होटल बन्द गर्नअघि कर्मचारीहरूलाई कानुनी रूपमा क्षतिपूर्ति दिइनुपर्छः समन पाठक

0
1304
समन पाठक (फाइल फोटो)।

दार्जीलिङ, ३ जूनः मार्क्सवादी कम्युनिष्ट पार्टी (माकपा) नेता एवं पूर्व सांसद समन पाठकले दार्जीलिङका होटल मालिकहरूलाई होटल बन्द गरेर आफ्ना कर्मचारीहरूलाई बिचल्लीमा नपारिदिने अपील गरेका छन्।

यदि होटल बन्द नै गरिन्छ भने पनि यी होटल कर्मचारीहरूलाई कानुनीरूपमा दिनुपर्ने क्षतिपूर्तिको पनि उनले माग गरेका छन्।

विशेष गरी दार्जीलिङको होटल ओनर्स एसोसिएशनले होटलहरूमा कार्यरत् कर्मचारीहरूलाई यस महिना अर्थात् जूनको ३५ प्रतिशत वेतन दिएर जुलाईदेखि होटलहरू बन्द नै गर्नुपर्ने स्थितिमा पुगेको हिजो घोषणा गरेपछि आज माकपा नेता समन पाठकले यसो गर्नु अनुचित रहेको पनि बताए।

पाठकका अनुसार यदि कुनै उद्योग बन्द गरिन्छ भने बन्द गर्नुभन्दा ३ महिनाअघि नै नोटिस दिनुपर्ने थियो। तर अचानक होटल बन्द गर्ने घोषणा गरी कर्मचारीहरूलाई बिचल्लीमा पार्नु कदापि उचित नरहेको यी माकपा नेताको भनाइ छ।

यसैले होटल मालिकहरूले आफ्नो निर्णयमाथि पुनर्विचार गर्नुपर्ने पनि उनले माग गरेका छन्।

“यदि कुनै उद्योग नै पूर्णरूपले बन्द हुने अवस्थामा पुग्छ भने सरकारले यसमाथि विशेष ध्यान दिनपर्छ, ताकि यस उद्योगसित जोड़िएका हजारौं मानिसको बिल्लीबाठ नहोस्’’, उनले थपे, “यसबारे होटल मालिकहरूले सरकारसित पनि कुरा गर्नुपर्छ।’’

यसका लागि माकपाले पनि सरकारसित उचित कुरा गर्ने उनको भनाइ छ।

दार्जीलिङका होटलहरू पूर्णरूपले पर्यटकमाथि नै निर्भरशील छन् अनि पर्यटक नै नआए होटल व्यवसाय पूर्णरूपले ठप्प रहनेछ, यस्तो स्थितिमा होटल मालिकहरूले आफ्ना कर्मचारीहरूलाई कसरी वेतन दिनसक्छ? भन्ने होटल मालिकहरूका तर्कबारे प्रश्‍न गर्दा पाठकले भने, “यो तर्क वा सोच होटल मालिकहरूको हो। किनभने, यसअघि होटलहरूमा व्यापक सङ्ख्यामा पर्यटक आउँदा होटलहरूले असल आमदानी गर्दा होटल मालिकहरूले कहिले पनि कर्मचारीहरूलाई बेसी वेतन दिने कार्य गरेनन्। तर होटलमा पर्यटक नआउँदा यसको मार सोझै कर्मचारीहरूमाथि किन पर्छ। यदि होटल मालिकहरू होटल बन्द गरी आफ्ना कर्मचारीहरूलाई बेरोजगार बनाउन कटिबद्ध छन् भने हामी पनि सड़कमा ओर्लिएर विरोध गर्न बाध्य हुनेछौं।’’

यसैबीच, दार्जीलिङका होटल कर्मचारीहरूले होटल व्यवसायलाई पूर्णरूपले बन्द गर्नुको सट्टा यसको समाधान गर्न बीचको बाटो अप्नाउने अपील गरेका छन्।
उनीहरूले बन्द समाधान होइन भन्ने बताउँदै होटल मालिकहरूको होटल बन्द गर्ने निर्णयबारे जीटीए तथा प्रशासनले मध्यस्थता गरी समाधानको बाटो निकाल्ने पनि माग गरेका छन्।

होटल कर्मचारी शरण थामी र सत्यन गिरीले एकै स्वरमा भने, “वर्तमान कोरोना सङ्क्रमणले गर्दा विश्‍वकै पर्यटन व्यवसाय नराम्रोघतले प्रभावित बनिरहेको छ। यो स्थितिलाई दार्जीलिङका होटल कर्मचारीहरूले पनि राम्ररी बुझेका छन्। यसैकारण हाल होटल मालिकहरूले आफ्ना कर्मचारीहरूलाई जति वेतन दिइरहेका छन्, त्यसैमा आफ्नो घर चलाइरहेका छन् अनि वेतन पूरा दिने माग पनि गरेका छैनन्।’’

उनीहरूले थपे, “तर अचानक होटल मालिकहरूले जुलाईदेखि होटल बन्द गर्ने एकतर्फी घोषणा गरेका छन्। यो कुनै पनि स्थितिमा स्वीकारयोग्यको निर्णय होइन। यसैले होटल मालिकहरूले वार्ताको बाटो खोलेर आफू पनि नमर्ने अनि कर्मचारीहरूलाई पनि नमार्ने बाटो निकाल्नुपर्छ।’’

यसका लागि गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन (जीटीए)-ले पनि शीघ्र हस्तक्षेप गरी समाधानको बाटो निकाल्ने कार्य गर्नुपर्ने होटल कर्मचारीहरूको माग छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here