दिल्लीबाट फर्केपछि विनयले भने- म अरूजस्तो कायर नेता होइन, भाजपा र विमलको झूटको मखुण्डो उघार्नेछु

0
1656
दिल्लीबाट फर्केका विनय तामाङले बाघडुग्रा हवाइअड्डामा समर्थकहरूको अभिवादन स्वीकार्दै।

सिलगढ़ी, 8 अक्टोबर : दिल्लीबाट सोमवार अपरान्हमा दार्जीलिङ फर्केका गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन (जीटीए) –का बोर्ड अव् एड्मिनिस्टेटर (बीओए) अध्यक्ष एवं गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) दोस्रो खेमाका अध्यक्ष विनय तामाङले आफू अरू नेताहरूजस्तो कायर नेता नरहेको भन्दै भाजपा र विमल गुरुङको झूटको नकाब (मखुण्डो) उघार्ने दाबी गरेका छन्।
सोमवार एक विज्ञप्ति जारी गरी विनयले यस्तो दाबी गरेका हुन्। विज्ञप्तिमा उनले लेखेका छन्, म अन्य नेताहरूजस्तो कायर मान्छे होइन। म चाँड़ै फेरि दिल्ली आउनेछु भन्ने सन्देश पनि ती युवाहरूलाई दिन चाहन्छु, किनभने म अरूजस्तो कायर नेता कदापि होइन। म जेल जान तयार छु, तर भाजपा र विमल गुरुङको झूटको नकाब अवश्यै उघार्नेछु।’’
पैसा दिएर भीड़ जुटाउने सम्पति मसित छैन’’
विनय तामाङले विज्ञप्तिमा आज उनलाई स्वागत गर्न बाघडुग्रामा जुटेका जनताको बाक्लो भीड़लाई साँचो हृदयले माया गर्ने मानिसहरूको भीड़ बताएका छन्। उनले भनेका छन्,  आज बाघडुग्रामा स्वागत गर्न भेला भएका जनभीड़ पहिलाका नेताहरूले जस्तो पैसा दिएर भेला गरेको भीड़ होइन। पहिलाका नेताहरूमा जस्तो जनतालाई बाँड़्ने सम्पति मसित छैन। किनभने उनीहरू प्रशासनिक र राजनीतिक दुवै ठाउँमा व्यापक भ्रष्टाचार गरी कुबेर बनेका थिए। जनताको सम्पति व्यापक लुटेर त्यसैबाट आंशिक रूपमा जनतालाई बाँड़ेर उनीहरूले भीड़ जुटाउने गर्थे, तर मेरोमा त्यसरी बाँड़्ने सम्पति छैन। किनभने म उनीहरूजस्तो भ्रष्टाचारमा लिप्त छुइनँ।’’
पहाड़को विकास र व्यवस्थापनका लागि लागिरहने दाबी
विज्ञप्तिमा आफू कायर र भ्रष्टाचारी नेता नरहेको पटक पटक दाबी गर्ने विनयले भनेका छन्, म जनतालाई षड़यन्त्रको शिकार बनाएर जनताको पछि लुकेर होइन, तर जनताको अघिल्लो पङ्क्तिमा बसेर पहाड़का विकास, व्यवस्थापन र उज्ज्वल भविष्यका लागि डटिरहने सम्पूर्ण पहाड़वासीलाई वाचा गरेको छु। र, त्यसैमा अडिग छु। यसैले जनताले पनि साँचो हृदयले मलाई माया गरेका छन्।’’
भाजपा र विमल गुरुङप्रति विनयको आरोप
विनय तामाङका अनुसार दिल्लीमा उनीहरूको सिद्धान्तलाई नरूचाउने समूहहरू पनि छन् भन्ने बुझेरै उनी दिल्ली गएका थिए। तामाङले विज्ञप्तिमा थप लेखेका छन्, वास्तवमा भाजपाले हामीलाई कसरी ठगिरहेका छन्? कसरी भोट ब्याङ्कको रूपमा मात्र गोर्खाहरूलाई प्रयोग गरिरहेका छन् भन्ने कुरा म हाम्रा मानिसहरूलाई बताउन चाहन्थे, तर मलाई मलाई अनुमति दिइएन।’’
विमल गुरुङ र भाजपाको पोल खोलिने डरले उनलाई दिल्लीका गोर्खाहरूबीच बोल्न वञ्चित गराइएको विनयको विनयको आरोप छ। हाम्रो कार्यक्रमको अनुमति सोही दिनमात्र किन रद्द गरियो? के भाजपा हामीसित र सत्य कुरा सार्वजनिक हुन्छ भनेर डराएको हो?’’,  उनले प्रश्न गर्दै भनेका छन्, यस्ता प्रश्नहरू अहिले उत्पन्न भएका छन्।’’
विरोध गर्नेहरूको अनुहारमा कालो नकाब’’
उनले आइतवार विरोध गर्नेहरूले अनुहार डाकेर विरोध गरेको पनि बताएका छन्। हालमा दिल्ली बसोबास गरिरहेका दार्जीलिङकै केही युवाहरूले अनुहारमा कालो नकाब लगाएर र हातमा कालो झण्डा बोकेर मविरुद्ध प्रदर्शन गर्न बसिरहेका थिए’’, विज्ञप्तिमा तामाङले थप लेखेका छन्,  म उनीहरूलाई सत्य कुरा बताउन चाहन्थे, तर भाजपा सरकारले मलाई यसो गर्ने अनुमति दिएन।’’ उनले विज्ञप्तिमा थप भनेका छन्, म ती युवाहरूलाई अपील गर्न चाहन्छु, मेरो विरोध प्रदर्शन गर्नुका लागि अनुहारमा कालो नकाब लगाएर आतङ्कवादीजस्तो हुने कुनै आवश्यकता छैन। यदि उनीहरूलाई कुनै कुरा मन परेका छैन भने सोझै सोध्न सक्छन् अथवा गणतान्त्रिक पद्धतिमा विरोध पनि गर्न सक्छन्। तर दुःखको कुरा, विगतका नेताहरूले छोड़िराखेको राजनीतिक हत्या ढुङ्गा हान्ने संस्कार आदिले यस प्रकारको प्रदर्शनीको संस्कार अझै पनि उब्जाइराखेको छ। म ती प्रदर्शनकारीहरूलाई बताउन चाहन्छु,  म त्यो नेता हो जसले दार्जीलिङ पहाड़लाई कालो नकाब लगाउने, ढुङ्गा हान्ने, बम र हतियारको प्रदर्शनीहरूदेखि मुक्त बनाउन चाहन्छु। म दार्जीलिङ पहाड़बाट विगतको जस्तो राजनीतिक हत्या-हिंसाको संस्कारलाई जरैबाट उखेल्न चाहन्छु।’’
बाघडुग्रा हवाइअड्डामा विनय तामाङलाई स्वागत गर्न जुटेका समर्थकहरू भीड़।
बाक्लो सङ्ख्या भेला भएका जनताप्रति विनयको आभार
सोमवार बाघडुग्रा विमानस्थलमा बाक्लो सङ्ख्यामा भेला भएका आफ्ना समर्थकहरूप्रति विनय तामाङले आभार प्रकट गरेका छन्। स्वागत गर्न जुटेका ती समर्थकहरूलाई धन्यवाद दिँदै उनले विज्ञप्तिमा लेखेका छन्, आज बाघडुग्रामा मलगायत मेरा सहयोगी साथीहरूलाई स्वागत जनाउन भेला भएका सबैप्रति उनीहरूको माया र सहयोगका लागि हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्न चाहन्छु। दार्जीलिङ पहाड़ र तराई-डुवर्सका गोर्खाहरूले आज बाघडुग्रामा व्यापक रूपमा भेला भई हाम्रो एकता र अखण्डता भङ्ग गर्न चाहनेहरूलाई गतिलो सन्देश दिएका छन्। यसका लागि म सबैलाई हृदयबाटै धन्यवाद भन्न चाहन्छु।’’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here