गोरामुमोको सामाजिक अभियान जारी, अजय एड्वर्डले भने-मानवता नै सर्वोपरि

0
1159

दार्जीलिङ, १ जूनः गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) दार्जीलिङ ब्राञ्च कमिटीका अध्यक्ष अजय एड्वर्डले महामारीको बेला मानवता नै सर्वोपरि रहेको बताएका छन्।

उनकै अगुवाइ र सहयोगमा गोरामुमोले आफ्नो सामाजिक अभियानलाई निरन्तरता दिँदै आवश्यक मानिसहरूलाई खाद्यान्नलगायत अन्य आवश्यक सामग्रीहरू वितरण गर्दै आएको छ।

हिजो पनि अजय एड्वर्डको सहयोगमा गोरामुमो दार्जीलिङ टाउन कमिटीले दार्जीलिङ सेन्ट्रल हेरिटेज रिसर्टका कर्मचारीहरूलाई राहत सामग्रीस्वरूप खाद्यान्न वितरण गरेको थियो।

जानकारीका अनुसार कोरोना भाइरसको यो वैश्विक महामारीका कारण यस रिसर्टका मालिकले कर्मचारीहरूलाई वेतन दिएका छैनन्।

यसै सन्दर्भमा आज गोरामुमो ब्राञ्च कमिटी अजय एड्वर्डले प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘यस्तो महामारीको बेला मानवता सर्वोपरि हो। अहिलेको यस विकट परिस्थितिमा मालिकपक्षले आफ्ना कर्मचारीहरूलाई माया र सम्मान दिने मौका यही हो। यति बेलै सहयोग नगरेर कहिले गर्ने त?’

यसैगरी दार्जीलिङ पहाड़ र तराई क्षेत्रका विभिन्न व्यवसायमा आबद्ध मालिकहरूले आफ्ना कर्मचारीहरूप्रति मानवतापूर्ण व्यवहार गरी सकेसम्म सहयोग गर्नुपर्ने उनको अपील छ।

‘परस्परमा सहयोगी बनेर काम गरे मालिकपक्षलाई नै भविष्यमा फाइदा हुनेछ’, एड्वर्डले थप भनेका छन्।

अर्कोतिर गोरामुमो मिडिया सेलका प्रभारी दिनेश साम्पाङका अनुसार लकडाउनअवधि दार्जीलिङ पहाड़का विभिन्न होटलमा कार्यरत् कर्मचारीहरूले वेतन नपाएको गुनासो गरेपछि गोरामुमो जनचेतना सङ्घर्ष समिति, गोरामुमो श्रमिक सङ्गठन र दार्जीलिङ टाउन कमिटीका पहलमा ती कर्मचारीहरूलाई न्याय दिने पहल गरिएको र यसै पहलस्वरूप दार्जीलिङ लेबर कोर्टमा ज्ञापनसमेत बुझाइएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here