कालेबुङ, २ जूनः भारतीय गोर्खा परिसङ्घ (भागोप) कालेबुङ समितिले आज कोरोनाविरुद्ध अग्रिम पङ्क्तिमा रहेर युद्ध लड़िरहेका स्वास्थ्यकर्मीहरूलाई सम्मान जनाएको छ।
भागोप र भागोपको महिला सङ्घका पदाधिकारीहरूले आज कालेबुङ जिल्ला अस्पतालमै पुगेर त्यहाँका अधीक्षक, डाक्टर र नर्सहरूलाई विधिवत् दीयो कलश राखेर टीका खदा लगाइदिएर सम्मान जनाएका थिए।
वास्तवमा कोरोना भाइरसको वैश्विक यस्तो महामारीमा जोखिमलाई पर पन्साएर अग्रिम पङ्क्ति खड़ा भई जनसेवामा प्रतिबद्ध स्वास्थ्यकर्मीहरूलाई समुचित सम्मान गर्नकै लागि भागोप कालेबुङ शाखाले यस्तो कार्यक्रम गरेको बताइएको छ।
यसअवसरमा भागोप महिला गोर्खा परिसङ्घका सदस्यहरूले बनाएका गोर्खा व्यञ्जन उनीहरूलाई खुवाइएको थियो।
स्वास्थ्यकर्मीहरूलाई सम्मान जनाउन कालेबुङ जिल्ला अस्पतालमा जाने प्रतिनिधि टोलीमा भागोपका अध्यक्ष नारायण प्रधान सचिव पीके प्रधानलगायत थप तीन सदस्य तथा भागोप महिला गोर्खा परिसङ्घबाट अध्यक्ष अनिता भूषाल, सचिव इन्द्रिरा शर्मा, सल्लाहकार दीपा रानी ठकुरीलगायत अन्य सदस्यवर्ग सामेल थिए।
उल्लेखनीय छ, भागोप कालेबुङ शाखाले आउँदा दिनमा पनि यस्तै कार्यक्रम गर्ने प्रतिबद्ध जनाएका भागोप महिला गोर्खा परिसङ्घ कालेबुङ शाखाकी प्रचार सचिव पुण्य लामाले जानकारी गराएकी छन्।