सिलगढ़ी, १२ जूनः बी.पी. बजगाइँले विमल गुरूङपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) -लाई आजदेखि छोड़ेको घोषणा गरेका छन्। उनले पार्टीका प्रवक्ता पद मात्र छोड़ेका छैनन् तर प्राथमिक सदस्यबाटै राजीनामा दिएका छन्।
आज सिलगढ़ीस्थित निजी निवासमा बजगाइँले पत्रकार सम्मेलन आयोजन गरी यस्तो घोषणा गरेका हुन्।
पार्टीका केही शीर्ष पदका व्यक्तिले काम गर्न नदिएको, पटक पटक बाधा दिएकाले नै आफूले राजीनामा दिन बाध्य बनेको उनले बताएका छन्।
‘‘मैले दार्जीलिङका चियाश्रमिकहरूका सपना बोकेर हिँड़्दा, उनीहरूका लागि काम गर्दा ममाथि पार्टीबाट कार्वाही भयो, मलाई काम गर्न दिइएन, मलाई बोल्नबाट रोकियो, यस्ता कुरा पटक पटक भए‘’, बजगाइँले राजीनामाको कारण खुलाउँदै थपे, ‘’पार्टी अध्यक्ष विमल गुरूङले मलाई माया गर्नुहुन्थ्यो, म पनि अद्यावधि उनलाई माया गर्छु। तर मलाई कस्तो लाग्यो भने मैले केवल अध्यक्ष विमल गुरूङलाई माया गरेर यतिकै बसिरहे भने गोर्खाको अस्तित्व र अस्मिताको लड़ाइँ एक दिन बिलाएर जानेरहेछ भन्ने मैले बुझेँ।’’
उनले थपे, ‘‘आज मेरा लागि अध्यक्ष विमल गुरूङ अवश्यै महाभारतका भीष्म पितामहजस्तै हुन्। किनभने उनको प्रतिज्ञा बलियो छ। भीष्मको पनि प्रतिज्ञा बलियो थियो। तर दुःखको कुरा भीष्मसँग दुर्योधन र दुस्साशन थिए। आज विमल गुरूङसँग पनि दुर्योधन र दुस्साशनको कमी छैन।’’
यद्यपि बजगाइँले विमलसँग रहेका दुर्योधन र दुस्साशन को को हुन्, उनलाई क-कसले काम गर्नमा बाधा दिए, त्यो भने नामै काड़ेर खुलाएनन्।
‘‘म ती व्यक्तिहरूका नाम यहाँ लिन चाहन्नँ, जसले मलाई पार्टीमा काम गर्न बाधा दिए, जसले मेरो राजनीतिमा बाधा दिए’’, बजगाइँले सोझै भने, ‘‘जसले मलाई ती मानिसहरूले एउटा मानवलाई मानवले गर्नुपर्ने आचरण पनि गरेनन्। तर म एउटा कुरा भन्नचाहन्छु, आजदेखि म गोर्खा जातिका सुरक्षाको लड़ाइँ निरन्तर लड़िरहनेछु।‘’
उनलाई काम गर्नमा बाधा दिने व्यक्ति विमल गुरूङ पक्कै होइनन्, तर पार्टीका शीर्ष पदमा रहेका अन्य नै हुन् भन्ने कुरा भने उनले खुलाएका छन्।
किनभने उनले आफ्नो सम्बोधनमा घरी घरी विमल गुरूङको प्रशंसा गरे। गुरूङ जाति र माटोप्रति इमान्दार रहेको दावी गरिरहे।
अर्कोतिर बीपी बजगाइँले दार्जीलिङ तराई र डुवर्सका सम्पूर्ण जनतासँग माफी पनि मागे। “मलाई तपाईंहरूले माफी गरिदिनुहोस्, किनभने म तपाईंहरूले विश्वास गरेको पार्टीमा बस्नसकिनँ”, उनले थपे, “तर तपाईंहरूले मलाई अवश्यै माया गरिदिनु हुन्छ, तपाईंहरूका सपनालाई बोकेर, तपाईंहरूका सपनालाई भुइँमा झर्न नदिनका लागि आज म गोर्खा जनमुक्ति मोर्चा (पहिलो खेमा) -बाट बाहिरिन परेको हो।”
बजगाइँका अनुसार करिब अढ़ाइ महिना अघिदेखि उनलाई काम गर्न बाधा दिएको र यसबारे पार्टी अध्यक्ष विमल गुरूङसमेत अवगत रहेका बताएका छन्।
‘‘मैले १८ मईका दिन अध्यक्षलाई ११ पृष्ठका चिट्ठी लेखेको थिएँ, चिट्ठीमा मलाई काम गर्न बाधा दिइरहेको, गलत व्यवहार गरिँदै आएको सबै कुरा अवगत गराएको थिएँ,’’, उनले थपे, ‘‘यसका साथै पार्टीमा कस्तो राजनीतिक आचरण हुनुपर्छ, हाम्रो पार्टीमा कस्तो शुद्धीकरण हुनुपर्छ भन्नेबारे १० वटा बुँदामा बुझाएको थिएँ। उनले २० मईका दिन मलाई एउटा पत्र पठाउनु भयो, त्यो पत्रसँग म सहमत हुनसकिनँ। त्यो पत्रसँग म सहमत हुन नसकेको बुझाएर फेरि अर्को पत्र पठाएँ, तर त्यसबारे आजका दिनसम्म पार्टीले कुनै बैठक राखेन।‘’
उनले थपे, ‘‘अचानक दुइ-तीन दिनअघि अध्यक्षले मलाई फोन गरेर आउँदो २१ जूनका दिन यसबारे आन्तरिक सरसल्लाह राख्ने बताए। र मैले आउँदो २१ तारिखसम्म पर्खिने निर्णय गरें तर अचानक मैले काम गर्न पाएका कुराहरू भने मभन्दा तलका साथीहरूबाट भटाभट गराउने कार्य भयो। यसैले मैले अपमानबोध गरें।’’
बजगाइँले विमलपन्थी मोर्चा त्यागे पनि गोर्खा जातिका हक हितका लागि निरन्तर र इमान्दार भएर कार्य गर्ने तथा पैसा हेरेर यताउता गई गोर्खा जातिलाई धोका नदिने प्रतिबद्धता जताएका छन्।