोलेले आज हावाहुरी प्रभावित रिनाक क्षेत्रको भ्रमण गरी पीड़ित परिवारबारे जानकारी लिइएको बताइएको छ।