जुलाईदेखि होटल बन्द गर्ने निर्णय लिइयो फिर्ता

0
1768

दार्जीलिङ, ८ जूनः दार्जीलिङ होटल ओनर्स एसोसिएशनले जुलाईदेखि दार्जीलिङका होटलहरू बन्द गर्ने निर्णयलाई फिर्ता लिएको छ।

आज गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन (जीटीए)-ले होटल ओनर्स एसोसिएशन र विभिन्न संघ-संस्थासित होटल समस्या विषय लिएर एक बैठकको आयोजन गरी यस्तो निर्णय गरिएको जीटीए बीओएका अध्यक्ष अनित थापाले बताए।

यसका साथै होटल कर्मचारीहरूका वेतन भुक्तान विषय लिएर एक सप्ताहभित्र एक संयुक्त कमिटीको गठन गरिने तथा यस कमिटीमा होटलको समस्या विषय लिएर अघि आइरहेका विभिन्न पार्टी, सङ्घ-संस्थाहरूका २-२ जना सदस्य सामेल गरिने भएको पनि थापाले बताए, जसमा गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका साथै अन्य पार्टीका सदस्यहरूलाई पनि सामेल गरिनेछ।

उल्लेखनीय छ, केही दिनअघि दार्जीलिङ होटल ओनर्स एसोसिएशनले एक पत्रकार सम्मेलनको आयोजन गरी लकडाउनका कारण दार्जीलिङका होटल मालिकहरू आफ्ना कर्मचारीहरूलाई वेतन दिन नसक्ने अवस्थामा पुगेकाले जुलाईदेखि होटल बन्द गर्ने निर्णयमा पुगेको घोषणा गरेको थियो।

होटल मालिकहरूका यस्तो निर्णयको चौतर्फी विरोध शुरू भएको थियो भने जीटीए बीओएका अध्यक्ष अनित थापाले पनि होटल मालिकहरूको यस निर्णयलाई गलत हो भन्ने बताएका थिए।

यसैले उनले आज होटल समस्या विषय लिएर यो बैठकको आयोजन गरेका हुन्। अब होटलका कर्मचारीहरूलाई कति प्रतिशतको दरले वेतन भुक्तान गरिने हो, त्यसबारे गठन हुन लागेको नयाँ कमिटीले नै निर्णय लिनेछ।

एक प्रश्‍नको उत्तरमा थापाले भने, ”सरकारको नियमअनुसार हो भने होटल कर्मचारीहरूलाई सय प्रतिशतको दरले नै वेतन भुक्तान गर्नुपर्छ। तर, हाल कोरोना सङ्क्रमणले गर्दा शुरू भएको लकडाउनले गर्दा होटल मालिकहरूको समस्यालाई पनि ध्यानमा राखेर वेतनबारे कमिटीको गठन गरिने भएको हो।’’

उनले थप भने, “अहिले यो कोरोनाकालमा सबैलाई नै मिलाएर कुनै निर्णय लिन आवश्यक छ। कसैलाई पनि जबर्जस्ती गर्न सक्ने अवस्था छैन। यसैले होटल मालिकहरूलाई पनि मर्का नपर्ने अनि कर्मचारीहरूको पेट पनि नमर्ने हिसाबले निर्णय लिइएको छ।’’

यसै विषय लिएर होटल ओनर्स एसोसिएशनका अध्यक्ष साङ्गे छिरिङ भोटियाले आज जीटीएको मुख्यालय लालकोठीमा भएको बैठकमा सकारात्मक निर्णय भएको बताए।

उनले दार्जीलिङका होटलहरू भोलिदेखि नै खुल्ला गरिने निर्णय भएको पनि बताए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here