कालेबुङ, ५ जूनः कालेबुङमा पुनः कोरोना सङ्क्रमण बढ़ेको छ। पछिल्लो २ जूनका दिन दुई वृद्धा महिलाका शरीरमा कोरोना सङ्क्रमण पाइएपछि आज थप दुवैजना कोरोना सङ्क्रमित रहेको पुष्टि भएको छ।
आज कोरोना सङ्क्रमित पुष्टि भएका दुवैजना सिभिक पुलिसमा कार्यरत् छ। जानकारीका अनुसार एकजना १० माइलनिवासी युवती हुन् भने अर्का १६ माइलनिवासी युवक रहेका छन्।
केही दिनअघि उनीहरूको स्वाबको नमूना सङ्ग्रह गरी परीक्षणका लागि पठाइएको थियो भने आज टेस्ट पोजिटिभ आएको बताइएको छ।
प्राप्त जानकारीका अनुसार १० माइलनिवासी सिभिक पुलिसको ड्युटी केही दिनअघि दिशा सेन्टरमा बनाइएको क्वारेन्टिन परेको थियो।
अर्का १६ माइलनिवासी सिभिक पुलिसको ‘कन्ट्याक हिस्ट्री’-बारे निश्चित जानकारी पाइएको छ।
सम्भवतः उनीहरूद्वयलाई आजै उपचारका लागि सिलगढ़ीको मतिगढ़ास्थित कोभिड अस्पताल डा. च्याङ सुपर स्पेशिअलिटी अस्पतालमा लगिनेछ।
उल्लेखनीय छ, पछिल्लो २ जूनका दिन कालेबुङ खण्डअन्तर्गत् निम्बोङ र समथारनिवासी गरी दुई महिला पनि कोरोना सङ्क्रमित रहेको पुष्टि भएको थियो।
अहिले उनीहरू दुवै डा. च्याङ सुपर स्पेशिअलिटी अस्पतालमा उपचाररत् छन्।