सिलगढ़ी, १७ जूनः सिलगढ़ीमा कोरोना सङ्क्रमित दुईजनाको मृत्यु भएको छ। एकजना सिलगढ़ीस्थित चर्च रोड तथा अर्का प्रधान नगर थानाअन्तर्गत मल्लगढ़ीनिवासी व्यक्ति हुन्।
बङ्ग्ला दैनिक उत्तरबङ्ग संवादको अनलाइन डेस्कका अनुसार सिलगढ़ी नगरनिगमको १० नम्बर वार्डस्थित चर्च रोडनिवासी एक ७२ वर्षीय वृद्धको हिजो अबेर राति कोरोना भाइरसका कारण मृत्यु भएको छ।
जानकारीका अनुसार हिजो यी वृद्धमा श्वास-प्रश्वास देखिएपछि सिलगढ़ीका केही नर्सिङले भर्ना गर्न अस्वीकार गरेपछि परिवारले अबेर राति उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा पुऱ्याइएका थिए, तर चिकित्सकहरूले उनलाई मृत घोषित गरे। अर्थात् उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पताल पुग्न अघि नै उनको मृत्यु भइसकेको थियो।
त्यसपछि तत्कालै उनको स्वाबको नमूना सङ्ग्रह गरी जाँचका लागि भाइरस रिसर्च एन्ड डायग्नोस्टिक ल्याबरोटरी (भीआरडीएल)-मा पठाइएको थियो भने आज जाँच रिपोर्ट पोजिटिभ आएको छ।
अर्कोतिर प्रधाननगर थानाअन्तर्गत मल्लगढ़ीनिवासी ५५ वर्षीय व्यक्ति पनि कोरोना सङ्क्रमणका कारण मृत्यु भएको बताइएको छ। कोरोना सङ्क्रमणको लक्षण देखिएपछि उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा भर्ना गरिएको थियो।
उनको कोरोना टेस्ट पोजिटिभ आएपछि हिजो कावाखालीस्थित कोभिड अस्पताल दिसन अस्पतालमा भर्ना गरिएको थियो भने आज बिहानै उनको पनि मृत्यु भयो। उनीहरू दुवैजनाको कुनै ट्राभल हिस्ट्री नरहेको बताइएको छ।
मृतक दुवैजनाको अन्तिम संस्कार आज सरकारी नियमअनुसार गरिएको छ।