दार्जीलिङ, २४ जूनः जीटीएले आउँदो १ जुलाईदेखि आफ्नो क्षेत्रको पर्यटन उद्योगलाई सशर्त पूर्ण रूपले खोल्ने घोषणा गरेको छ।
जीटीए, जिल्ला प्रशासन, पुलिस प्रशासन, होटल मालिकवर्ग, गाड़ी मालिक वा चालकका साथै होटल कर्मचारीहरूमाझ भएको एक बैठकमा नै यस्तो निर्णय भएको जीटीएको पर्यटन विभागका सहनिर्देशक सुरज शर्माले जानकारी गराए।
उनका अनुसार बैठकमा गोरामुमो दार्जीलिङ शाखा अध्यक्ष अजय एड्वर्डका साथै अन्य पनि उपस्थित थिए।
शर्माले बैठकको निर्णयबारे जानकारी गराउँदै भने, “केन्द्र सरकारको दिशानिर्देशलाई पूर्णरूपले पालन गर्दै जीटीएले आउँदो १ जुलाईदेखि आफ्नो अधीनमा रहेका पर्यटन स्थलहरू जस्तै गङ्गामाया पार्क, रकगार्डन, जामुने, बतासे पनि खोल्नेछ।‘’
यसका साथै दार्जीलिङ पहाड़का होटल, होमस्टे आदि पनि १ जुलाईदेखि नै खुल्ला रहने उनले बताए। किनभने, केन्द्र सरकारको निर्देशमा देशमा अनलक शुरू भइसकेको छ।
“यसै अनलकमाझ गत ८ जूनदेखि होटल तथा पर्यटन उद्योगलाई पनि खुल्ला गर्ने केन्द्र सरकारको घोषणा थियो। तरै पनि जीटीएले लगभग १ महीनापछि मात्रै दार्जीलिङ पहाड़का होटल, होमस्टे साथै पर्यटन स्थलहरू खोल्ने निर्णय लिएको हो’’, शर्माले थपे, “तर दार्जीलिङ पहाड़ पस्दा पर्यटकहरूको थर्मल स्क्रिनिङ हुनेछ, जसका लागि सिमलबारी, रम्फू र कालिझोड़ामा सबै पर्यटकको थर्मल स्क्रिनिङ गरिनेछ।’’
यसका साथै दार्जीलिङ पहाड़ आउने पर्यटकहरूले फिटनेस सर्टिफिकेट पनि ल्याएको हुनपर्ने उनले बताए।
यति मात्रै होइन, पहाड़का प्रत्येक होटलले पनि आफ्नो होटलमा आउनेहरूका लागि पनि थर्मल गन राख्नुपर्ने तथा पर्यटकहरूले होटलको रूम छोड़ेपछि त्यस रूमलाई २४ घण्टासम्म सेनिटाइज गरेर रित्तो राख्नपर्नु बताए।
यसरी नै दार्जीलिङ आउने पर्यटकहरूले आउँदा अनि जाँदा आफ्नै गाड़ी प्रयोगमा ल्याएको अझै असल हुने शर्माको भनाइ छ, ताकि दार्जीलिङ आउने पर्यटकहरू आफैले पनि सुरक्षित रहेको अनुभव गर्न सकुन्।
एक प्रश्नको उत्तरमा शर्माले भने, “आगामी १ जुलाईदेखि यहाँका पर्यटन स्थलहरू खोलिन थालेपछि पर्यटकहरू त्यहाँ जानेछन्। पर्यटकहरूको भ्रमणपछि प्रत्येक समय नै ती पर्यटन स्थलहरूमा सेनिटाइजको कार्यक्रम पनि चल्नेछ।‘’
यदि होमस्टेहरूमा पर्यटकहरू आउँदा त्यहाँका बासिन्दाहरूले विरोध जनाए? भन्ने प्रश्न गर्दा उनले यसका लागि प्रथमतः जनतालाई सचेत गराउने कार्यक्रमहरू गर्ने योजना बनाइएको पनि बताए।
उनका अनुसार दार्जीलिङ पहाड़ पर्यटनकै लागि प्रसिद्ध छ र यहाँका ६०-७० प्रतिशत जनता पर्यटनसित नै सम्बन्धित छन्। “यसैले कोरोनाको साटो धेरै मानिस बेरोजगारीको कारण भोकले नै मर्ने अवस्थामा पुग्नेछन्। यसैकारण अब जनताले कोरोनासित लड्दै जिउन सिक्नुपर्छ’’, शर्माले थपे, “जसका लागि आफ्नो जीवन शैलीमा केही परिवर्तन ल्याउनैपर्छ।’’