दार्जीलिङ, १४ जनवरी : पछिल्लो शुक्रवार आतङ्की हमलामा शहीद बनेका जीवन गुरुङको सोमवार पूर्ण सैनिक सम्मानसहित अन्तिम संस्कार गरियो। शहीद जीवनलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न आज तल्लो लामाहट्टाको सिङ्ग्रीताम बस्तीमा आज बाक्लो सङ्ख्यामा मानिसहरू भेला भएका थिए, जसमा सेनाका उच्चाधिकारीलगायत दार्जीलिङका विधायक अमरसिंह राई, भूतपूर्व सैनिक सङ्गठनका प्रतिनिधिहरू तथा अन्य विशिष्ट व्यक्तिहरू उपस्थित थिए। भेला भएका सबैले जीवनलाई अश्रुपूर्ण विदाई दिए।
उल्लेखनीय छ, २५ वर्षको कलिलो उमेरमै देशका लागि आफ्नो प्राणको आहुति दिएका २/१ गोर्खा रेजिमेण्टका जवान जीवन गुरुङको शव हिजो राति उनको पैतृक गाउँ ल्याइएको थियो। पछिल्लो शुक्रवार बेलुकी जम्मू-कश्मीरको रजौरी जिल्लाको नौशेरा सेक्टरमा आतङ्की हमलामा परी युवा जीवन गुरुङ शहीद बनेका थिए।
पत्याउनै नसकिने सत्यता
दशैं तिहारको छुट्टीमा आएका जीवनले सकेसम्म घरका कामहरू गरेका थिए। घरको रेलिङ बनाउने र आँगन सम्याउने काम गरेका थिए। छुट्टीमा घर आउँदा घरकै काममा व्यस्त रहने जीवनले दाजु रुपम गुरुङलाई पनि काममा एक साता सघाएका थिए। आँगन सम्याउनपछि जीवनले दिदीसँग ठट्टा गर्दै भनेका थिए, “अब यो आँगनमा अब दिदीको विवाहमा मज्जा नाचिन्छ।”
अहिले आँगनले जीवनको पाइलाको ताजा डामहरू खोजिरहेको छ। रेलिङले हातको स्पर्श पर्खिबसेको छ। दिदी बेनु गुरुङको कानमा एकहोरो गुञ्जिरहेको छ, भाइको ठट्टा र पत्याउनै सकिरहेका छैनन् उनले भाइको मृत्युलाई । शुक्रवार बिहान मात्र दिदी भाइ फोनमा केही समय कुराकानी गरेका थिए। यो कुराकानी नै अन्तिम हुनेछ भन्ने उनलाई दश मनमा एक मन पनि थिएन। आमा रोएर थाकिसकेका छन्। स्वर भित्रभित्र भासिसकेको छ। दह्रो मुटु बनेका बाबा किरण गुरुङ र दाजु रुपम गुरुङले जीवन गुमाउनुको पीड़ा भित्रभित्र दबाएर राखेका छन्। मुटु दह्रो बनाएर बस्नु र आँखामा आएको आँसुलाई जबर्जस्ती रोक्नु कति गाह्रो काम रहेछ भन्ने कुरा अहिले उनीहरूले बुझिरहेका छन्।
घरमा सन्नटा छाएको छ। जीवनले छुट्टीमा सम्याएको आँगनमा मानिसहरूको चहलपहल छ। डल्लै गाउँ शोकमा छ। एउटा अव्यक्त मौनताले जीवनको बलिदानलाई भनिरहेछ-पत्याउनै सकिने मौनता।
एल्बम निकाल्ने धोको अपुरै
जीवन गीत गाउँथे। गीति एल्बम निकाल्ने धोको थियो उनको । मञ्च जहाँ पाउँथे, उनले आफ्नो गायकी देखाउँथे। गीत गाउन भनेपछि मरिमेट्ने। छुट्टीमा आउँदा द राइजिङ स्टारमा सहभागिता जनाए। ठूलो धोको जीवनको गीति एल्बम निकाल्ने थियो। आफ्ना काका अम्बर लाछिकाठीसँग सरसल्लाह गरेका थिए। काकाको शब्द र जीवनको स्वरमा केही गीत पनि तयार भइसकेका थिए।, तर यो धोको अपुरै रह्यो।
काका अम्बर लाछिकाठी भन्छन्, “एक दुईवटा गीत तयार भइसकेको थियो, तर अब जीवन नै नरहेपछि यो अपुरो रह्यो। योपत्याउनै नसक्ने कुरा हो। तर मनलाई बुझाएर पनि पत्याउन परिरहेछ।”
छोरोको बलिदानप्रति बाबा किरण गुरुङलाई गर्व
जतिबेला छोरो शहीद बनेको समाचार बाबा किरण गुरुङले सुनेँ, अवाक बने। पत्याउनै सकेनन्। कसैले ठट्टा गरेझैं लाग्यो। मुख सुकेको थियो, तर मुटुलाई दह्रो बनाए। छोरो गुमाउनुको पीड़ालाई आफूभित्र दबाएर जीवनको बलिदानमा गर्वबोध गरे।
उनी भन्छ, “जीवन शहीद बनेको खबर सुन्दा आकाश मेरो शिरमाथि खसेकोजस्तो भएको थियो। अवाक बने एकाएक, तर जीवन हाम्रा मात्र छोरो होइनन्, उ त देशकै छोरो हो। यसैले जीवनको बलिदानमाथि मलाई गर्व छ। जीवनले आफ्नो जीवन त्यसै खेरो फ्याँकेका छैनन्। उसले त देशको रक्षार्थ आफ्नो प्राणको आहुति दिएका छन्। छोरोको मृत्यु असहनीय पीड़ा हो अवश्यै, तर उनले देशका लागि दिएको बलिदान गर्वको कुरो हो हाम्रा लागि।”