सिक्किम विश्वमै उदाहरण बनेको चामलिङको दाबी, भने- रोजगार मेला विश्वमा नै पहिलोचोटि

0
1564
रोजगार मेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री चामलिङ।

गान्तोक, 12 जनवरीः राज्य सरकारले ऐतिहासिक रोजगार मेला लगाएर राज्यका 20 हजार युवाहरूलाई नोकरी प्रदान गरेको छ। राजधानीको पाल्जोर स्टेडियममा शनिवार हजारौं युवाहरूका बीच मुख्यमन्त्रीले ‘एक परिवार एक नोकरी’ योजनाअन्तर्गत प्रत्येक समष्टिबाट दुईजना युवालाई टोकन नियुक्ति पत्र प्रदान गरे। यद्यपि लगातारको प्रयासबाट पनि 12 हजार नियुक्ति-पत्र मात्र तयार पार्न सकिएकोले बाँकी 8 हजारलाई आगामी केही दिनमै नियुक्ति दिइने मुख्यमन्त्रीले अवगत गराए। यसप्रकारको ऐतिहासिक मेला विश्वमै पहिलचोटि भएको मुख्यमन्त्री चामलिङको भनाइ थियो।

“गैर-जिम्मेवार तत्त्वहरूले यो नियुक्ति 89 दिनको मात्र हो, अस्थायी हो भनेर हल्ला गर्दैछ। म मुख्यमन्त्रीको रूपमा तपाईंहरूलाई विश्वस्त र आश्वस्त गराउन चाहन्छु-यो तीनमहिने नोकरी होइन। पाँच वर्षपछि सबैको नोकरी स्थायी हुन्छ। चाहे बीस हजार, तीस हजार वा पचास हजार नै किन नहोउन्, पाँच वर्षपछि सरकारले सबै अस्थायी कर्मचारीको नोकरी स्थायी गर्छ। यसको निम्ति हामीले नियम बनाएका छौं”, उनले भने।

विपक्षी पार्टीहरूका सबै दाबी, आरोप र आशङ्कालाई खारेज गर्दै मुख्यमन्त्रीले भने,“नोकरी नभएको घरलाई नोकरी दिने सरकारको योजना हो यो। सरकारको मानक पूरा गर्ने सबैले नोकरी पाउँछन्। प्रत्येक घरले नोकरी पाओस् भन्ने सरकारको उद्देश्य छ। यो ऐतिहासिक रोजगार मेलाको पहिलो चरणमा 20 हजार युवाहरूलाई नोकरी दिइनेछ। छुटेकाहरूलाई पनि तुरुन्तै यसमा समेटिनेछ।”

सरकारका यस्ता युवामुखी योजनाहरूलाई सफल बनाउन नागरिक समाजले सहयोग पुऱ्याउनुपर्ने उनले आह्वान गरे। “एसडीएफ सरकारले अघिबाटै 20 हजारभन्दा अधिक एमआर, वर्कचार्ज्ड र एडहक कर्मचारीलाई स्थायी गरिसकेको छ। मानक पूरा गरेका 4,313 अस्थायी कर्मचारीले जनवरी महिनाभित्रै स्थायी नियुक्ति पाउँदैछन्। यो सँगै कुल 25 हजार एमआर, वर्कचार्ज्ड र एडहक कर्मचारीलाई हामी स्थायी गर्नेछौं। स्थायी हुनेहरूलाई यो कुरा थाहा छ। गैर-जिम्मेवार मान्छेहरूको कुरा सुनेर जनता अलमलिनु हुँदैन”, मुख्यमन्त्रीले भने।

विधानसभामा बिल पास गरेर स्थायी नोकरी दिनुपर्छ भन्ने विपक्षीहरूको भनाइप्रति पनि मुख्यमन्त्रीको अप्रत्यक्ष स्पष्टीकरण थियो, “यस्ता कुरा गैर-जिम्मेवार व्यक्तिले गर्छ। हामी विधानसभामा संविधानको धारा 19 परिवर्तन गर्ने बिल पास गर्न सक्दैनौं। यो संविधानको विषय हो। राज्यको क्षमताभित्र रहेको काम मात्र हामी गर्न सक्छौं। राज्यका सबै पढ़ेलेखेका युवाहरूलाई यो कुराको ज्ञान छ। जनतालाई यसरी ढाट्नेहरूले राज्यवासीको बेइज्जत गर्दैछ। पाँच वर्षको मानक राज्य सरकारको क्षमताअनुसार बनाइएको छ। तपाईंहरूको नोकरी पाँच वर्षपछि स्वतः स्थायी हुन्छ। यो मेरो वचन हो, एसडीएफ पार्टीको वचन हो, पवन चामलिङको वचन हो।”

नियुक्ति आदेश पाउने सबैलाई इमानदार र प्रतिबद्ध भएर काम गर्न मुख्यमन्त्रीले आह्वान गरे। कामलाई सम्मान गर्न उनले राज्यवासीलाई आग्रह गरे। जनताले दुःख पाउँदा आफूलाई पोल्ने र दुःख्ने गरेको बताउँदै मुख्यमन्त्रीले भने, “नोकरी दिने साहसी कामको पछि हाम्रो सिद्धान्त र विचार छ। एसडीएफ सरकार रहेसम्म यो नियम चलिरहन्छ। गरीबलाई सुरक्षा दिने नियम हो यो।” यससँगै सरकारी नोकरीको सङ्ख्या एक लाख हुने उनले बताए।

सिक्किममा सरकारी नोकरी गर्ने कर्मचारीहरूको प्रति व्यक्ति आय विश्वमै अधिक भएको मुख्यमन्त्रीको दाबी थियो। ‘बेकारी’-को परिभाषा फेर्नुपर्ने आह्वान गर्दै सिक्किममा कोही पनि बेरोजगार हुने स्थिति नरहेको मुख्यमन्त्रीले बताए। कसैले नपत्याएको काम आफूहरूले गरेर देखाएको उनको भनाइ थियो। राज्य सरकारले सिक्किमका युवाहरूमाथि विशेष ध्यान दिएको जिकिर गर्दै मुख्यमन्त्रीले एसडीएफ पार्टीले युवामुखी, भविष्यमुखी कार्ययोजना बनाएकोले प्रत्येक व्यक्तिको विकास सरकारको उद्देश्य रहेको उनले बताए।

जैविक राज्यको कारण सिक्किम विश्वमै परिचित बनेको बताउँदै युवाहरूले कृषि तथा जैविक क्षेत्रमा कार्य गरेर यसको दीर्घम्यादी फाइदा लिनुपर्ने उनले आह्वान गरे। आगामी कार्यकालमा कृषिसँग सम्बन्धित सबै ऋण माफ गरिदिने पनि मुख्यमन्त्रीले घोषणा गरे।

दुई घण्टाभन्दा लामो आफ्नो सम्बोधनपछि मुख्यमन्त्रीले राज्यका 31 वटा समष्टिका लागि लगाइएको नियुक्ति आदेश वितरण स्टलहरूको एक-एक गरी भ्रमण गरे भने स्टेडियमका चारैतिर रहेका युवाहरूलाई मैदानबाट अभिवादन गरे। यसअघि, स्वागत वक्तव्य राख्दै राज्यका मुख्य सचिव एके श्रीवास्तवले राज्यले अहिलेसम्म गरेका प्रमुख प्रगति र रोजगार मेलाको महत्त्वबारे प्रकाश पारेका थिए।

यस अवसरमा विधानसभा अध्यक्ष केएन राई, उपाध्यक्ष, मन्त्रीगण, विधायकगण, विभिन्न विभागका प्रमुख, प्रशासनिक अधिकारी तथा जनप्रतिनिधिहरूको पनि बाक्लो उपस्थिति रहेको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here