प्रा. वासुदेव पुलामी
सञ्जीव छेत्रीका कथाहरू आजभन्दा एकदशक अघि नै चर्चामा आएका हुन्। कथा विधामा नै उनले पूर्ण राई स्मृति पुरस्कार कालेबुङबाट प्राप्त गरेका छन्। तर उनका कथाको सङ्ग्रह साँचो जस्तै कथाहरू (सन् २०१४) भने डेढ़ दशकपछि मात्रै देखापरे। यसभन्दा अघि तरल मुटुहरू (गजल सङ्ग्रह, सन् २००१) संयुक्त रूपमा सन्तोष गुप्तासित मिलेर प्रकाशित गरेका हुन्। उनी एकजना राम्रा गजलकार पनि हुन्। कथाकार सञ्जीव छेत्रीले धेरै समय लगाएर थोरै कथा लेखेका छन्। जतासुकै जेसुकै लेखेका छैनन्। आज हाम्रा हात हातमा परेका छन् पन्ध्रवटा कथाहरूका सङ्ग्रह साँचो जस्तै कथाहरू ।
कथालाई एउटा पाठको रूपमा हेर्दा प्रत्येक कथा एउटा सङ्कथन हो। सङकथनका रूपमा कथा आफैमा एउटा भाषिक सम्प्रेषण हो, जो सन्देशयुक्त पाठका रूपमा संरचित र सङ्गठित हुन्छ। यसले मुख्यत: पाठका रूपमा सामाजिक, राजनीतिक, आर्थिक, सांस्कृतिक आदि सन्देशहरू कतै न कतै भनेकै हुन्छ। कथा आफैमा वाक्यहरूका पुञ्ज पनि हो। कथामा कथा भन्ने कथक र लेखक दुई भिन्न प्राणी हुन्। त्यसरी नै कथा सुन्ने पाठक र वास्तविक पाठक पनि भिन्ना भिन्नै हुन्। कथाभित्र विचरण गर्ने पात्र-पात्राहरू यसैले वास्तविक लेखक र वास्तविक पाठक भन्दा बेग्लै हुन्छन्। इतिवृत्तको सम्प्रेषण सिद्धान्तले वास्तविक लेखक र वास्तविक पाठकलाई गौण ठानेर कथालाई मात्र मुख्य मानेका छन्। कथाभित्र सम्पुटित घटनाहरू, समयहरू, स्थानहरू आफ्नै किसिममा भए तापनि त्यसले पाठकलाई दिने पाठभित्रका स्थान र समयहरू सार्वजानिन र सार्वाकालिक भने हुन्छन्। त्यसैले गर्दा कतिपय कथा वा आख्यान एउटै समयमा मात्रै नबाँचेर चिरकालसम्म पनि बाँचेका हुन्छन्। यसैले गर्दा ती पात्र-पात्राहरू पनि चिरकालसम्म बाँचिरहन्छन्।
कथाकार सञ्जीव छेत्रीले आफ्ना कथाहरूलाई ‘साँचोजस्तै’ भन्दै कुनै समय वा कालसापेक्ष वा स्थानसापेक्ष घटना शृङ्खलाहरूका इतिवृत्तलाई नै ‘कथाहरू’ पनि भनेर जोडेका छन्। घटनाहरूको इतिवृत्तको अनुकरणको पनि अनुकरण भनेजस्तै गरी पाठकहरूलाई नै जिम्मा लगाएका छन् शीर्षकबाटै कथाकारले आफ्ना कथाहरू। जसरी हेयडेन व्हाइटले भनेका छन्, साँचो लाग्ने इतिहासमा पनि कहिले कहीँ इतिवृत्त हुन्छन् नै, त्यसरी नै आख्यानको इतिवृत्तमा कहिले कहीँ साँचो इतिहासका कुराहरू आइनै रहेका हुन्छन् (न्यारेटिभ्स, पल कोब्ले, सन् २०००)। त्यसैले ‘साँचोजस्तै कथाहरू’ भित्रका “साँचोजस्तै’-ले समसामयिक घटना शृङ्खलाका इतिवृत्तहरूलाई समातेर कथाहरू भन्न कथाकार अघि आएका हुन् कि भन्ने सङ्केत यसबाट थाहा पाइन्छ। त्यसैले समकालीन समय चेतलाई सङ्ग्रहभित्रका कथाहरूले राम्ररी पक्रिराखेका छन्।
कथाकार सञ्जीव छेत्रीका कथामा समकालीन नेपाली कथाले बोकेका स्वरहरू छन्। उनका कथाहरूबारे लेग्रो तानेर व्याख्या गरी नरहेर केही बुँदामा भन्न पर्दा कथामा निम्न कुराहरू भेटाउलान् पाठकहरूले। अथवा अरू नै केही पनि भेटाउलान् अझ सचेत पाठकहरूले। कथाकारका कथाभित्रका कथ्यहरूका सुत्रहरू समातेर भन्न पर्दा यस्ता देखियोः-
• पारिवारिक विजीगिषा र जिजीविषाका केन्द्रहरू जस्तै, सन्तान पीडा, लोग्नेस्वास्नी माझको प्रेम, शङ्का, भय, रोगग्रस्त जीवन, वेश्या प्रेम, उपभोक्तावादी आर्थिक सङ्कटले परिवर्तित जीवनशैली र परिवारमा पारेको प्रभाव, परिवारको आन्तरिकद्वन्द्व, नैतिक-अनैतिक सम्बन्धको विस्मय, वृद्धावस्थाको एकाकीपन, यौनको आशक्ति, पारिवारिक विसङ्गति, बेरोजगारको प्रश्न, ग्रामीण जनजीवनको सौम्यता आदि। आजको मानिस कुनै न कुनै केन्दबाट आक्रान्त र भयावह भई बाँच्नुपरेको स्थितिहरूका गतिशील चरित्रहरू पाइन्छन्।
• कथानक घटनाप्रधान र चरित्रप्रधान दुवै किसिमका भेटाउन सक्छन् पाठकहरूले। चरित्र भन्नाले पात्रपात्राहरूले भोग्ने मनस्थिति हुन्। कतिपय कथाको कथानक मनोविश्लेषण पट्टि फर्किएको छ। तर मनोविश्लेषण गर्नु कथाकारको अभीष्ट होइन कि लाग्छ। पात्रहरूमा पाइने आन्तरिक र बाह्य द्वन्द्वको समायोजन कथामा भेट्नेछन् पाठकहरू थुप्रै ठाउँमा। त्यहाँ पुगेर रमाउने छन् पाठकहरू। कथाकारमा आन्तरिक द्वन्द्वलाई देखाउन स्वाभाविक घटनाहरू बटुलेका लाग्छन्।
• पात्रहरू स्थानिक भएरै भेटेका/देखेका लाग्छन्। हाम्रै नाक नक्सा मिल्ने चरित्रहरू। पात्रहरूका व्यक्तिवाचक बोलीहरूले हाम्रा समाज-सांस्कृतिक सन्दर्भतिर इङ्गित गरेका छन्। दार्जिलिङीय आञ्चलिक भाषालाई पनि टिपेर कथाभित्र घुसाउने प्रयत्न छ कथाकारको। यिनका कथाका पात्र-पात्राहरूले बोल्ने भाषामा नै कथा लुकेको हुन्छ। सोझो र सपाट किसिमका भाषाभन्दा तीव्र व्यङ्गोक्तिमूलक आशय भएका यिनका भाषाले पाठकलाई तानिराख्छन्। कथाका पङ्क्तिहरू दोहोऱ्याउन कर लगाउँछन्।
• पात्रहरूलाई कथाकारले आफ्नो विचारको भरिया मात्रै बन्न दिएका छैनन्। भोग-चलन गर्न दिएका छन्। मोजमस्ती गर्न पनि दिएका छन्। नैतिक/अनैतिक, राम्रा/नराम्रा, ठीक/बेठिक, असल/खराब जस्ता द्विचरविरोधी पाटाबाट समाजलाई हेरेका छन्। अर्थात् पात्रहरूलाई समाजबाहिर धेरै पर परसम्म पुऱ्याएर हेरेका छन्। पात्रहरूलाई धेरै परसम्म पुग्न दिएका छन्। कथाकारले सक्दो सामाजिक चुनौतीलाई बेहोर्न खोजेको देखिन्छ यहाँ। तर पात्रपात्रहरूलाई माया गर्छन् कथाकार र फर्काइल्याएका छन् समाजतिरै। समाजमनोविज्ञानतिर पनि हेर्न लगाउँछन् यिनका कथाहरूले। समाजका मान्यता, मानिसले बाँच्ने नियति, परिस्थितिले जन्माएका अवसादजस्ता विषयलाई खुबै तटस्थ बसेर हेरेका छन्। पाठकहरूले त्यसलाई कसरी हेर्लान्। उनीहरू माथि नै जिम्मा लगाएका छन् कथाकारले एकदुई कथाको अन्त्य गराइबाट।
• समग्रमा भन्नपर्दा साँचो जस्तै कथाहरूले जीवनको कुरूप भन्दा कुरूपतालाई पनि सकारात्मक र आशावादी भएर हेरेका छन्। त्यसलाई केलाएका पनि छन्। जीवनलाई भत्किएका पाटाहरूबाट देखाउन कथाकार रमाएको लाग्छन्। आजका समसामयिक उपभोक्तावादी संस्कृतिद्वारा आक्रान्त जीवन, परिवार, समाज, जाति आदिको जटिलतालाई मनस्तात्विक माध्यमबाट मानिसको अन्तर्द्वन्द्वहरूलाई पनि खुबै राम्ररी छाम्न पुगेका छन् कथाकार।
२.कथाकार सञ्जीव छेत्रीका कथाहरूमा कथनशैली
कथाशिल्पी सञ्जीवको कथालेखनको सीप कथनपद्धत्तिमा र भाषिक बुनोटको रोचक संरचनामा छ। कुनै सामान्य घटनावलीलाई कथामा रूपान्तरण गर्नु कथाकारको सीप नै हो। सूत्रात्मक र व्यङ्गोक्तिमूलक वाक्यले पाठकलाई घरी घरी पढ्न लगाउँछ, त्यसभित्र गुम्फित कथा खोज्न लगाउँछ। वास्तवमा सफल कथाकारको कथालेखनको सीप भनेकै त्यहीँ हो। नत्र त कथाभित्रको विषय वस्तु त कुनै समयमा घटेका घटना वा घट्न सक्ने सम्भावनाका अवकाशहरू मात्र न हो। यसैले भाषिक बुनोटमा उनी सचेत छन्। कथाभित्रका भाषिक संरचनाका माध्यम कथा शुरू गर्दा उनी रोचक पाराले उठान गर्छन्। उनका कथाहरूभित्रका केही दृष्टान्त यसप्रकार छन्:-
१. भन्दैन थ्यो ऊ तर ससाना समस्या कसैलाई। मलाई समेत। ससाना समस्या नभन्नेले ठुल्ठुला पनि लुकाउँदैन थियो भन्न सकिन्न। भन्दैन नै थियो।
२. जिन्दगीमा कहिल्यै कविता लेखेको चाल नपाएको कवीन्द्र र हेर्नु बक्सिङ अनि खेल्नु चाहिँ क्रिकेट मनपराउने सङ्गीतले आउँछौ भनेकाले नवराज शनिवारको दिन बिहानैदेखि घरमा नै थियो। (कालो ब्याग बोक्ने मान्छेको कथा)
३. खिडकीमा उभेर तलतिर हेर्न थाल्छु। मैले धेरै पहिले रोपेका दुईवटा गुलाफका बोट अझ छन् आँगनको डिलमा। एउटा फुलेर हाँसिरहेको। अर्को फुल्न नसकेको। (भन्न नमिल्ने कथा, पृ.७१)
४. फेरि भेट्यौ। भेट्दा बोल्यो फेरि।
फेरि पनि भेट्यो। बोल्यो फेरि पनि। भेटिरह्यो। बोलचाल भइरह्यो।
५. सङ्गीतको पहिरन हेऱ्यो। चिटिक्क। निकै महँगो कपडा। जुत्ता, घडी टिलिक्क। कपाल सपाक्क। कोट छपक्क। कवीन्द्र उस्तै, अनुहार धपक्क।
३.अन्तमा
कथाकार सञ्जीव छेत्रीका कथामा कथानकका सूत्रहरू भाषाको अप्रत्यक्ष र व्यङ्ग्योक्तिमूलक वाक्यांशहरूमा लुकेको हुन्छ। यिनका कथा पढ्दा यस्ता भाषिक कटाक्षहरूलाई नियालेर हेरिएन भने कथा पढ्न पाठकलाई स्वाद आउँदैनन्। तसर्थ भाषिक संरचनामा यिनले जानी जानी यसो गरिएको हो भन्ने कुरो माथि पनि चर्चा गरिएकै छ। कथाकार सञ्जीव छेत्रीले कथालाई यसरी भन्नमा नै रूचाएको अनुभव पाठकहरूले गर्ने नै छन्। कहिले कहीँ चाहिँ यिनका कथा पढ्दै जाँदा कथाकार सञ्जय बिष्टको सम्झना पनि आउँछ। तर लेखनमा यिनको मौलिक सीप छँदैछ। यसपटक कथा लेखनमा आइपुगेका कथाकार सञ्जीव छेत्रीका कथाहरूले भारतेली नेपाली कथाहरूका लहरमा एउटा आफ्ना छुट्टै अनुहार बनाएरै आएका छन्। साँचोजस्तै कथाहरू शुरूमै भरपर्दा कथाहरू दिएका छन्।