-समीर लुगुन
(एक)
कहाँ चल्दो रहेछ र आफ्नो मन-मर्जीबाट
जिन्दगी चलिरहेछ एउटा भित्ताको घड़ीबाट।
स्वीकारेन अँध्यारो, उज्यालो खोज्यो पखेटा डढ़ायो
पुतलीले टाढ़ै बस्नु थियो बलेको टुकीबाट।
खुट्टा तानेर लडाउनेहरू मलाई त्यहीनेर पर्खन्थे
काँचको सपना बोकेर हिँड्थे जुन घुम्तीबाट।
मर्दिन जस्तै गर्नेहरूले देख्दैनन् कि क्या हो!
प्रत्येक दिन फूलहरू झर्दैछन् डाली-डालीबाट।
जब जिन्दगी बुझ्ने भएँ, जिउन कठिन भयो
जिन्दगी जिउन सिक्नुछ अब सानो नानीबाट।
(दुई)
दीयो बाल्नु र दीयो जोगाउनुमा धेरै अन्तर थियो
छेवैमा दीयो निभ्नुको कारण हुरीको असर थियो।
आज पनि मन्दिर गयो ईश्वरको दर्शन गर्नलाई
बिर्सियो आमा! नत्र उसको घरमा नै ईश्वर थियो।
कोलाहल भेटेँ, भीड़ भेटेँ तर मान्छेहरू भेटिनँ
कसरी भनूँ तिमीलाई प्रिये! त्यो तिम्रो शहर थियो।
सागर खोज्न हिँड्यो प्रत्येक नदीलाई लत्याएर
जुन सागर ती नदीहरूले बनिएको सागर थियो।
मलाई लाटा बनाउनु अघि सोच्नु’थ्यो तिमीले
मसँग तिमीलाई सुनाउनु पर्ने एउटा खबर थियो।
समीर लुगुन जि को एकाक्षारि काफिया भएको गजल निक्कै वजनिलो लाग्यो । बधाई छ सधै पाठक बनिरहन पाउँ….
जति पल्ट वाह ! वाह ! भन्दा पनि घित नमर्ने गजल ।समीर भाइ यस भेकको एक अब्बल गजल लेखक प्रमाणित भइसकेको कुरा हैन भन्दा मिल्दैन । बधाई छ गजलकार भाइलाई , धन्यवाद छ शैलेन्द्रलाई ।