-अशोक प्रशान्त
द्वितीय विश्वयुद्धपछि मानवजातिमाथि आइपरेको ठूलो विपत्तिको रूपमा कोरोना महामारीको चरम समयमा हामी छौं। संसारका विभिन्न मुलुकका लाखौं मानिसले कोरोनाको कारण मृत्यु वरण गरेका छन्। आज लाखौं मानिस कोरोना आक्रान्त भएर मृत्युसित सङ्घर्ष गरिरहेका छन्। यस महामारीका कारण वैश्विक जनजीवन नै स्तब्ध, अवरूद्ध बनेको छ। औद्योगिक विश्व ठप्प बनेको छ। कृषि जीवन सुचारू रहे पनि, कृषि उत्पादन निरन्तर चलिरहे पनि त्यसको बजारीकरण, भण्डारण कार्य बाधित बनेको छ। लाखौं किसानले आफ्नो बाली सही समयमा बजारमा वा मण्डीमा पुऱ्याउन नसकेकाले खेतमै सड़्नका लागि छोड़िदिन बाध्य बनेका छन्। अत्यावश्यकबाहेक अन्य उत्पादहरूको व्यापार-वाणिज्य, पर्यटन व्यवसाय ठप्प बनेका छन्।
यी जम्मै अवरूद्धता, गतिहीनता, लकडाउन, महामारी आदिको शिकार मानवजाति हुन्छ। रोगको प्रहार जाति, धर्म, समुदाय र वर्गनिरपेक्ष हुन्छ, तर विशेष अर्थमा रोगको पहिलो प्रहार आर्थिक रूपमा समाजका कमजोर वर्गहरू हुनेगर्छन्, किनभने यो वर्गसित रोगसँग जुझ्ने सामाजिक प्रतिरक्षा हुँदैन। अहिले कोरोनाको कारण ती व्यक्ति वा व्यक्तिसमूहहरू उच्च जोखिममा परेका छन्, जो आर्थिक कठिनाइमा बाँचिरहेका छन्, जसले रोगसित जुझ्न पर्याप्त प्रतिरोधात्मक औषधिहरू, सप्लिमेण्ट्सहरू लिनसक्दैनन्, सुरक्षित हुनचाहन्छन् तर घरभित्र रहन पनि सक्दैनन्। उनीहरू जीवन परिस्थितिका कारण महामारीमा पनि घरबाहिर निस्कन विवश छन्।
महामारीहरू आफै मात्र आउँदैनन्, उनीहरू आफूसित व्यापक सामाजिक, आर्थिक बर्बादीहरू पनि सँगै लिएर आउँछन् र आफू गइसकेपछि चिर कालसम्म समाजलाई दुष्परिणामहरूबीच बाँच्न विवश परिस्थितिहरू छोड़िराखेर जान्छन्। कोरोना महामारी त्यसको अपवाद हुनसक्दैन। कोरोनाले मानवीय जीवनमा जुन अभूतपूर्व गतिरूद्धता ल्यायो, त्यसले सबैभन्दा बढ़ी चोट अर्थतन्त्रलाई पुऱ्याएको छ, जुन मानवीय जीवनको मूल आधार हो। कोरोना महामारीले सबैभन्दा बढ़ी मानिसहरूको रोजगारमाथि प्रहार गरेको छ। भारतमै लगभग 10 करोड़ मानिसले रोजगार गुमाएका छन्। यो सङ्ख्या संस्थागत रूपमा सङ्गठित अनि असङ्गठित क्षेत्रहरूमा काम गर्ने मानिसहरूको रहेको बताइन्छ। यसबाहेक स्वतन्त्र व्यवसायहरूमा काम गर्ने अझ करोड़ौं मानिस महामारीको कारण आयस्रोतको सङ्कटसित जुझ्न परिरहेको छ। पर्यटन व्यवसाय, यातायात व्यवसायहरूमा संलग्न करोड़ौं मानिसको जीवनमा कठिन सङ्कट आइपरेको छ।
यसैसित जोड़िएको अर्को समस्या हो – अर्थतन्त्रमा मागको कमी हुनु। अर्थतन्त्रमा मागको कमी भए सङ्कट शुरू हुन्छ। लकडाउनका कारण बजार शून्य छ, जनहीन छ। मानिसहरू आवश्यक वस्तुहरूको खरीददारीमा मात्र सीमित भएका छन्। फलतः अन्य उद्योगहरू बन्द हुनपुगेका छन्। मानिसको हातमा पैसा छैन। पैसा नभएपछि बजारमा माग सृजना हुँदैन। 12 मईको दिन प्रधानमन्त्रीले अर्थतन्त्रलाई मन्दीबाट बाहिर निकाल्न 20 लाख करोड़ रुपियाँको प्याकेजको घोषणा गरे। सबैले आशा गरेका थिए, यसले बजारमा पैसाको चलखेल हुनेछ। तर 20 लाख करोड़को प्याकेज वास्तवमा एउटा छल मात्र रहेको प्रमाणित भइसकेको छ। अर्थमन्त्रीले गत बजटमै राखेका प्रावधानहरूलाई नयाँ खोलमा `आर्थिक प्याकेज’ बनाएर हालेको स्पष्ट भइसकेको छ। स्वतन्त्र भारतको इतिहासमा पहिलोचोटि कुनै ऋणलाई राहत भन्ने घृणित छल भयो। बढ़ीमा 2 लाख करोड़ मात्र राहतको रूपमा पुग्ने कुरा स्पष्ट भएको छ।
महामारीले निम्त्याएका अत्यन्त विडम्बनापूर्ण परिस्थिति के छ भने जुन आर्थिक असमानता, भयङ्कर ग्रामीण गरीबी र सामन्ती शोषणको कारण देशका ग्रामीण अञ्चलहरूबाट जनसङ्ख्याको पलायन भएर मानिसहरूलाई मजदुरका रूपमा शहरतिर कुदाएको थियो, कोरोना महामारीले तिनै शहरी मजदुरहरूलाई गाउँ फर्कन बाध्य बनाएको छ। यस महामारीमा देशका ठूला शहरहरूबाट मात्र 6 करोड़भन्दा धेर प्रवासी मजदुरले शहर छोड़ेको बताइँदैछ। जनसङ्ख्याको यो व्यापक मात्राको स्थान परिवर्तनले भोलिको दिनमा उद्योगहरूमा असर गर्नेछ भने ग्रामीण समाजव्यवस्थामा व्यापक उथुलपुथुल ल्याउनेछ। जनशक्तिको यस व्यापक परिचलनले भावी दिनमा कस्ता कस्ता समस्याहरू ल्याउनेछ, त्यसबारे अहिले नै केही भन्नसकिने स्थिति छैन।