सिलगढ़ी, २१ जूनः सिलगढ़ीका दुइ पत्रकार पनि कोरोना सङ्क्रमित भएको पुष्टि भएको छ।
जानकारीका अनुसार केही दिनअघि सिलगढ़ी नगरनिगम प्रशासिक बोर्डका अध्यक्ष तथा सिलगढ़ी विधानसभा समष्टिका विधायक अशोक भट्टाचार्य कोरोना सङ्क्रमित रहेको पुष्टि भएपछि उनका सम्पर्कमा आएका शहरका केही पत्रकारको १९ जूनका दिन रालको नमूना सङ्ग्रह गरी जाँचका लागि पठाइएको थियो।
आज ती पत्रकारहरूका टेस्ट रिपोर्ट आएको छ, जसमध्ये दुइजनाको शरीरमा कोरोना सङ्क्रमण रहेको बताइएको छ भने बाँकी अन्यको रिपोर्ट नेगिटिभ आएको छ।
अर्कोतिर, सिलगढ़ी नगरनिगमको प्रशासनिक बोर्डका सदस्य मुकुल सेनगुप्त पनि कोरोना सङ्क्रमित रहेको पुष्टि भएको छ। केही दिनअघि अस्वस्थ बनेपछि उनलाई प्रधाननगरस्थित एक नर्सिङ होममा भर्ना गरिएको थियो। त्यसपछि उनको पनि रालको नमूना सङ्ग्रह गरी जाँचका लागि पठाइएको थियो भने उनको पनि आज टेस्ट रिपोर्ट पोजिटिभ आएको बताइएको छ।
अर्कोतिर, उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालकी एक नर्स र एक कर्मचारीका शरीरमा पनि कोरोना सङ्क्रमण देखिएको बङ्ग्ला दैनिक उत्तरबङ्ग संवादको अनलाइन डेक्सले बताएको छ।
यसैगरी, सिलगढ़ी नगरनिगम क्षेत्रमा हिजो रातिदेखि आज बेलुकीसम्म करीब दुइ दर्जन मानिस कोरोना सङ्क्रमित बनेको बताइएको छ।