परिवर्तन भन्ने पार्टीले छेपारोको तस्करी गरिरहेको छ : चामलिङ

0
1885
रोजगार मेलालाई सम्बोधन गर्दै चामलिङ।

गान्तोक, 12 जनवरीः परिवर्तन भन्ने पार्टीले छेपारोको तस्करी गरिरहेको मुख्यमन्त्री पवन चामलिङले गम्भीर आरोप लगाएका छन्। पार्टीगत रूपमा उनले स्पष्टतः विपक्षी सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम)-लाई तारो बनाइरहेका थिए।

“परिवर्तन भन्ने भट्टुहरूको फेला पर्यो भने सिक्किम बेच्छ। गुम्बा र छुलुम टुसुङ लीजमा दिन्छ। यिनीहरूले तस्करी गर्छ। म मुख्यमन्त्रीसँगै गृहमन्त्री पनि हुँ। यिनीहरूले छेपारोको तस्करी गर्छ”, पाल्जर स्टेडियममा बृहत् रोजगार मेलालाई सम्बोधन गर्ने क्रममा मुख्यमन्त्रीले बिहीवार विपक्षी एसकेएम पार्टीमाथि यस्तो गम्भीर आरोप लगाएका हुन्। आफ्नो सम्बोधनमा मुख्यमन्त्री कुनै पार्टीको नाम नलिई तर एसकेएमप्रति खनिए।

“चुनाउमा कुन पार्टी र नेताको नेतृत्वमा सिक्किम सुरक्षित र विद्यार्थीको भविष्य सुरक्षित रहन्छ, त्यो निर्णय लिएर भोट हाल्नुहोला। विद्यार्थीहरू जात-धर्म र राजनीतिमा लाग्नु हुँदैन। हाम्रो पार्टीमा पनि लाग्नु भन्दिन। सिक्किम बिग्रिए युवाहरूको भविष्य बर्बाद हुन्छ। जात र धर्मलाई राजनीतिकरण गर्ने पार्टी र व्यक्तिको पछि विद्यार्थीहरू लाग्नु हुँदैन”, चामलिङले भने। एसडीएफ नयाँ इतिहास बनाउने पार्टी भएको उनको भनाइ थियो।

“म र एसडीएफबाहेक सबै राजनीतिक पार्टीले सिक्किम बिर्गाछ। यी पार्टीहरू कोही दिल्ली, कोही नर्थइस्टतिर कुद्दैछन्। यिनीहरूको पछि को छ? जनताले बुझ्नुपर्छ। एसडीएफ पार्टी यहाँका जनताको पार्टी हो। यसको मालिक सिक्किमबाहिर छैन। हामी सिक्किमे जनताप्रति बफादार छौं। हामीले कुनै सरकारसँग पार्टीलाई मिलाएको छैन। गुण्डा, भट्टु, बाहिर मालिक भएका मानिसहरूका लागि हामी उत्तरदायी हुनुछैन। हाम्रो जवाफदेहिता सिक्किमेली जनताप्रति हो। सिक्किमेली जनताको हितमा काम गर्ने नेता छान्नुपर्छ। सिक्किमलाई सुरक्षित हातमा छोड्ने नेता छान्नुपर्छ। यसकारण राजनीतिलाई सहज नसम्झनुहोस्”, उनले उपस्थित सबैसँग आग्रह गर्दै भने।

विपक्षी पार्टीले सिक्किमे जनताको विचारलाई प्रदूषित पारिरहेको अनि कुटपिट र मार्ने धम्की दिइरहेको आरोप लगाउँदै मुख्यमन्त्रीले भने, “नेता छान्दा ट्रेक रेकर्ड हेर्नुपर्छ। परिवर्तन बिगार्नुका लागि हुँदैन। यसको नोक्सानी राज्यकै जनताले खेप्नुपर्छ। राम्रो मान्छे बोलेन भने खराब मान्छेहरूको बोलबाला हुन्छ। जनतालाई उनीहरूले दिग्भ्रमित पार्छ”, उनले बुद्धिजीवी र नागरिक समाजका अगुवाहरूलाई चुपचाप नबस्न आह्वान गर्दै भने।

‘मुख्यमन्त्रीले नारीहरूको अपमान गरे’ भनी एसकेएम पार्टीले लगाएको आरोपको समेत चामलिङले खण्डन गरे। 5 दिसम्बर, 2018 मा मुख्यमन्त्रीले एसडीएफ मुख्यालयमा सम्बोधनको क्रममा महिलाहरूको रजस्वलासम्बन्धमा मन्तव्य राख्दै नारीहरूका समस्याबारे बोलेका थिए। त्यसैमाथि एसकेएमले ‘मुख्यमन्त्रीले नारीहरूमाथि व्यङ्ग्य गरेर अट्टहासपूर्ण हाँसो हासेको’ आरोप लगाएको थियो।

“नारीहरू पुरुषभन्दा कुनै कुरामा पछि छैनन् भन्ने पुष्टि गर्न मैले नेपालको छाउपड़ी प्रथा र भारतमै रजस्वला हुँदा महिलाहरूले भोग्न परेका समस्या उल्लेख गरेको थिएँ। बाहिरको प्रसङ्गमा महिलाहरूले कसरी हेला, होचो र अन्यायमा बाँच्नुपरेको छ भन्न खोजेको थिएँ। तर, निराश र हताश भट्टु पार्टीले जनतालाई अल्मलाउन यो षड़यन्त्र गरेको छ। मेरो भाषण पूरा सुन्नुहोला”, उनले भने।

मुख्यमन्त्रीले अझ भने,“पवन चामलिङ हाँस्ने र हसाउने राजनीति गर्छ। भट्टु पार्टीले जस्तो सिक्किमलाई लुट्ने र मार्ने राजनीति गर्दैन। सिक्किमे जनतालाई रुवाउने मान्छेहरूले मेरो हाँसो पनि मनपराउँदैन। जनताले हाम्रो कामलाई बुझ्नुपर्छ अनि सिक्किमलाई बिगार्न दिनुहुँदैन।”

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here