कोलकाता, १७ जूनः पूर्वी लद्दाखको गलवान उपत्यकामा सोमवार राति चीनका सैनिकहरूसँग भएको हिंसक झड़पमा अलिपुरद्वार जिल्लाको टोटोपाड़ा- २ ग्राम पञ्चायतअन्तर्गत बिन्दीगाउँनिवासी विपुल राय पनि शहीद भएका छन्।
करिब १५ वर्षअघि भारतीय सेनामा नियुक्त भएका विपुलले आफूपछि आमा-बाबा, एक छोरी र पत्नी छोड़िगएका छन्। जानकारीका अनुसार विपुल करिब ५ महिना अघि छुट्टीमा घर आएर पुनः ड्युटीमा फर्केका थिए।
अर्कोतिर, वीरभूम जिल्लाका मोहम्मदबजार पुलिस थानाअन्तर्गत बेलगोरिया गाउँनिवासी राजेश ओराङ्ग पनि चीनसँगको झड़पमा शहीद भएका छन्।
२०१५ मा सेनामा भर्ना भएका राजेश बिहार रेजिमेन्टमा तैनाथ थिए।
यसैबीच, राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले यी दुई शहीदका परिवारलाई क्षतिपूर्ति राशिस्वरूप पाँच-पाँच लाख रुपियाँ तथा परिवारका एक सदस्यलाई सरकारी नोकरी दिने घोषणा गरेकी छन्।
उनले आज ट्वीट गरी गलवान घाटीमा शहीद भएका वीर जवानका परिवारप्रति समवेदना व्यक्त गरेकी छन्।
‘यो देशका लागि सर्वोच्च बलिदान हो। शोकाकुल परिवारमा भएको नोक्सानीको परिपूर्ति गर्न सकिँदैन’, ममताले ट्वीटमा लेखेकी छन्, ‘यो कठिन समयमा हामी आफ्ना भूमि पुत्रहरूसँग खड़ा छौं। हामीले शहीदहरूका परिवारलाई पाँच-पाँच लाख रुपियाँ र एक सदस्यलाई पश्चिम बङ्गाल सरकारमा नोकरी दिने निर्णय गरेका छौं।’