पीएस गोले र भाइचुङ भोटियाबीच बैठक, दुवैले भने – हाम्रो लक्ष्य सत्ता परिवर्तन

0
2690
बैठकपछि पत्रकारहरूलाई सम्बोधन गर्दै भाइचुङ भोटिया र पीएस गोले।

गान्तोक, 15 जनवरीः सिक्किमको राजनीतिमा अचानक नयाँ मोड़ आएको छ। राज्यको प्रमुख विपक्षी पार्टी सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) र अर्को विपक्षी हाम्रो सिक्किम पार्टी (एचएसपी)-बीच गठबन्धनको सम्भावना बढ़ेको छ। एसकेएम अध्यक्ष पीएस गोले र एचएसपीका वरिष्ठ उपाध्यक्ष भाइचुङ भोटियाबीच मङ्गलवार राजधानीस्थित टाशी डिलेक होटलको 103 नम्बर कोठामा वन-टु-वन बैठक भएपछि राज्यको राजनीतिमा नयाँ मोड़ देखिएको हो।

प्रायः 50 मिनट दुई नेताले कुराकानी गरे। बैठकपछि पत्रकारहरूलाई दुवैले सम्बोधन गरे। एसकेएम अध्यक्ष पीएस गोलेले पत्रकारहरूसमक्ष भने, “बैठक सफल भएको छ। हामी दुईले राज्यको अहिलेको परिस्थितिलाई लिएर प्रायः 50 मिनट बातचीत गऱ्यौं। हामी गठबन्धनको प्रक्रियामा छौं। आज हामी दुईबीच मात्र वार्ता भएकोले आज नै केही निर्णय लिइएको छैन, तर 31 जनवरीको दिन दुवै पार्टीका केन्द्रिय कार्यकारी समितिका सदस्यहरूलाई लिएर एउटा बैठक हुनेछ। त्यस बैठकमा गठबन्धनबारे अन्तिम निर्णय लिइनेछ। आजको वार्ता प्रारम्भिक चरणमै छ।”

एचएसपीका वरिष्ठ उपाध्यक्ष भाइचुङ भोटियाले पनि भने, “बैठक सफल भएको छ। आज नै गठबन्धनलाई लिएर कुनै निर्णय भएन। तर, भविष्यमा गठबन्धन हुने प्रबल सम्भावना छ। 31 जनवरीमा अन्तिम निर्णय हुनेछ।”

गठबन्धन भइहालेको खण्डमा कुन पार्टीले मुख्यमन्त्रीको दाबेदारी गर्नेछ भनी प्रश्न गर्दा पीएस गोलेले भने, “हाम्रो लक्ष्य को मुख्यमन्त्री बन्छ भन्ने होइन। अहिलेको लक्ष्य भनेको सत्ता परिवर्तनको हो। हामी सत्ता परिवर्तनको पक्षमा छौं। यो परिवर्तन भयो भने मुख्यमन्त्रीको निर्णय विधायक दलले गर्नेछ।” यही प्रश्नको जवाफ दिँदै भाइचुङ भोटियाले भने, “अहिले मुख्यमन्त्रीको कुरै आउँदैन। हामी सबैको लक्ष्य एउटै हो। हामी लक्ष्यमा अघि बढ्दैछौं।”

आगामी 31 जनवरीसम्म प्रजातान्त्रिक प्रक्रियाअनुसार एचएसपीका अध्यक्ष चयन गरिसक्ने पनि उनले जानकारी दिए। अन्य विपक्षी पार्टीसँगको गठबन्धनको सम्भावनालाई लिएर प्रश्न गर्दा गोलेले भने, “हामी एसडीएफलाई सत्ताच्यूत गराउन सबैसँग गठबन्धन गर्न तयार छौं। सबैका लागि हामीले गठबन्धनको ढोका खुल्ला राखेका छौं। सिक्किम सङ्ग्राम परिषद्सँगको गठबन्धनबारे पनि चिट्ठीमार्फत अवगत गराइसकिएको छ। हामीलाई विश्वास छ, भविष्यमा विपक्षी एकता बन्नेछ।”

होटलको रूमभित्र दुई नेताबीच बैठक भइरहँदा दुवै दलका अन्य नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here