सिलगढ़ी, ७ जूनः सिलगढ़ी तथा यसका संलग्न क्षेत्रमा प्रतिदिन कोरोना भाइरसको मामिला प्रकाश आइरहेको छ।
पछिल्लो १८ मईका दिनयता सिलगढ़ी महकुमा क्षेत्रमा कोरोना भाइरसका मामिला ह्वात्तै बढ़ेको छ।
यसै क्रममा हिजो रातिदेखि अहिलेसम्म कोरोना भाइरसका थप पाँच मामिला प्रकाशमा आएको छ। जानकारीका अनुसार उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालको मेडिसिन विभागका हाउसस्टाफको शरीरमा कोरोना सङ्क्रमण पाइएको छ।
मेडिसिन विभागकै कोरोना सङ्क्रमित एक चिकित्सकको सम्पर्कमा आएका यी २५ वर्षीय हाउसस्टाफ इन्स्टिट्युशनल क्वारेन्टिनमा थिइन्।
केही दिनअघि उनको स्वाबको नमूना सङ्ग्रह गरी जाँचका लागि पठाइएको थियो भने आज उनको टेस्ट पोजिटिभ आएको हो।
त्यसैगरी कावाखालीस्थित दिसन अस्पतालमा उपचाररत् सिलगढ़ी नगरनिगमको ४६ नम्बर वार्डस्थित राजीव नगरनिवासी एक महिला पनि कोरोना सङ्क्रमित रहेको पुष्टि भएको छ। उनको पनि आज टेस्ट रिपोर्ट पोजिटिभ आएको छ।
अर्कोतिर दार्जीलिङका जिल्लापाल एस. पन्नामबालमका अनुसार हिजो राति नक्सलबारीमा थप तीनजना पनि कोरोना सङ्क्रमित पाइएको छ।