दिसनमा उपचाररत् सिलगढ़ीमा दुईसहित तीनजना कोरोना सङ्क्रमित

0
1117

सिलगढ़ी, १ जूनः सिभियर एक्युट रेस्पिरेटरी इलनेस (सारी) अस्पतालको रूपमा रूपान्तर गरिएको कावाखालीस्थित दिसन अस्पतालमा उपचाररत् सिलगढ़ी नगरनिगम क्षेत्रका दुईजनामा कोरोना सङ्क्रमण पाइएको छ।

कोरोना सङ्क्रमित पाइएकामध्ये एकजना २१ वर्षे युवक भानुनगर तथा अर्का ५५ वर्षीय महिला परेश नगरनिवासी रहेको बताइएको छ।

जानकारीका अनुसार केही दिनअघि ती युवक मुम्बईबाट तथा महिला दिल्लीबाट फर्केकी थिइन्। उनीहरूमा कोरोना भाइरसका लक्षण देखिएका कारण पछिल्लो २९ मईका दिन दिसन अस्पतालमा भर्ना गरिएको थियो।

त्यसपछि दुवैको स्वाबको नमूना सङ्ग्रह गरी टेस्टका लागि उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालको भाइरल रिसर्च एन्ड डायग्नोस्टिक ल्याबरोटरी (भीआरडीएल)-मा पठाइएको थियो भने आज उनीहरूका टेस्ट रिपोर्ट पोजिटिभ आएको हो।

अर्कोतिर, दिसन अस्पतालमै उपचाररत् चोपड़ानिवासी २८ वर्षे युवक पनि कोरोना सङ्क्रमित रहेको पुष्टि भएको छ।

दिल्लीबाट फर्केका ती युवकलाई कोरोनाको लक्षण देखिएपछि ३० मईका दिन यस अस्पतालमा भर्ना गरिएको थियो। उनको पनि आजै टेस्ट रिपोर्ट पोजिटिभ आएको हो।

उनीहरू तीनैजनालाई मतिगढ़ाको हिमाचल विहारस्थित कोभिड अस्पताल डा. च्याङ सुपर स्पेशअलिटी अस्पतालमा लगिने तर्खर गरिँदैछ।

उल्लेखनीय छ, पछिल्लो १८ मईका दिनयता सिलगढ़ी महकुमा क्षेत्रमा एकपछि अर्का गरी कोरोना सङ्क्रमणको मामिला प्रकाशमा आइरहेको छ।

हिजो एकैदिन कोरोना भाइरसका ६ नयाँ मामिला प्रकाशमा आएको थियो, जसमध्ये दुई युवक दिसनमै उपचाररत् थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here