सिलगढ़ी, १९ जूनः सिलगढ़ी तथा संलग्न क्षेत्रमा केही दिनयता कोरोना सङ्क्रमणको मामिला प्रतिदिन बढ़्दै गइरहेको छ। पछिल्लो २४ घण्टामा सिलगढ़ी नगरनिगमका विभिन्न वार्डमा गरी कुल ९ जना कोरोना सङ्क्रमित रहेको पुष्टि भएको छ।
सङ्क्रमित हुनेहरूमा वार्ड नम्बर ३७ बाट तीनजना, वार्ड नम्बर १४ बाट दुईजना, वार्ड नम्बर २२, २५, ३१ र १६ बाट एक-एकजना सङ्क्रमित भएका छन्।
त्यसैगरी उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालको आइसोलेशन वार्डमा उपचाररत् तीनजना बिरामीको शरीरमा पनि कोरोना सङ्क्रमण पाइएको छ। यी तीनजनामध्ये दुईजना पुरुष र एकजना महिला छन्। तीनैजना सिलगढ़ी महकुमा क्षेत्रका हुन्।
अर्कोतिर बाघडुग्रा हवाईअड्डामा कार्यरत् एकजना सीआईएसएफ जवान पनि कोरोना सङ्क्रमित बनेका छन्। जानकारीका अनुसार ती जवान राजस्थानमा आएका थिए।