शहीद जीवन गुरुङ शव घर ल्याइपुऱ्याइयो, भोलि अन्तिम संस्कार गरिने

0
1879
आइतवार बाघडुग्रामा शहीदलाई सलामी दिँदै सेनाका अधिकारी

सिलगढ़ी, 13 जनवरी : “ गोर्खा सैनिकहरूले कहिलेसम्म सीमा यसरी आफ्नो प्राणको बलिदान दिइरहनुपर्ने हो? म मेरो छोराको खूनको सट्टा खून चाहन्छु। मेरा छोरालाई जसले मार्‍यो, उसले पनि यस्तै परिणाम भोग्न पर्नेछ, छोराको शव लिन आइतबार बाघडुग्रा आइपुगेका कृष्ण गुरुङको अनुहार गर्वको भावसँगै आक्रोश स्पष्ट देखिन्थ्यो। भारत आफ्ना शत्रुविरुद्ध आक्रामक हुनुपर्ने शहीद जीवन गुरुङका पिता कृष्ण गुरुङले बताएका छन्।

आज अपरान्ह सेनाको एक विमानद्वारा शहीद जीवन गुरुङको शव बाघडुग्रा हवाइअड्डा ल्याइपुर्‍याएको थियो। यसअवसरमा हवाइअड्डामा सेनाका उच्चाधिकारीसँगै राज्यका पर्यटन मन्त्री गौतम देव, दार्जीलिङकी जिल्लाशासक जोयशी दासगुप्ता, सिलगढ़ीका महकुमा अधिकारी तथा अन्य उपस्थित थिए।

यसअवसरमा पत्रकारहरूसँगै कुराकानी गर्दै जीवनका पिताले भने, “छोराको मृत्युको खबर सुन्दा अवाक भएको थिए। तर उनले आफ्नो प्राणको बलिदान देशका लागि दिएकोले गर्वबोध पनि गरे।  जीवन मेरो मात्र छोरा होइनन्, देशकै छोरा हुन्। त्यसैले उसको बलिदानमा मलाई गर्व छ।

यद्यपि उनले सीमामा प्रतिदिन जवानहरूको बलिदानलाई सहन गर्न नहुने पनि बताएका छन्। उनका अनुसार भारत सरकारले यसका लागि कठोर र ठोस कारबाही गर्नुपर्ने छ, जसको फलस्वरूप सीमामा शान्ति बहाल हुनसकोस्।

उल्लेखनीय छ, आजै सड़क मार्ग हुँदै शहीद जीवन गुरुङको शवलाई लोअर लामाहट्टास्थित घर पुर्‍याइएको छ। भोलि सैनिक सम्मानसहित उनको अन्तिम संस्कार गरिनेछ। शुक्रवार जम्मू-कश्मीरको रजौरी जिल्लाको नौशेरा सेक्टरमा आतङ्की हमलामा परी   जीवन गुरुङ शहीद भएका थिए। उनी दशैं-तिहारको छुट्टी बिताएर दुई महिनाअघि मात्र ड्युटी फर्केका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here