रेसीले भत्कायो पुल, लिङ्से र लिङ्सेखा जीपीका मानिसहरू बिचल्लीमा

1
1019

कालेबुङ, १९ जूनः कालेबुङ खण्ड दुईअन्तर्गत् पर्ने लिङ्से र लिङ्सेखा ग्राम पञ्चायतका मानिसहरूका यातायात सम्पर्क पूर्ण रूपले चुँड़िएको छ।   

अविरल परेको पानीसँगै उर्लेको रेसी खोलाले बेन्दामा बनाइएको काठको पुललाई पूर्ण क्षति पुऱ्याएपछि यी दुई ग्राम पञ्चायतका मानिसहरूका यातायात सम्पर्क टुटेको हो। जसका कारण बर्खाको शुरूमै क्षेत्रका मानिसहरूमाथि ठूलो समस्या आइपरेको छ।

स्थानीयवासी पारस शर्माका अनुसार कागे, लिङ्से र लिङ्सेखा ग्राम पञ्चायत क्षेत्रका मानिसहरूले परस्परको सहयोगमा बेन्दास्थित रेसी खोलामा यो काठको पुल बनाएको थियो।

उनका अनुसार उक्त काठको पुलबाट मानिसहरू मात्र होइन, तर साना-ठूला वाहनहरू पनि ओहोर-दोहोर गर्ने गर्थे।

पछिल्लो ५ जूनका दिन खण्ड दुईकी खण्ड विकास अधिकारी सुवर्ण मजुमदारको बाहुलीबाट उद्घाटन गरिएको उक्त पुलले लिङ्से र लिङ्सेखा ग्राम पञ्चायतका मानिसहरूलाई जोड़ेको थियो। तर आज यो पुललाई रेसी खोलाले भत्काएपछि दुवै ग्राम पञ्चायत क्षेत्रका मानिसहरूका यातायात सम्पर्क विच्छिन्न भएको छ।

लकडाउका कारण सिक्किमसँग पहिल्यैजस्तो सुचारू यातायात सम्पर्क नभएका कारण पनि उक्त काठको पुल भत्किँदा यी दुई ग्राम पञ्चायतका मानिसहरूमाथि झनै ठूलो समस्या आइपरेको छ। किनभने बर्खाको समस्यामा यातायातका लागि मनिसहरूले एउटै विकल्प यसै पुल थियो।

“यो काठको पुल नै हामी दुई ग्राम पञ्चायतका मानिसहरूका लागि यातायातको एउटा माध्यम थियो। यो नै भत्किएपछि अब यातायात पनि विच्छिन्न भएको छ”, स्थानीयवासी पारस शर्माले भने।

शर्माका अनुसार रेसी खोलामा पक्की स्टिलको ब्रिज बनिने क्रममा थियो, तर लकडाउनका कारण अहिले यसको निर्माणकार्य ठप्प छ।

यसैले पनि क्षेत्रका मानिसहरूमाथि आइपरेको यो ठूलो समस्या समाधानका लागि सम्बन्धित निकायले यथाशीघ्र पहल गरिनुपर्ने क्षेत्रवासीको माग छ।

1 टिप्पणी

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here