जनजाति मान्यताको बील भाजपाले संसदको शीतकालीन सत्र प्रस्तुत नगरे देशवासी आन्दोलन गर्ने विनयको चेताउनी

0
986
गोजमुमो दोस्रो खेमाका अध्यक्ष विनय तामाङ (फाइल फोटो)। 

दार्जीलिङ, 9 अक्टोबर : मङ्गलवार गोर्खा समुदायका 11 जातगोष्ठीलाई जनजातिको मान्यता दिनुपर्ने माग बोकेर विमल गुरुङपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) -को प्रतिनिधि टोलीले दार्जीलिङका सांसद एसएस अहलुवालियाको नेतृत्वमा केन्द्रिय जनजाति मामिला मन्त्री जोएल उराँवलाई भेट गरेपछि गोजमुमो दोस्रो खेमाका अध्यक्ष विनय तामाङले  प्रतिक्रिया व्यक्त गरेका छन्।

यदि आज अहलुवालियाले दाबी गरेअनुसार संसदको आगामी शीतकालीन सत्रमा गोर्खा समुदायका 11 जातगोष्ठीलाई जनजातिको मान्यता दिने बील प्रस्तुत नगरेमा दार्जीलिङ पहाड़लगायत  देशव्यापी आन्दोलन गर्ने विनय तामाङले चेताउनी दिएका छन्। मङ्गलवार उनले एक प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘‘जनजातिको मुद्दामा विगत 4 वर्षदेखि भाजपाले लगातार दिइरहेको झूटो आश्वासन अब गोर्खाहरूले सहन गर्नेछैन, यसर्थ आगामी शीतकालीन सत्रमा उक्त वचन पूरा नगरे देशभरिका गोर्खाहरूलाई लिएर हामी भाजपाविरूद्ध सड़कमा ओर्लिनेछौं।’’
आजको भेटवार्तालाई आफूहरूले जनजातिको मुद्दामाथि पहाड़बाट निरन्तर दिइरहेको दबाउको परिणाम रहेको उनको दाबी छ। तामाङले दाबी गरेअनुसार पछिल्लो 21 अगस्तमा केन्द्र सरकारले 6 साताभित्रमा जनजातिको मुद्दामाथि पहल शुरू गर्ने आश्वासन दिएको थियो,  तर उक्त 6 साताको समयावधि सकिँदा पनि केही कार्य नगरेकोले पहाड़बाट उनीहरूले सङ्घ-संस्थाहरूसित मिलेर निरन्तर केन्द्र सरकारलाई चाप दिइरहेका थिए।
‘‘आजको भेटवार्ता सोही दबाउको प्रतिफल हो’’, विनयको दाबी छ।
उनले विज्ञप्तिमा थप दाबी गर्दै लेखेका छन्, ‘‘हालैको मेरो दिल्ली भ्रमण तथा दिल्लीमा महाऱ्याली र जनसभा गर्ने मेरो घोषणाले भाजपा, सांसद एसएस अहलुवालिया, विमल गुरुङ, रोशन गिरीलगायत विमलपन्थीहरू धेरै आत्तिएका छन्। अब गोर्खाहरूलाई दिएको वचन पालन नगरे विनय तामाङको नेतृत्वमा दिल्लीमात्र होइन, तर देशभरिका गोर्खाहरू एकजुट भएर आन्दोलनमा उत्रिनेछन्। यसैले गोर्खाहरूको हितमा गम्भीर बनेर कार्य गर्ने सुझाउ पनि म भाजपा सरकार अनि सांसदलाई दिन चाहन्छु।’’
आजको भेटवार्ता पनि मन्त्री ओरमसँग फोटो सेसन मात्र नहुनुपर्ने उनको भनाइ छ। गोर्खा समुदायले भाजपा र विमल गुरूङहरूका सबै स्टन्टबारे अवगत भइसकेको विनय तामाङले विज्ञप्तिमा ठोकुवा गरेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here