गोरामुमो नेता अजय एड्वर्डको चुनौती-यदि मालिकहरूले होटल बन्द गरे सधैँका लागि गरून्

0
1052

दार्जीलिङ, ४ जूनः गोर्खा राष्ट्रिय मुक्ति मोर्चा नेता अजय एड्वर्डले दार्जीलिङको होटल ओनर्स एसोसिएशनको होटल बन्द गर्ने घोषणालाई बगम्फुसे हो भन्ने बताउँदै हाल होटल बन्द गर्नेहरूले आउँदो पर्यटन मौसममा कसरी होटल खोल्छन्, त्यो हेर्ने पनि चेताउनी दिएका छन्।

दार्जीलिङका होटल मालिकहरूले एकतर्फी निर्णय लिएर आफ्ना कर्मचारीहरूमाथि अन्याय गरिरहेका पनि पनि उनले बताए।

वर्तमान समयमा होटलहरू बन्द गर्ने घोषणा गरी दार्जीलिङका होटल मालिकहरूले आगामी दिनको पर्यटन मौसममा यहाँ आउने पर्यटकहरूलाई अन्यत्र नै पठाउन खोजिरहेको पनि उनको आरोप छ।

“दार्जीलिङ पहाड़को पर्यटन हाललाई कोरोना सङ्क्रमणको कारण प्रभावित बने पनि आउँदो नोभेम्बर-दिसम्बरदेखि यहाँको पर्यटन व्यवसाय व्यापकरूपले बढ़्नसक्ने आशा व्यक्त गर्दै त्यस समय यी होटल मालिकहरूले कुन मुखले यी कर्मचारीहरूलाई काममा बोलाउन सक्छन्?’’, गोरामुमो नेता एड्वर्डले प्रश्न गरे।

उनले दार्जीलिङका केही होटलको सूची नै सार्वजनिक गर्दै ती होटलहरूले लकडाउन शुरू हुनसाथ आफ्ना कर्मचारीहरूलाई कामबाट हटाएको अनि वेतनको एक पैसा पनि नदिएको आरोप लगाए।

“कोरोना सङ्क्रमणले गर्दा देशमा लकडाउनको घोषणा गरिएको थियो। कोरोना सङ्क्रमणले गर्दा विश्वकै पर्यटन नराम्रोघतले प्रभावित बनिरहेको छ। यसरी नै होटल मालिकहरूलाई पनि सङ्कट परिरहेको छ। तर यस्तो अवस्थामा होटल बन्द गरी आफ्ना कर्मचारीहरूलाई बिल्लीबाठ पार्नु कदापि उचित होइन’’, एड्वर्डले थपे, “होटलका कर्मचारीहरूको कमाइका अन्य माध्यमहरू छैनन्, जसले होटललाई नै आफ्ना सर्वस्व मानिसकेका छन्। तर उनीहरूलाई सङ्कटमा पार्ने होटल मालिकहरूको घोषणालाई गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले कदापि स्वीकार गर्नेछैन।’’

होटल ओनर्स एसोसिएशनको यस घोषणाको विरोधमा उच्च अदालतमा मुद्दा पनि दर्ता गर्ने यी गोरामुमो नेताले चेताउनी दिए।

उनले यी कर्मचारीहरूको बाँकी वेतन तथा अन्य सहुलियतहरू पूर्णरूपले भुक्तान नगरेसम्म होटल वा कुनै पनि उद्योग बन्द गर्न नसकिने नियम-कानून रहेको पनि जनाए।

यसका साथै गोरामुमो नेता अजय एड्वर्डले होटल मालिकहरूलाई पुनः त्रिपक्षीय वार्तामा बस्ने अपील गर्दै होटल बन्द गर्ने निर्णयमाथि पुनर्विचार गर्ने आह्वान गरे।

उनले ग्लेनरिजका सम्पूर्ण कर्मचारीलाई १०० प्रतिशत वेतन दिइरहेको पनि जानकारी गराए।

यसैबीच, उनले होटल कर्मचारीहरूलाई आफ्नो हक-अधिकारका लागि अलगै सङ्गठन खोल्ने पनि आह्वान गरे।

यसैबीच, एड्वर्डले मालिकहरूले होटल बन्द गरे सधैंका लागि बन्द गर्ने पनि चुनौती दिए।

यद्यपि, उनले दार्जीलिङका कतिवटा होटलले आफ्ना कर्मचारीहरूलाई हाल ५० प्रतिशतको दरले वेतन दिइरहेको अनि रहल वेतन पर्यटन मौसम शुरू भएपछि भुक्तान गर्ने वचन दिइरहेको पनि बताए।

“यो अति नै राम्रो काम हो”  एड्वर्डले थपे, “यस्ता होटलहरूलाई गोरामुमोले पनि पूर्णरूपले सहयोग प्रदान गर्नेछ।‘’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here