सिलगढ़ी, १९ जूनः सिलगढ़ीमा कोरोना सङ्क्रमित थप दुईजनाको मृत्यु भएको छ।
जानकारीका अनुसार कोरोना भाइरसका कारण मृत्यु हुनेहरूमा एकजना जलपाइगढ़ी तथा अर्का सिलगढ़ीनिवासी हुन्। जलपाइगढ़ीको उत्तर रायकटपाड़ानिवासी ७४ वर्षीय वृद्धको मृत्यु उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा तथा सिलगढ़ी नगरनिगमको वार्ड नम्बर १४ स्थित आश्रमपाड़ानिवासी ७५ वर्षीय वृद्ध कावाखालीस्थित कोभिड अस्पताल दिसन अस्पतालमा मृत्यु भएको हो।
जानकारीका अनुसार जलपाइगढ़ीनिवासी वृद्धलाई शारीरिक समस्या देखिएपछि शुरूमा जलपाइगढ़ी जिल्ला अस्पतालमा भर्ना गरिएको थियो। त्यहाँबाट उनलाई उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा रेफर गरिएपछि हिजो राति यस अस्पतालमा भर्ना गरिएको थियो। तर आज बिहानीपख उनको मृत्यु भएको बताइएको छ।
मृत्यु उनको स्वाबको नमूना सङ्ग्रह गरी जाँचका लागि भाइरस रिसर्च एन्ड डायग्नोस्टिक ल्याबरोटरीमा पठाइएको थियो भने आज साँझपख उनको कोरोना टेस्ट पोजिटिभ आयो।
त्यसैगरी सिलगढ़ी नगरनिगमको १४ नम्बर वार्डस्थित आश्रमपाड़ानिवासी ७५ वर्षीय वृद्ध बिरामी भएपछि शहरकै कलेजपाड़ास्थित एक नर्सिङ होममा लगिएको थियो। यी वृद्धका शरीरमा कोरोना भाइरसका लक्षण देखिएपछि उनलाई त्यस नर्सिङ होमबाट कावाखालीस्थित कोभिड अस्पताल दिसन अस्पतालमा रेफर गरिएको थियो।
यसै अस्पतालमा उपचाराधीन अवस्था यी वृद्धको बिहान करिब ७.३० बजे मृत्यु भएको बताइएको छ। यी वृद्धको पनि मृत्युपछि कोरोना टेस्ट पोजिटिभ आएको हो।
मृतक दुवै कोरोना सङ्क्रमित रहेकाले उनीहरूका अन्तिम संस्कार सरकारी नियमानुसार गरिने बताइएको छ।