दार्जीलिङ भ्रमणमा बिष्ट, सांसदले दिएका पीपीई किट्स अस्वीकार

0
1226

दार्जीलिङ, १२ जूनः होम क्वारेन्टाइनको मियाद पूरा गरी दार्जीलिङ आइपुगेका सांसद राजु बिष्टलाई आज टीबी अस्पतालको क्वारेन्टाइन सेन्टरमा प्रवेश गर्ने अनुमति नै दिइएन।

यसका साथै उनले प्रदान गरेका पर्सनल प्रोटेक्शन इक्विप्मेन्ट (पीपीई) पनि स्वीकार गरिएन।

कोरोना सङ्क्रमणका कारण शुरू गरिएको लकडाउनले गर्दा प्रभावित बनेको घरेलु हवाई सेवा शुरू भएकै दिन अर्थात् २८ मईका दिन आफ्नो संसदीय क्षेत्रमा पर्ने सिलगढ़ी आइपुगेका सांसद बिष्ट आज दार्जीलिङ आइपुगेका छन्, जसले आज दार्जीलिङ आउनसाथ स्थानीय बतासेस्थित टीबी अस्पतालमा बनाइएको क्वारेन्टाइन सेन्टरको भ्रमण गर्ने योजना बनाएर सोझै त्यहाँ गए। तर, त्यहाँ उनलाई प्रवेश गर्ने अनुमति नै दिइएन।

यति मात्रै होइन, उनले यहाँ दिएका पीपीई किटहरू पनि स्वीकार गरिएन।

यसैबीच सांसद बिष्टले हाल कसैले पनि राजनीति नगरी सबै एकजुट भएर कोरोनालाई हराउनुपर्ने आह्वान गरेका।

हाल टीबी अस्पतालको क्वारेन्टाइन सेन्टरमा रहेका क्वारेन्टाइनमा रहेका मानिसहरू र ड्युटीमा खटिएका स्वास्थ्यकर्मीहरूका सङ्ख्या तथा अन्य व्यवस्थाबारे जानकारी लिए। साथैत्यहाँ तीन समयकै खाना उपलब्ध गराइरहेको पनि यसअसवरमा सांसदलाई जानकारी गराइयो।

उनले भने, “यदि यहाँ यस्तो व्यवस्था छ भने असल कुरा हो, यसमा म खुशी छु अनि यसका लागि भइरहेको कार्यको पनि प्रशंसा गर्छु। तर, यसै क्वारेन्टाइन सेन्टरबाट विगतमा धेरैवटा गुनासो पनि आएका थिए। यहाँका कर्मचारीहरूलाई पीपीई किट दिइएको छैन, खानामा स्वच्छता नरहेका जस्ता गुनासोहरू मैले पाएको थिएँ, त्यसैकारण आज दार्जीलिङ आउनसाथ म यस क्वारेन्टाइन सेन्टरमा आएको हुँ।’’

उनलाई आज टीबी अस्पतालको क्वारेन्टाइन सेन्टरमा प्रवेश गर्न नदिइएको सम्बन्धमा प्रश्न गर्दा उनले यसमा आफूलाई कुनै मनदुःख नरहेको बताए।

उनले भने, ‘‘क्वारेन्टाइन सेन्टरका लागि जस्ता नियमहरू बनाइएको छ, त्यसलाई सबैले नै अप्नाउनु नै पर्छ।’’

यहाँ पीपीई किट लिन अस्वीकार गरिएको विषयमा उनले भने, “मलाई खुशी नै लाग्यो, यदि पीपीई किट यहाँ चाहिएको छैन भने यहाँ दिन ल्याइएको किट अन्य स्थानमा प्रदान गर्नेछु। तरै पनि यी सामग्रीहरू सेनिटाइज गरेर स्वीकार गरिएको भए राम्रै हुनेथियो। किनभने, अन्य स्थानमा पनि मैले पीपीई किट, मास्क आदि प्रदान गरिसकेको छु।’’

उनले आउँदा दुई सप्ताहसम्म दार्जीलिङमा बस्ने आफ्नो योजना रहेको बताउँदै दार्जीलिङका दुर्गम स्थानहरूका पनि भ्रमण गर्ने बताए।

यसैबीच, सांसद बिष्टले विशेष बङ्गालमा कोरोना सङ्क्रमणलाई रोक्न बङ्गाल सरकारबाट ठोस पहल नभएको बताउँदै यसैकारण बङ्गालमा कोरोना सङ्क्रमणको कारण मर्नेहरूको सङ्ख्यामा निकै बढ़ोत्तरी भइरहेको जनाए।

यसका साथै उनले कोरोना सङ्क्रमणलाई रोक्न वा बढ़्न नदिने लकडाउन शुरू गरिएको समयलाई सही बताउँदै त्यसै अवधिमा देशमा कैयौं कोभिड-19 अस्पताल निर्माण भएको, दैनिकरूपमा लाखौंको सङ्ख्यामा पीपीई किट बन्न थालेको पनि बताए।

यद्यपि, उनले बङ्गालमा कोरोना सङ्क्रमणलाई रोक्न निराशाजनक कार्य भइरहेको पनि बताए।

उनले भने, “बङ्गालमा अहिले पनि देशका अन्य राज्यहरूबाट आफ्नो घर फर्किनेहरूको सहीप्रकारले जाँच गर्ने, क्वारेन्टाइन गरेर राख्ने, स्वास्थ्य सुविधा उपलब्ध गराउने कार्य ठीकसँगले भइरहेको छैन। दार्जीलिङ पहाड़मा पनि यस्तै अव्यवस्था छ। यसैले कोरोनालाई हराउन राज्य र केन्द्र सरकार एक भएर अघि बढ़्नुपर्छ।’’

उनले जीटीएमाथि धेरै केही आशा नरहेको बताउँदै भने, ‘‘जीटीएसित अधिक क्षमता पनि छैन। जीटीएसित जुन व्यवस्था हुनपर्थ्यो, त्यो पनि छैन। यसैले जीटीएले केन्द्र सरकारसमक्ष पत्राचार गरी आफ्ना मागहरू पेश गरे, यस क्षेत्रका जनतालाई सहयोग पुग्नेछ।‘’

यसैबीच, अर्कोतर्फ आज सांसद बिष्टले दार्जीलिङ जिल्ला अस्पतालको भ्रमण गरे अनि अस्पताल प्रमुखसित एक बैठक गरी यस अस्पतालका लागि कोरोना सङ्क्रमण जाँच्ने मशिन उपलब्ध गराउने वचन दिए।

अर्कोतिर उनले दिएका पीपीई किट्स दार्जीलिङ जिल्ला अस्पतालले भने स्वीकार गरेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here