जुलाईदेखि सबै होटल पूर्ण रूपले बन्द हुने, १० हजारभन्दा अधिक कर्मचारी बेरोजगार बन्ने निश्चित

0
1101
दार्जीलिङ शहर।

दार्जीलिङ, २ जूनः दार्जीलिङको होटल ओनर्स एसोसिएशनले आउँदो जुलाई महिनादेखि दार्जीलिङका सम्पूर्ण होटल बन्द गर्ने घोषणा गरेको छ।

आज दार्जीलिङ होटल ओनर्स एसोसिएशनले आगामी जुलाई महिनादेखि दार्जीलिङका सम्पूर्ण होटल बन्द गर्ने घोषणा गरेको हो।

यद्यपि, यसअघि यी होटलहरूमा कार्यरत् कर्मचारीहरूलाई मई र जून महिनाको ३५ प्रतिशत वेतन दिने तय गरिएको दार्जीलिङ होटल ओनर्स एसोसिएशनले आज जानकारी गराएको छ।

दार्जीलिङका होटलहरू बन्द हुनसाथै यहाँ कार्यरत् १० हजारभन्दा अधिक कर्मचारी बेरोजगार बन्ने निश्चित छ।

विशेष कोरोना सङ्क्रमणको कारण विश्‍वकै पर्यटन व्यवसाय नराम्रो घतले प्रभावित बनेको छ, यसैको चपेटमा परेका दार्जीलिङका होटल मालिकहरू पनि आउँदो जुलाई महिनादेखि आफ्ना होटलहरू पूर्णरूपले बन्द गर्ने स्थितिमा पुगेका छन्। जसको असर यी होटलहरूमा कार्यरत् होटल कर्मचारीहरूमाथि पनि परिरहेको छ।

यसबारे आज एक पत्रकार सम्मेलनको आयोजन गरी होटल ओनर्स एसोसिएशनका मूलसचिव विजय खन्नाले भने, “कोरोना सङ्क्रमणका कारण हाल दार्जीलिङ पहाड़का होटल व्यवसाय पूर्णरूपले ठप्प बनेको छ, यहाँको पर्यटन व्यवसाय पनि नराम्रोघतले प्रभावित बनिरहेको छ। तरै पनि हामीले होटलहरूमा कार्यरत् कर्मचारीहरूलाई मई र जून महिनाको ३५ प्रतिशत वेतन दिने तय गरेका छौं, तर आउँदो जुलाई महिनादेखि हामी होटलहरू पूर्णरूपले बन्दै गर्ने स्थितिमा पुगिसकेका छौं।

यद्यपि केन्द्र र राज्य सरकारले होटल व्यवसायीहरूका लागि केही आर्थिक प्याकेजको घोषणा गरे वा प्रदान गरे, त्यसबाट होटलमा कार्यरत कर्मचारीहरूलाई सहयोग पुग्ने पनि उनले बताए।

उनले भने, “केन्द्र सरकारले गत केही सप्ताहअघि मात्र २० लाख करोड़ बराबरको आर्थिक राशिको घोषणा गऱ्यो, तर त्यो राशिबाट होटल व्यवसायीहरूले एक पैसा पनि पाएनन्। तरै पनि केन्द्र र राज्य सरकारले केही आर्थिक सहयोग प्रदान गरे, होटल व्यवसायी साथै कर्मचारीहरूलाई ठूलो राहत पुग्ने थियो।’’

खन्नाले थप भने, “गत ८ मार्च २०२०-का दिन होटल ओनर्स एसोसिएशनको एक सभा सम्पन्न भएको थियो। त्यस सभामा हामीले कर्मचारीहरूलाई अप्रेल र मई महीनाको केवल ३० प्रतिशतको दरले वेतन दिने निर्णय लिएका थियौं। तर त्यसको विरोधमा कतिपय कर्मचारीहरूले सह-श्रमायुक्त कार्यालयमा उजुरी दर्ता गरेका थिए। जसको आधारमा नै गत शुक्रबार जिल्ला प्रशासनको पहलमा त्रिपक्षीय बैठक डाकिएको थियो। जसमा कर्मचारीहरूको पक्षबाट वेतनमा केही बढ़ोत्तरी गरिदिने माग गरिएको थियो। जसबारे आज हामीले एक बैठक गरेर ३५ प्रतिशत वेतन दिने निर्णयमा पुगेका हौं र जून महिनाको वेतन पनि दिने छलफल गरेका छौं। तर त्यसपछि हामी केही गर्नसक्ने अवस्थामा छैनौं। यसैलेहोटल पूर्णरूपले बन्दै गर्नेछौं।‘’

एक प्रश्‍नको उत्तरमा उनले भने, ‘‘अब होटलमा पर्यटक नै नआएपछि होटल खोलेर राख्ने कुनै औचित्य नै छैन।”

यसै विषयमाथि जोड़ दिँदै होटल ओनर्स एसोसिएशनका अध्यक्ष साङ्गे छिरिङ भोटियाले भने, “दार्जीलिङका सम्पूर्ण होटल नै पर्यटकहरूको भरमा चल्नेहरू हुन्, तर अब दार्जीलिङ पहाड़मा पर्यटक आउने कुनै सम्भावना नै देखिएको छैन। सरकारले पर्यटन, होटल व्यवसाय खोल्ने अनुमति प्रदान गरे पनि दार्जीलिङ पूर्णरूपले पर्यटकमाथि नै निर्भरशील भएको कारण दार्जीलिङका होटलहरूलाई महामुश्किल पर्नेछ। यस विषय लिएर हामीले केन्द्र, राज्य सरकार, जीटीएसित पनि कुरा गऱ्यौं। तर कतैबाट पनि केही हुनसकेको छैन।”

तरै पनि उनले यस वर्षको पहिलो पर्यटन मौसम समाप्त भइसकेको जानकारी गराउँदै आउँदो सेप्टेम्बर-अक्टोबरदेखि शुरू हुने पर्यटन मौसममा स्थिति हेरेर आवश्यक पदक्षेप ग्रहण गर्ने योजना बनाएको पनि बताए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here