१,००० बेडको बहुसुविधा सम्पन्न अस्पतालको उद्घाटन, चामलिङले भने- हामीले इतिहास बनाएका छौं

0
1168
सोकेथाङमा निर्माण गरिएको १,००० बेडको अस्पतालको उद्धाटन गर्दै मुख्यमन्त्री चामलिङ।

गान्तोक, 14 जनवरीः अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)-पछि देशकै सबैभन्दा ठूलो सरकारी अस्पताल मुख्यमन्त्री पवन चामलिङले आज राज्यवासीलाई समर्पित गरेका छन्। राज्यको स्वास्थ्य पूर्वाधार निर्माणको क्षेत्रमा नवनिर्मित 1000 शयनयुक्त बहुसुविधासम्पन्न सोकेथाङ अस्पताललाई एउटा माइलखुट्टीको रूपमा हेरिएको छ। मुख्यमन्त्रीले आज एक भव्य समारोहबीच 13 तले अस्पतालको उद्घाटन गरे। पूर्वोत्तरमै राज्य सरकारबाट यसप्रकारको पहिलो अस्पताल निर्माण गरिएको जनाइएको छ।

“एम्सबाहेक देश र राज्यवासीले दोस्रो सर्ववृहत् सरकारी अस्पताल पाएका छन्। यति ठूलो सरकारी अस्पताल अन्यत्र छैन। मलाई आज ज्यादै सन्तुष्टि र खुशी मिलेको छ। हामीले यसरी इतिहास र माइलखुट्टी निर्माण गरेका छौं”, अस्पतालको उद्घाटनपछि एउटा भव्य समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पवन चामलिङले भने।

लगभग 9 वर्षमा निर्माण भएको यो अस्पतालको निर्माण गाथा पनि मुख्यमन्त्रीले सुनाए, “2009 सालमा हामीले यो पूर्वाधार निर्माण गर्ने फैसला लियौँ। सरकारसँग एक पैसा बजेट थिएन। तर हामीले आँट गऱ्यौं। त्यसबेलाका मुख्य सचिव र वित्त सचिवले पैसा छैन, भवन निर्माण असम्भव छ भनेर मलाई सल्लाह दिए, तरैपनि मैले आँटैले फरवरी, 2010 मा भवनको शिलान्यास गरे। यसको निर्माणमा 1281 करोड़ लागेको छ। योजना र गैर-योजना राशिबाट बढ़ी रुपियाँ लगाइएको छ। चिकित्सा उपकरण खरिद गर्न पैसा नपुगेर हामीले 200 करोड़ सफ्ट ऋण लिनपरेको छ।”

“यो एसडीएफ सरकारको सबैभन्दा ठूलो उपलब्धि हो। आउने दुई-तीन सय वर्षमा पनि कुनै सरकारले यस्तो अस्पताल बनाउँदैन। हामीले इतिहास बनाएका छौं”, मुख्यमन्त्रीले भने। एसटीएनएम अस्पताललाई आगामी 15 दिनभित्र यहाँ सारेर फरवरीदेखि पूर्ण सञ्चालनमा ल्याउन उनले सम्बन्धित अधिकारीहरूलाई निर्देश दिए। एसटीएनएम अस्पतालको इतिहासलाई जीवित राख्दै यो अस्पतालको नामकरण ‘न्यू एसटीएनएम सुपरस्पेसियलिटी अस्पताल’ राखिने उनले घोषणा गरे।

 अस्पताल अत्याधुनिक तक्निकी र उपकरणयुक्त  भएको जानकारी दिँदै मुख्यमन्त्रीले भने, “यो अस्पताल पूर्णतः डिजिटलाइज्ड छ। राज्यका चारै जिल्लाका जिल्ला अस्पतालसँग यसको इन्टरनेट कनेक्शन रहनेछ, जसले गर्दा गाउँ-बस्तीबाट आउने राज्यवासीले कुनै असुविधाबिनै उपचार पाउन सकुन्।”

दिनभरि घुम्दा पनि यो अस्पताल घुमिनसक्ने उनले बताए। अब उपचारको लागि राज्यवासीले बाहिर जान नपर्ने जनाउँदै यो अस्पतालमा सबै उपचारको सुविधा र प्रविधि रहेको मुख्यमन्त्रीले अवगत गराए। राज्यका प्रत्येक निर्वाचन क्षेत्रका जनतालाई अस्पतालमा उपचारका लागि सहज होस् भन्नखातिर प्रत्येक समष्टिबाट तीन-चारजना युवालाई यहाँ नोकरीको व्यवस्था गरिएको अनि आफ्ना क्षेत्रका जनतालाई उपचारमा सहयोग पुर्‍याउनु उनीहरूका प्रमुख काम हुने चामलिङले जानकारी गराए।

स्थानीय समष्टिबाट मात्र 100 जनाले यहाँ रोजगार पाएको उनले अवगत गराए। यहाँ क्यान्सरसम्मको उपचारको व्यवस्था गरिएको छ। गान्तोक बजारबाट प्रत्येक दिन 24 घण्टै 6 वटा बसबाट रोगीहरूलाई निःशुल्क आवात-जावातको व्यवस्था गरिने, रोगीका आफन्त वा सहयोगीका निम्ति निःशुल्क बस्ने र खाने व्यवस्थाका लागि ‘यात्री निवास’-को स्थापना गरिएको अनि चारै जिल्लाबाट रोगी ल्याउन आईसीयु एम्बुलेन्सको समेत व्यवस्था गरिएको मुख्यमन्त्रीले जानकारी दिए।

 “यो अस्पतालले छिमेकी दार्जीलिङ र बङ्गाललाई मात्र होइन, पूर्वोत्तरलाई पनि फाइदा दिन्छ”,मुख्यमन्त्रीले भने। यहाँ सिक्किमका विद्यार्थीहरूले निःशुल्क एमबीबीएस पढ्न पाउने अनि टिचिङ अस्पतालको रूपमा यसले काम गर्ने उनले जनाए। महिलाहरूको सर्भाइकल क्यान्सर रोकथामका लागि निःशुल्क खोप लगाउने सिक्किम देशकै पहिलो राज्य बनेको जिकिर गर्दै यद्यपि यस्तो काममा समेत विपक्षीहरूबाट विरोध भएकोमा मुख्यमन्त्रीले त्यसको आलोचना गरे।

“राज्यवासीको स्वास्थ्यका लागि राम्रो काम गर्दा राजनीतिक पार्टीहरूले विरोध गरे। डाक्टरहरूले क्यान्सरको खोप लगाउँदा सबैलाई फाइदा हुन्छ भनिदिनुपर्थ्यो, तर कोही बोलेनन्। यसरी डाक्टरहरू नबोल्दा साधारण जनता डराए। डाइबेटिक, क्यान्सर आदिको खोप निक्लियो भने पनि हामी राज्यवासीलाई निःशुल्क लगाउँछौं। एसडीएफ सरकारको कार्यक्रम जनताको जीवनसँग जोड़िएको छ”, उनले भने।

 स्वास्थ्यसम्बन्धी राज्य सरकारले ल्याएका विभिन्न योजना र सिक्किमका जनताको स्वास्थ्यमा भएको प्रगतिबारे पनि मुख्यमन्त्रीले प्रकाश पारे। सिक्किममा घट्दो जनसङ्ख्याप्रति उनको चिन्ता थियो। पछिल्लो बीस वर्षमा सिक्किमका जनताको हरदर आयु 11 वर्ष बढ़ेको बताउँदै यसलाई उनले ‘सबैभन्दा ठूलो विकास’-को संज्ञा दिए।

विपक्षी पार्टीहरूप्रति पनि उनले कटाक्ष गरे। “राज्यमा खराब नेता छ भने जनताले धेरै दुःख पाउँछन्। आतङ्कको माहौलमा बस्नु सबभन्दा ठूलो तनाउ हुन्छ। त्यो तनाउमा जनताको स्वास्थ्य राम्रो हुँदैन। जनताले पाएको र भएको कुरामाथि विश्वास गर्नुपर्छ”, उनले भने।

हालै नियुक्ति पाएका युवाहरूको नोकरीलाई लिएर विपक्षी पार्टीहरूले उठाएको शङ्का र आरोपको पनि उनले जवाफ दिए।

“सरकारले तलब दिने पैसा कहाँबाट ल्याउँछ भन्दैछन्। विपक्षीले यसमा टाउको नदुखाउनु। यो मेरो जिम्मा हो। मसँग 24 वर्षको अनुभव छ। पैसा कहाँबाट ल्याउनु म जान्दछु। मैले विधिको शासन र प्रजातन्त्रलाई मनमा राखेर काम गरेको छु। तलब दिनेमात्र होइन पेन्सन दिनेसमेत व्यवस्था गरेर नोकरीमा लगाउँदैछौं। म सिक्किमका जनताको साझा हितमा काम गर्ने नेता हो”, उनले भने,“हामी 2003 मेगावाट बिजुली बेच्न सक्छौं। यहाँबाट 2 लाख करोड़ राजस्व आउँछ। त्यसैले सिक्किम बिगार्ने कुरा सुनेर कर्मचारीहरू पोलिटिक्समा लाग्नहुँदैन।”

उनले 12 जनवरीमा नियुक्ति आदेश थाप्नेहरूलाई ढुक्क भएर काम गर्न आश्वस्त पारे। डाक्टर, नर्स र अन्य मेडिकल कर्मचारीहरूका समस्या सक्दो समाधान गर्दै आएको जनाउँदै मुख्यमन्त्रीले सबैसँग सहयोगको आग्रह गरे। डाक्टर र नर्सहरूले आफ्नो सर्वोत्तम सेवाद्वारा राज्यवासीको श्रेष्ठ उपचार गरिदिन उनले स्वास्थ्यकर्मीहरूसँग आग्रह गरे। राज्यलाई यति ठूलो पूर्वाधार प्रदान गरेकोमा स्वास्थ्य विभागले मुख्यमन्त्रीलाई संवर्धना जनायो।

6 महिनाको नर्सिङ कोर्स पूरा गरेका 30 जना नर्सलाई मुख्यमन्त्रीले खादा लगाएर सम्मान जनाए। उनीहरूलाई राज्य सरकारले राज्यका विभिन्न प्राथमिक स्वास्थ्य केन्द्रहरूमा नियुक्ति दिएर पठाउने जनाइएको छ। यस अवसरमा मुख्यमन्त्रीले गुनासो र समस्या सुनवाइका लागि 104 हेल्पलाइन नम्बर पनि सार्वजनिक गरे। 

समारोहमा स्वास्थ्य विभागका आयुक्त तथा सचिव विशाल चौहानले स्वागत वक्तव्य राख्दै यो नयाँ अस्पताल मुख्यमन्त्री पवन चामलिङको परिकल्पना, सोच, दूरदर्शिता र सङ्घर्षको गाथा भएको बताए। भवन तथा आवास विभागका मुख्य सचिव आरडी थापाले यसको तक्निकी रिपोर्ट पेश गरे। कार्यक्रममा विधानसभा अध्यक्ष केएन राई, स्वास्थ्य मन्त्री एके घतानी, वरिष्ठ मन्त्रीगण, विधायकगण, विभागीय प्रमुख, विभिन्न निकायका जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here