रोशन राई ‘चोट’
कवि परिचय: भारतीय नेपाली साहित्यमा आफ्नो लेखनले चिरपरिचित बनिसकेका सफल समालोचक, कवि, गीतकार, शिक्षक, कृतिका सफल भूमिका लेखक, समाजसेवी र उद्घोषक जय क्याक्टस कालेबुङ जिल्लाअन्तर्गत रोङ्गो भन्ने ठाउँले जन्माएका बहुप्रतिभाले सम्पन्न व्यक्तित्व हुन्।
अध्ययन र अध्यापन विज्ञान विषय रहे तापनि स्कुले जीवनबाटै भाषा साहित्यको जगेरामा लागिपरेका जय क्याक्टसले नेपाली साहित्यको सेवा निरन्तर रूपमा गरिरहेका छन्। यस्ता कर्मठ साहित्यसेवीको जन्म २१ मई १९६९-का दिन भएको थियो।
रोङ्गोको साहित्यको उर्वर भूमिमा जन्म लिएर जय क्याक्टसले नेपाली साहित्यको ढुकुटीमा युग कविता र मान्छे (कविता सङ्ग्रह, सन् १९९१), विश्वासको घर (सन् २००१), महाकाव्य कर्मायणःएक अध्ययन (समालोचनात्मक सङ्ग्रह, सन् २००८), भारतीय साहित्यका निर्मता : कवि विकाश गोतामे (मोनोग्राफ, सन् २०१६), शब्द यात्रा (कविता सङ्ग्रह, सन् २०१७) जस्ता उम्दा कृतिहरू पस्किसकेका छन्। आफ्नो जीवनका तमाम व्यस्ततालाई पर पन्साएर नेपाली साहित्यका सेवा गर्ने जागारिला कवि हुन्, जय क्याक्टस।
शब्द यात्रा कविता सङ्ग्रहभित्र जय क्याक्टस: कवि जय क्याक्टसद्वारा लिखित शृङ्खला कविता सङ्ग्रहभित्र छोटा-लामा गरी जम्मा ५० वटा कविता सङ्ग्रहित छन्। कविता सङ्ग्रहको शीर्षकलाई अभिधामूलक दृष्टिबाट हेर्दा शब्दको यात्रा वा हिँड़ाइ भन्ने बुझिन्छ, तर शब्दको लाक्षणिकताको कसीमा राखेर हेर्दा कविताको शीर्षक शब्द यात्राले बृहत् अर्थ बोकेको पाइन्छ। कविले यस कविता सङ्ग्रहभित्र शब्दका विविध रूप देखाएका छन्।
शब्दको यात्रा गाउँदेखि शुरू भएर शहर हुँदै विश्वको परिक्रमा गरेर उन्नति र प्रगतिको बिकुल फुक्न सफल भएका छन्। कवि क्याक्टसले शब्दको माध्यमबाट नै समाजलाई देशलाई र राष्ट्रलाई व्यङ्ग्य कस्न सफल भएका छन्। सङ्ग्रहभित्रका शृङ्खला (२) कविताको नमूना हेरौं:
मन्दिर मस्जिद गुम्बा र गिर्जामा
ईश्वरभक्तिको चहकिलो विज्ञापन टाँस्छन्
अनिदो रातको बन्द कोठाभित्र
व्यापार र कूटनीतिको स्वार्थी रथ हाँक्छन्। (पृष्ठ सङ्ख्या २१ बाट)
यसरी कविले कवितामा ईश्वरको नाम गरी ठग्नेहरूलाई कवितामार्फत् आफ्नो शक्ति देखाएका छन् साथै ठूला ठूला शहरहरूमा होटल, रेस्टुरेन्टहरूका बन्द कोठाहरूमा भएका काला कार्यहरूका पनि कविले उजगार गरेका छन्। कवि क्याक्टसका शब्द यात्रा कविता सङ्ग्रहमा कविले शब्दहरूका जादू देखाएका छन्।
यो उनको काव्य कलाकारिता मान्न सकिन्छ। यसै सन्दर्भमा भूमिका लेखक कवि सुधीर छेत्री लेख्छन् – कविले शब्दलाई उनले कविताभरि नै प्रतीकात्मक अर्थ ओड़ाएर अनेक अवतारमा क्रियाशील बनाएका छन्। कथ्यलाई शब्दको माध्यमबाटै वा त्यसैद्वारा भनिएको छ। शब्द कहिले व्यक्ति बन्छ, कहिले समाज वा कहिले तत्त्व वा प्रवृत्ति।´
साँच्चै कविले यस सङ्ग्रहभित्र शब्दहरूका माला उनेर कसैलाई शब्दको उपहार स्वरूप माला लगाइदिएका छन् भने कसैलाई त्यही मालाको पासो वा फाँसी पनि दिएका छन्। कवि कवितामार्फत आफ्नो आक्रोश यसरी व्यक्त गर्छन्ः
अनलाइन च्याट र काउन्सेलिङ
अनलाइन मार्केटिङ र सेक्सटिङ
हरदम तयार २४७३०३६५ नम्बरहरू
शब्दहरूको भोक र परिपूर्तिका निम्ति। (पृष्ठ सङ्ख्या २४ शृङ्खला ४ बाट)
कवि क्याक्टसले यस पङ्क्तिको माध्यमबाट मानव तस्करी साथै अहिलेका जल्दाबल्दा स्थिति, समस्या साइबर क्राइमका कुराहरू पनि कवितामार्फत् राख्न सक्षम भएका छन्। हिज आज सामाजिक सञ्जालको नकारात्मक प्रयोगले ठगिएर फँसिन पुगेका हाम्रा युवक युवतीहरूलाई तीखो व्यङ्ग्य गर्न सफल भएका छन्।
यस सङ्ग्रहभित्रका शृङ्खला (५) कविता पनि उत्कृष्ट कविता रहेको छ। वर्तमान समयमा हाम्रा मानिसहरू प्रगतिको चरम उत्कर्षमा पुगे तापनि हाम्रा युवाहरू भने नशालु पदार्थको सेवन गरेर कुलतमा फँसिरहेका छन् भने अधिकांश युवकयुवती यौनधन्धामा लागेर एड्सजस्ता खतरनाक बिमारीको शिकार बनिरहेका छन्।
वर्तमानमा देशले जति नै विकसित गरे तापनि वा मानिसहरू जति नै सभ्य भए तापनि जङ्गली प्रवृत्तिले ग्रस्त रहेर चेलीबेटीहरूको बलात्कार गरिरहेका छन्। कवि क्याक्टसले यस कवितामा बलात्कृत दामिनीलाई प्रतीकको रूपमा उभ्याएर हाम्रा चेलीहरूले यस प्रकारका अन्यायबाट सठीक न्याय पाउनुपर्छ साथै नारीहरू आफै पनि सचेत रहनुपर्छ भन्ने सकारात्मक सन्देश दिएका छन्।
कवि कवितामा भन्छन्:
एडिक्ट शब्दहरू छटपटाउँछन्
एडसग्रस्त शब्दहरू फटफटाउँछन
बलात्कृत दामिनीहरू सद्धामी हत्केलाबाट फुत्किन
दया र सहानुभूतिको भीख माग्छन्। (शृङ्खला ४ बाट)
कवि जय क्याक्टसको कविता सङ्ग्रह ‘शब्द यात्रा’-का कविताहरूका यात्राहरू धेरै सन्देशको यात्रा रहेका छन् भन्न सकिन्छ। यस सङ्ग्रहमा जम्मा ५० वटा शृङ्खलामा लेखिएका कविताहरू माधुर्यपूर्ण गुणहरू बोकेका छन्। कविता पढ्न शुरू गरेपछि कविताले पाठकलाई एउटा मीठो पकवानले समाए झैं च्याप्प समात्न सक्षम हुन्छ। अतः त्यो कविताको आत्मिक शक्ति हो। यस दृष्टिले जय क्याक्टस एक सफल कवि भन्न सकिन्छ।
कवि जयका कविताहरूमा पुञ्जीवादी व्यवस्थाका कुराहरू पनि पाइन्छन्। पैसा पावर हो पैसाको बलबुतामा गाउँ समाजमा निर्धनहरूलाई हेप्ने कार्यहरू भइरहेका छन् साथै मानिसहरू धनवान व्यक्तिहरूका कुराहरू सुनिरहेका हुन्छन् यसरी पुञ्जीपतिहरूको अत्याचारको कथालाई पनि कविले कवितामा यसरी तुलनात्मक रूपमा उतारेका छन् –
उनीहरू अत्याचार बुझ्छन्
शोषण र दमन बुझ्छन्
मरिकाटे तर
दया र सौहार्द के हो चिन्दैनन्।
गरीब शब्दहरू मनका गरीब हुँदैनन्
धनीहरू झैं अर्थ कञ्जुसी पनि गर्दैनन्
बरु ज्यानै दिन्छन्
इमानदारी र विश्वास बन्दकी राख्दैनन्। (शृङ्खला ६ बाट)
कवि क्याक्टसले कविताको माध्यमबाट गरीबहरूका इमानदारीलाई देखाउन खोजेका छन्। गरीबहरू नै वास्तविक धनीहरू हुन्। तिनीहरूको धन नभए पनि मनका धेरै धनी हुन्छन् अनि यिनीहरूले नै एकअर्कामा सेवाका हातहरू बढ़ाइरहेको हुन्छ।
कवि क्याक्टसले कविताहरूमा कतिपय अङ्ग्रेजी शब्दहरूको प्रयोग पनि गरेका छन्। जस्तै- इम्प्लोइमेन्ट, रेडिमेड, मिडिया, च्याट, काउन्सेलिङ, एडिक्ट, मल्टिप्लेक्स, मार्केट, ग्लोबलाइजेसन, ट्राफिक, सफ्टवेयर, डेनसिटी, डिप्रेसन, सेमिनार, डिलिट, लिफ्ट, कपोरेट, एडिक्सन, मेरोरी, डिभाइस, क्र्यास आदि। यी अङ्ग्रेजी शब्दको प्रयोगले कविता अझ शक्तिशाली बनेको छ।
कवि जयका यस काव्यकृतिलाई कालजयी कृति मान्न सकिन्छ। उनको यस कविता सङ्ग्रहका कविताको विषयवस्तुले गाउँबाट शुरू गरी विश्व नै परिक्रमा गरेको पाइन्छ। कवि विषय चयनमा एकदमै सचेत देखिन्छन्। उनको सङ्ग्रहभित्रका शृङ्खला (७) कविताले जीवनको क्षणभङ्गुरता देखाएको छ। मानिसको जीवन दुई दिनको पाहुना मात्र हो भन्ने उक्तिलाई यस कविताले चरितार्थ गरेका छन्। मानिसले दुई दिनको जीवनमा हाँसेर बाच्नुपर्छ, ईर्ष्या, घमण्ड जस्ता नराम्रा विचारहरू पाल्नु हुँदैन भन्दै कवि आफ्ना कवितामा यसरी भन्छन् –
क्षणभङ्गुर जीवनको जेन चढ़ेर
नश्वर शरीरको मोह ओढ़ेर
यो कस्तो होड़?
यो हत्तार केका लागि?
फिस्स जान्छ सास
रहन्छ न तेरो न मेरो। (शृङ्खला ७-बाट)
कवि क्याक्टसका यस सङ्ग्रहभित्रका शृङ्खला (९) -मा हाम्रो विलुप्त भएको संस्कृतिप्रति व्यङ्ग्य कसेका छन्। शृङ्खला (१०) मा आगोको माध्यमबाट नयाँ विचारको सम्भावना व्यक्त गरेका छन् भने त्यही कवितामा चामे र गोठको प्रयोग गरी गरीबहरूका सपनाको हत्याको प्रसङ्ग उठाउन सफल भएका छन्।
उनको शृङ्खला (११)-मा हाम्रो माटो र जातिको युद्धका कुराहरू पनि उठाएका छन्। हामी युद्ध त गर्छौं तर त्यो युद्धको कहिले सकारात्मक परिणाम आउन सकेको छैन भन्दै कविले यहाँ शब्दलाई पराजित योद्धाको रूपमा उभाएका छन्। नमूना हेरौं….
गम्भीर र गह्रौं युद्ध त्यो
अस्तित्व र सत्वको
जसले बोक्छ स्पर्श माटोको
जसले जोड्छ साइनो रगतको
जसले तोड्छ साँध सिमाना वैमनस्यको
खै त,शब्दहरूले जितेका यस्ता युद्धहरू? (शृङ्खला ११ बाट)
कवि क्याक्टसका कविताहरू भाव शिल्प-शैलीको दृष्टिले सफल रहेका छन्। कविताको भाषा कविलाई आफ्नो स्तर अनुसार सामान्य लागे तापनि सिकारु कलम र भर्खरै साहित्यमा लागि परेकाहरूलाई भने कविताको भाषा बौद्धिक लाग्न सक्छ, तर कविता यति मीठो लेखेका छन् कि कविताको भाषालाई कविताको भावले जितेर भाषा क्लिष्ट नै लाग्न सक्दैन।
कविले यस सङ्ग्रहभित्रका कविताहरूमा किनारीकरण (Marginalization)-का कुराहरू पनि गरेका छन्। किनारीकरण एउटा विश्व समस्या हो। वर्ण भेद, रङ्ग भेद, जाति अस्तित्वको समस्या, माटोको समस्या आदि कुराहरूले विश्वमा मानिसहरूले धेरै दुःख औढ़ाहा, पीड़ा भोगिरहेको तितो सत्यलाई पनि कविले कवितामार्फत् उतार्न सफल भएका छन्। कवि लेख्छन् –
शरणार्थी शब्दहरूका
अग्ला अग्ला भवनहरूको
भुइँ तल्लाको घरभाडामा बसेका
रैथाने शब्दहरू
सधैँ गनगन गरिरहन्छन्। (शृङ्खला १२-बाट)
कवि क्याक्टसका कविताहरू आफैमा जीवित रहेका छन्। यो उनको काव्यकारिताको शक्ति हो। कवितामा नारी जातिलाई धेरै सम्मान गरेका छन्। उनले शब्दलाई नारी बनाएर पनि कविता उभ्याएको पाइन्छ। विश्वभरि एउटा ठूलो विडम्बना छ नारी दिवस, मातृ दिवसमा नारीहरूलाई पूजा गरिरहेको हुन्छ तर एक दिन पूजा गरेर अरू दिनमा भोग्य वस्तुको दृष्टिले हेरिरहेका कुरालाई पनि कविले कवितामा दर्शाएको पाइन्छ।
कवि क्याक्टसले आफ्नो कविताको विषयलाई बेसी मात्रामा शहरीकरण गरिएको पाइन्छ। शहरमा भएको अन्याय, नारी शोषण, यौवन धन्धा, राजनैतिक विकृति आदि पक्षहरूलाई कवितामा सफल रूपमा चित्रण गरेका छन्। मानव तस्करी विषयमा आधारित एउटा नमूना हेरौं –
प्रत्येक अखबारको हेडलाइनमा हरेक दिन
बलात्कार, नारी बेचबिखन र यौवन शोषण पढ़ेर
सहरको आबादीसँगै असुरक्षा बढ़ेको देखेर
झस्किरहन्छन् छोरीका बाबू शब्दहरू
अँनिदाआँखा लिएर रातहरूमा। (शृङ्खला १२-बाट)
यसरी शृङ्खला (१८) मा ईश्वर भर्त्सनाका कुराहरू गरिएका पाइन्छन्, शृङ्खला (१९) मा कविले आगो, गैंती, झ्याम्पल, हम्मर, बेल्चाजस्ता मजदुरीय सामग्री अथवा ग्रामीण क्षेत्रमा प्रयोग गर्ने हतियारहरूलाई प्रतीकका रूपमा प्रयोग गरी समाज देश र राष्ट्र परिवर्तनका कुराहरू गरेका छन् भने शृङ्खला (२१) कवितामा रित्तो थाल, रित्तो पानीको भुल्डुङ, रित्तो पेटको कुरा गरेर देशमा गरिबी, भोकमरीजस्ता यथार्थ पक्षलाई दर्शाउन चाहेका छन्। शृङ्खला (२२) कवितामा मानिसहरू प्रति आस्था, भरोसा र विश्वासको महत्त्व हराएको कुरा गरेका छन्।
कवि क्याक्टसले आफ्ना कविताहरूमा शब्दको यात्रा गराएर मानव हित, अधिकार र परिवर्तनको ताण्डव नै मचाएका छन्। कवि क्याक्टसको कविताको अर्को महत्त्वपूर्ण पक्ष हो भाइभतिजावाद अनि बेकारी समस्या आदिको विरोध साथै समाधानका पक्ष।
कविको विचारमा मानिसहरू हिजआज स्वार्थमा रमाउन थालेका छन्। सरकारी नोकरीहरूमा भाइभतिजावाद चल्दछ साथै मुख्य रूपमा शहरका ठूल्ठूलाहरूले मात्र राम्रा राम्रा कामहरू पाउँछन् अनि गाउँमा शिक्षित भएर पनि बेकारी भएर नकारात्मक बाटोमा लाग्छन् भन्ने यथार्थ कुरालाई कवितामा राख्न सफल बनेका छन्। एउटा नमूना हेरौं –
पड्केको पड्केको छ शहरमा
स्वार्थ र महत्वाकांक्षाका पटेका
त्यसरी त बम पड्किनु पर्थ्यो
सोच्छन् बेकारी युवा शब्दहरू। (शृङ्खला २३ बाट)
कवि जयका अधिकांश कवितामा पर्यावरण सचेतनाका कुराहरू पनि पाइन्छ। पर्यावरण विश्वको सम्पत्ति हो यसको जोगाड़ हामीले गर्नुपर्छ भन्दै कविले कवितामार्फत् जनसाधारणलाई सचेत गराउने कोशिश गरेका छन्। यस सङ्ग्रहभित्रका शृङ्खला (३१) कवितामा कविले शहरका झोपड़पट्टीहरूका गुनासो पोख्न चाहेका छन्। देशका विकासका लागि खटाइएका मन्त्री महोदयहरूका नजर ठूल्ठूला सपिङ मल र महानगरीतिर मात्र पर्दछन् भन्ने कटु सत्यलाई कवितामार्फत् यसरी आलोचना गरेका छन् –
कहाँ विस्थापित हुन्छन्
सहरका झोपड़पट्टी घाउहरू
महानगरको सुन्दरीकरणमा व्यस्त मन्त्री महोदयलाई
सुइँकोसम्म हुँदैन। (शृङ्खला ३० बाट)
यस सङ्ग्रहभित्रका शृङ्खला (३५) कवितामा बढ्दो जनसङ्ख्यामा बढ़िरहेको महँगाइ साथै महँगाइका कारणले मध्यमवर्गीय मानिसहरूलाई जिउनु गाह्रो परिरहेका कष्टकर दिनहरूका चर्चा गरेको पाइन्छ, शृङ्खला (३६)-मा पुञ्जीवादी व्यवस्थाले गरीबहरूका पसिनाको शोषण गरेको कुरा चर्चा गरेका छन्, शृङ्खला (३८) कवितामा। चिया बगानका श्रमिकहरू आफ्ना हक र अधिकारका लागि शहीद त बन्छन् तर तिनीहरूको शहीदको मुल्याङ्कन केवल विज्ञापनमा मात्र हुन्छ भन्ने तितो सत्यलाई देखाएका छन्, शृङ्खला (३९) कवितामा। मानवीय इच्छाको हनन् भएका कुरा दर्शाएका छन्, श्रृङखला (४२) कवितामा। शहरमा गरीब जनताले पाएको दु:ख, कष्ट, पीड़ाहरू देखाउन चाहेका छन्, श्रृङखला (४३) कवितामा। मानवीय इच्छा कहिले पनि पूरा हुँदैन, जति पूरा भयो दिनप्रतिदिन मान्छेको इच्छा बढ्दै जान्छ भन्ने सत्य कुरा राख्न चाहेका छन्।
उनको शृङ्खला (४५) कवितालाई उत्कृष्ट कविता मान्न सकिन्छ। कविले यसमा आंशिक रूपमा जातीयताका कुरा गरेका छन्। सुनिल छेत्री, भाइचुङ, शिव थापा साथै हाम्रा नेपालीहरूले भारत देशका लागि ज्यान र प्राणको आहुति दिएर योगदान दिए तापनि हामीलाई देशले विदेशीको लाञ्छना लगाइरहेको हुन्छ। यो सत्य पनि हो। कविले यस कुराको सबल पक्ष नमूना स्वरुप सरकारसमक्ष यसरी राखेका छन्। नमूना हेरौं भाइचुङ र सुनिलले छिराएको गोलीले विपक्षी टिमको नेट छुँदा
यता घरबाट खुशीको बेलुन उड़ाएको दृश्य
शिव थापाले प्रतिद्वन्द्वीको दाँत झार्दा
यता गर्वले आफ्नै घरको भित्ता फोरेको चित्र
जम्मै लगेर जन्तरमन्तरको सड़ककिनार
प्रदर्शनीमा सजाउनु छ। (शृङ्खला ४५-बाट)
कविता सङ्ग्रह शब्द यात्रा साँच्चिकै उत्कृष्ट कविताहरूका सङ्गालो मान्न सकिन्छ। कविताको भावले विस्तृत आयाम बोकेका छन्। सङ्ग्रहको शृङ्खला (४६) कवितामा दार्जीलिङमा एक समयमा राजनीतिमा चलेका झण्डाहरूको म्याराथनको पक्षको चर्चा गरेका छन्, शृङ्खला (४७) मन सरकारको तानाशाही पक्षको चित्रण पाइन्छ, शृङ्खला (४८) मा। रिस आह्रिस र भाइचाराका कुराको चित्रण गरेका छन्, शृङ्खला (४९) कवितामा। हाम्रा आस्था र विश्वासमाथि घात भएको कुराहरूका सबै चित्रण गरेका छन् भने यस सङ्ग्रहभित्रका अन्तिम कविता शृङ्खला (५०)-मा जीवनको निस्सारता र विसङ्गतिलाई दर्शाउन चाहेका छन्।
समग्रमा जय क्याक्टसका शब्द यात्रा कविता सङ्ग्रहलाई अवलोकन गर्दा यस सङ्ग्रहलाई भारतीय नेपाली साहित्यमा शृङ्खला कविता लेखनको विशिष्ट कविता सङ्ग्रह मान्न सकिन्छ। कवि क्याक्टसले शब्दलाई विभिन्न प्रतीकको रूपमा उभ्याएर कविताभित्र यात्रा गराउन सफल भएका छन्।
भारतीय नेपाली साहित्यमा अन्य कविहरूजस्तै केवलचन्द्र लामाको घर, मनप्रसाद सुब्बाको ऋतु क्यान्भसमा रेखाहरू, मनप्रसाद सुब्बा र रेमिका थापाको सहलेखनमा किनाराका आवाजहरू, मिलन बान्तावाको गाउँ र शहर, मनोज बोगटीको बिम्बगोष्ठी, राजा पुनियानीको अर्को लश्कर, रेमिका थापाको गाउँमा कविता आदि कविता सङ्ग्रहहरूमा पनि केही शृङ्खला कविताहरू रहेका पाइन्छन्। तर भारतीय नेपाली कविताको इतिहास हेर्दा जय क्याक्टसको शब्द यात्रालाई नै प्रथम अनि पूर्णरूपमा लेखिएको शृङ्खला कविता सङ्ग्रह मान्न सकिन्छ।
कवि जय कविता लेख्नमा खप्पिस छन्, यसको ज्वलन्त नमूना शब्द यात्रा सङ्ग्रहलाई मान्न सकिन्छ। भविष्यमा यस्तै सङ्ग्रह नेपाली साहित्यका ढुकुटीमा दिने अपेक्षा साँच्दै कविलाई अनेकन् शुभकामना दिन चाहन्छु।