दार्जीलिङ, २० जूनः दार्जीलिङ डेमोक्रेटिक फोरम (डीडीएफ)-ले आउँदो विधानसभा चुनाउमा आफ्नै उम्मेदवार उठाउने घोषणा गरेको छ।
डीडीएफको घोषणाका अनुसार यसले पहाड़का तीनैवटा विधानसभा आसन दार्जीलिङ, खरसाङ र कालेबुङबाट आफ्नो उम्मेदवार उठाउनेछ।
यति मात्र होइन हालसम्म एक सामाजिक संस्थाको रूपमा देखापरेको डीडीएफले आजैदेखि चुनाउ प्रचार अभियान शुरू गरेको घोषणा पनि गरेको छ, जसले भारतीय जनता पार्टी र तृणमूल कङ्ग्रेसलगायत अन्य दलसँग जस्तै स्थितिमा पनि गठबन्धन नगर्ने पनि निर्णय लिएको फोरमका मुख्य संयोजक एसपी शर्माले आज जानकारी गराएका छन्।
उनले आज यहाँ एक पत्रकार सम्मेलनको आयोजन गरी दार्जीलिङ डेमोक्रेटिक फोरमलाई राजनैतिक रूप दिइएको बताउँदै यसले आउँदो २०२१ को विधानसभा चुनाउमा दार्जीलिङ पहाड़का तीनवटा आसनबाट आफ्नै उम्मेद्वार खड़ा गर्ने निर्णय लिएको बताए।
“भारतीय जनता पार्टी, तृणमूल कङ्ग्रेसबाट दार्जीलिङ पहाड़का जनताले केही आशा नगर्दा पनि हुन्छ। यसका साथै क्षेत्रीय पार्टीहरूले पनि अहिलेसम्म केवल गोर्खाल्याण्डको भावनात्मक माग लिएर राजनीति गरिरहेका छन्’’, शर्माले थपे, “नगरपालिका चुनाउदेखि विधानसभा चुनाउसम्म गोर्खाल्याण्डको मुद्दा उठाइने गरिन्छ। जुन मुद्दा केवल अनि केवल संसदसित सम्बन्धित छ।’’
यसैले विधानसभा चुनाउमा दार्जीलिङ डेमोक्रेटिक फोरमले छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दालाई आफ्नो चुनावी मुद्दा नबनाउने उनले बताए।
शर्माका अनुसार दार्जीलिङ पहाड़का जनता साथै पहाड़को विकास तथा अन्य कैयौं मुद्दा छन्। यस्तै मुद्दाहरू लिएर डीडीएफ जनतासमक्ष जानेछ।
उनले भने, “अहिले कोरोना सङ्क्रमणकालमा पनि भारतीय जनता पार्टीले बङ्गाल विधानसभा चुनाउका लागि प्रचार शुरू गरिसकेको छ। यसरी नै तृणमूल कङ्ग्रेसले पनि राजनीतिक क्रियाकलापहरूमा एकाएक वृद्धि ल्याइसकेको छ। यी पार्टीहरूले दार्जीलिङ पहाड़मा पनि चुनाउ प्रचार शुरू गरिसकेका छन्।’’
शर्माले भने, “तर दार्जीलिङ पहाड़का जनताले विगत धेरै समयदेखि धेरैवटा चुनाउ देखिसकेका छन् अनि भोगिसकेका छन्। भाजपा र तृणमूल कङ्ग्रेसले २०२१-मा चुनाउमा भाजपा वा तृणमूल कङ्ग्रेस पार्टीको जीत भए, दार्जीलिङ पहाड़को मुद्दाको छिनोफानो हुन्छ भन्ने दाबी गरिरहेका छन्। यदि यो मुद्दा छुट्टै राज्य हो भने यसको छिनाफाना हुने ठाउँ नै संसद हो र विधानसभा चुनाउमा गोर्खाल्याण्डको मुद्दा उठाएर कुनै फाइदा हुनेछैन।‘’
अर्कोतिर प्रत्येक चुनाउमा नै गोर्खाल्याण्डको मुद्दा उठाएर जनताको भावनासित खेल्ने काम भइरहेको एसपी शर्माले बताउँदै फोरमले त्यसै पुरानो राजनीतिक प्रथालाई अघि बढ़ाउन नचाहेको पनि खुलाए।
“गोर्खाल्याण्डमाथि काम गर्ने जिम्मेवारी जनताले २०२४-सम्मका लागि राजु बिष्ट र भाजपालाई दिइसकेका छन्। तर अब यसप्रकारको भावनात्मक मुद्दालाई अघि ल्याएर जनतालाई भ्रममा हाल्ने कार्य हुन नदिन दार्जीलिङ डेमोक्रेटिक फोरम अघि आइसकेको छ र यसले जनतालाई भ्रमबाट जोगाउने काम गर्नेछ’’, उनले भने।
शर्माको दाबीका अनुसार दार्जीलिङ डेमोक्रेटिक फोरम सचेत युवाहरूको जमात हो। यसैले डीडीएफले पहाड़का एउटै पनि क्षेत्रीय पार्टीलाई सहयोग गर्ने अवस्था छैन।
“हालसम्म अनुभवी राजनीतिक नेताहरूले गरेका प्रत्येक काम नै उपलब्धिहीन छ। गोलपोष्ट कहाँ छ भन्ने थाहै नभएहरूलाई मैदानमा फुटबल खेल्ने मौका दिइरहेका छौं, यसैले अब उनीहरूलाई नै फेरि सघाउने कुरा आउँदैन’’, शर्माले थपे, “अब नयाँ सचेत जमातलाई नै सहयोग प्रदान गर्नुपर्छ।
अर्कोतिर एक प्रश्नको उत्तरमा एसपी शर्माले प्रचारको माध्यम डिजिटल हुने बताएका छन्।