सिलगढ़ी, ११ जूनः वैश्विक महामारी बनेको कोरोना भाइरसको बढ़्दो सङ्क्रमणबीच बङ्गालमा अपर्याप्त स्वास्थ्य व्यवस्थालाई केन्द्र गरी राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले स्वास्थ्यमन्त्रीको पदबाट यथाशीघ्र राजीनामा दिनुपर्ने सांसद राजु बिष्टले माग गरेका छन्।
यसअवसरमा उनले राज्यको विशेषगरी उत्तर बङ्गालको स्वास्थ्य सेवामाथि प्रश्न गरेका छन्।
“मलाई लाग्छ, ममता ब्यानर्जीले स्वास्थ्य मन्त्रीको पदबाट राजीनामा दिएर अन्य कसैलाई यो पद सुम्पिनुपर्छ”, बिष्टले थपे, “जसले शतप्रतिशत राज्यको स्वास्थ्य सेवामाथि ध्यान दिन सकून्।”
अर्कोतिर, उनले बङ्गालमा कोरोना भाइरसको मृत्यु दर विश्वमै सर्वाधिक रहेको पनि बताए। उनले भने, “विश्वमा कोरोना भाइरसबाट मर्नेहरूको प्रतिशत ५.५ छ। भारतमा यो प्रतिशत २.८६ प्रतिशत छ, जबकि बङ्गालमा यो सबैभन्दा बढ़ी ५.८ प्रतिशत छ।”
यसैगरी उनले कोरोना भाइरसको प्रकोपलाई रोक्नका लागि बङ्गाल सरकारले ढिलो कदम उठाएको पनि आरोप लगाए।
उल्लेखनीय छ, दिल्लीबाट फर्केपछि सरकारी नियमानुसार १४ दिनको होम क्वारेन्टिनमा बसेका सांसद राजु बिष्टले आज बाघडुग्रास्थित प्राथमिक स्वास्थ्य उपचार केन्द्र, बतासे र हात्तीघिसास्थित क्वारेन्टिन सेन्टरको भ्रमण गरे।