बिष्टलाई अनितको व्यङ्ग्य- सांसदले प्रधानमन्त्रीलाई लेखेको पत्रले काम बन्नेछ भन्ने आशा छ

0
1434
अनित थापा (फाइल फोटो)

दार्जीलिङ, ३० मई: दार्जीलिङका सांसद राजु बिष्टले उत्तर बङ्गालमा अझै कोभिड-१९ जाँच केन्द्र वा स्वाब टेस्ट सेन्टरहरूका स्थापना गर्ने माग गर्दै प्रधानमन्त्रीलाई पत्र लेखेको विषयमा जीटीए बीओएका अध्यक्ष अनित थापाले खुशी व्यक्त गरेका छन्।

‘दार्जीलिङ र कालेबुङ जिल्लामा कोरोना सङ्क्रमण जाँच केन्द्रको स्थापना हुनपर्छ भन्ने विषय लिएर जीटीएले धेरै समयदेखि माग उठाउँदै आइरहेका छौं’, थापाले शनिवार एक प्रेस विज्ञप्ति गरी थप भनेका छन्, ‘तर यसमाथि केही ठोस कार्य हुनसकेको छैन। तर अब केन्द्रमा सत्तासीन रहेको भारतीय जनता पार्टीकै एक सांसदले पनि यो मागलाई चर्काएपछि अब काम बन्नेछ भन्ने आशा लागेको छ।’

उनले एक विज्ञप्ति जारी गर्दै यसबारे भनेका छन्, ‘गत एक सप्ताहमा जीटीए क्षेत्रमा लगभग 3,000 मानिस देशका विभिन्न राज्यबाट प्रवेश गरेका छन्। घर फर्केका पहाड़वासीलाई हामी सहृदय स्वागत गर्छौं। तर मानिसहरूका प्रवेशसँगै कोरोना भाइरसको पनि पहाड़मा प्रवेश भइरहेको छ। यसैले पहाड़मा भाइरसको सङ्क्रमण रोक्न दार्जीलिङ अनि कालेबुङ जिल्लामा संक्रमण जाँच केन्द्र स्थापना गर्न अति आवश्यक छ।’

जीटीए बीओएका अध्यक्षका अनुसार जीटीए क्षेत्रमा जाँच केन्द्र स्थापना हुनुपर्छ भन्ने माग उनले शुरूदेखि नै गर्दै आइरहेका छन्।

‘दार्जीलिङ संसदीय क्षेत्रका भाजपाका सांसद राजु विष्टले पनि प्रधानमन्त्रीलाई यसबारे पत्राचार गरेको खबर सुनेर म खुशी छु सांसदले दार्जीलिङ अनि कालेबुङ जिल्लामा जाँच केन्द्रको स्थापनाको माग गरेका छन्। यसमाथि केन्द्र सरकारले शीघ्र स्वीकृति दिने विषय लिएर सांसद बिष्टले अझै जोड़ गरेको उचित हुनेछ’, उनले थप भनेका छन्, ‘आगामी सप्ताहभित्र जाँच केन्द्र स्थापनाको स्वीकृति आउन सके हामी कृतज्ञ हुनेछौं। सांसदद्वारा प्रधानमन्त्रीलाई लेखिएको पत्रमा उत्तर बंगालमा जाँच केन्द्रको स्थापना विषय उल्लेख गरिएको छ। जीटीए क्षेत्रमा पनि कोरोना जाँच केन्द्रको स्थापना हुन अनिवार्य छ। यो हाम्रो आवश्यकता अनि माग हो।

उनले विज्ञप्तिमा अझै भनेका छन्, ‘सांसद बिष्टले प्रधानमन्त्रीलाई पठाएको पत्रमा स्वाबका नमूनाहरूको रिपोर्ट समयअनुसार दिन नसकेर थुप्रिएको कारण अनि प्रवासी कामदारहरूको बढ्दो आगमनको कारण दार्जीलिङ, कालेबुङ, खरसाङ अनि मिरिक सरकारी अस्पतालहरूमा पनि जाँच केन्द्र स्थापना गर्नुपर्ने उल्लेख गरेका छन्। कोरोना जाँच केन्द्र स्थापना गर्नु-नगर्नु, जाँचका लागि चाहिने उपकरणको आपूर्तिको निर्णय केन्द्र सरकारले मात्र गर्न सक्छ। यसैले सांसद विष्टले केन्द्रिय स्वास्थ्य मन्त्रालयलाई जीटीए क्षेत्रमा कोरोना जाँच केन्द्रको स्थापनाको पहल गराउन ठोस कार्य गरे असल हुनेछ।‘

यदि सांसद विष्टले केन्द्र सरकारबाट जाँच केन्द्र स्थापनाको अनुमति ल्याउनसके त्रिवेणीको भवनलाई कोरोना जाँच केन्द्रमा रूपान्तरण गर्न सकिने पनि जीटीए बीओएका अध्यक्ष अनित थापाले बताएका छन्।

अर्कोतिर थापाले अहिलेससम्म सांसद राजु बिष्टले केन्द्रका विभिन्न मन्त्रीलाई २८० पत्र लेखिसकेको बताउँदै परोक्ष रूपमा व्यङ्ग्य गरेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here