मुख्यमन्त्रीद्वारा मृतकका परिवारलाई ५-५ लाख तथा घाइतेहरूलाई ५०-५० हजार अनुग्रह राशि प्रदान

0
954

गान्तोक, २० जूनः राज्यका मुख्यमन्त्री पीएस गोलेले आज (शनिवार) बिहान पश्चिम सिक्किमको गेलिङ-जुम १० माइलबीच भएको वाहन दुर्घटनामा परी ज्यान गुमाउने तीनजनाका परिवारलाई ५-५ लाख रुपियाँको अनुग्रह राशि प्रदान गरेका छन्।

यसका साथै यस दुर्घटनामा परी गम्भीर घाइते भएका दुईजनालाई ५०-५० हजार रुपियाँ दिएका छन्।

यस भीषण दुर्घटनामा शोक व्यक्त गर्दै मुख्यमन्त्रीले मृतकका परिवारप्रति गहिरो समवेदना प्रकट गर्नका साथै घाइतेद्वयको शीघ्र स्वास्थलाभको कामना गरेका छन्।

उल्लेखनीय छ, आज देन्तामबाट जोरथाङतर्फ गइरहेको एसके ०२ जे ०३४८ नम्बरको यात्रीवाहक म्याक्स गाड़ी पश्चिम सिक्किमको गेलिङ-जुम १० माइलबीच दुर्घटना भएको थियो।

बिहान करिब १० बजे भएको यस वाहन दुर्घटनामा परी देन्तामनिवासी टीका माया सुब्बा र विष्णु छेत्री तथा श्रीबदम इङ्लाहाङ सुब्बाको घटनास्थलमै बीभत्स मृत्यु भएको छ भने वाहनका चालक रोशन प्रधान र अर्का यात्रु नरमाया सुब्बा गम्भीर घाइते भएका छन्।

जानकारीका अनुसार वाहनमा चालकसहित पाँचजना सवार थिए।

घाइते नरमाया सुब्बा अहिले नाम्ची अस्पतालमा तथा रोशन प्रधान गान्तोकस्थित मणिपाल अस्पतालमा उपचाररत् छन्। यसैबीच, आज मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ मणिपाल अस्पतालमा पुगेर त्यहाँ उपचाररत् रोशन प्रधानको स्वस्थ अवस्थाबारे जानकारी लिएका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here