कालेबुङ, १९ जूनः लिङ्से र लिङ्सेखा ग्राम पञ्चायतका मानिसहरूका लागि पूर्व सिक्किमको रिनाक भएर कालेबुङलगायत दार्जीलिङ सिलगढ़ी तथा अन्य स्थानहरूमा आवश्यकीय सेवाका लागि आउ-जाउ गर्नहेतु वाहनहरूका चलाचलको अनुमति दिने अनुरोध गर्दै सांसद राजु बिष्टले सिक्किमका मुख्यमन्त्री पीएस गोलेलाई पत्राचार गरेका छन्।
लिङ्से र लिङ्सेखा ग्राम पञ्चायत क्षेत्रका मानिसहरूले परस्परको सहयोगमा बेन्दामा बनाएको काठको पुललाई हिजो राति रेसी खोलाले बगाएपछि अहिले क्षेत्रका मानिसहरू ठूलो समस्यामा परेको अवगत गराउँदै पत्रमार्फत् सांसदले रेसी चोकपोस्ट खुला गरेर उल्लिखित दुई ग्राम पञ्चायतका मानिसहरूका लागि रिनाक भएर वाहनहरूको चलाचलको अनुमति दिने सिक्किमका मुख्यमन्त्रीसमक्ष अनुरोध गरेका हुन्।
उल्लेखनीय छ, कोरोना प्रकोपलाई रोक्नका लागि कठोर पदक्षेप उठाएको सिक्किम सरकारले वर्तमानमा कालेबुङसँगको सीमा जोड़िएको रेसी चेकपोस्टलाई पनि बन्द गरेको छ।
कालेबुङ खण्ड दुई अन्तर्गत् पर्ने लिङ्से र लिङ्सेखा ग्राम पञ्चायतको सीमा पूर्व सिक्किमको रिनाकसँग जोड़िएको छ। यी क्षेत्रहरूका मानिसहरू कालेबुङ, दार्जीलिङ र सिलगढ़ीलगायत अन्य स्थानतिर यात्रा गर्नका लागि पनि सिक्किमको रिनाक भएर रम्फू हुँदै जानुपर्ने बाध्यता छ।
यसैले पनि हिजो राति रेसी खोलाले उक्त काठको पुललाई भत्काएपछि क्षेत्रका मानिसहरूका समस्या दुईगुणा बढ़ेको छ।
क्षेत्रवासीले भोगिरहेका यी समस्याहरूलाई ध्यानमा राखेर सांसद राजु बिष्टले आज सिक्किमका मुख्यमन्त्री पीएस गोलेलाई पत्राचार गरेका हुन्।
यसका साथै सांसद बिष्टले यी दुई क्षेत्रका मानिसहरूका लागि रेसी र रम्फू चेकपोस्टको सीमा खुल्ला गरिए, क्षेत्रवासी आउ-आउमा सिक्किमको भूमि प्रयोग मात्र गर्ने, सिक्किमभित्र कहीं कतै वाहन नरोक्ने कुरामा पनि राजी रहेको पत्रमा बताएका छन्।
अर्कोतिर बिष्टले यसै विषयमा कालेबुङका जिल्लापाल आर विमलालाई पनि पत्राचार गरेका छन्।