नगरपालिकाका कर्मचारीहरूअघि विविध समस्या, समाधानका लागि नगरपालिकालाई अल्टिमेटम

0
1256
पत्रकारहरूलाई सम्बोधन गर्दै नगरपालिका कर्मचारी सङ्गठनका पदाधिकारीवर्ग।

दार्जीलिङ, २७ जूनः दार्जीलिङ नगरपालिका कर्मचारी सङ्गठनले कर्मचारीहरूका विविध समस्या समाधानका लागि नगरपालिका प्रशासनलाई आउँदो १० जुलाईसम्मको अल्टिमेटम दिएको छ।

यदि यस अवधिसम्म पनि नगरपालिकाका दैनिक रोजीमा काम गर्ने कर्मचारीहरूका साथै अन्य कर्मचारीहरूले भोग्न परिरहेका विविध समस्याको समाधान गर्ने दिशामा ठोस पहल नभए नगरपालिका कार्यालयअघि धरना प्रदर्शन गर्ने र त्यसपछि अनशन पनि गर्ने सङ्गठनले चेताउनी दिएको छ।

सङ्गठनका संयुक्त सचिव प्रणय शर्माले यसबारे आज यहाँ एक पत्रकार सम्मेलनको आयोजन गरी दार्जीलिङ नगरपालिकाका स्थायी कर्मचारीहरूले वर्ष २०१७ आन्दोलनकालको ३८ दिनको रोजी अनि दैनिक हाजिरामा काम गर्नेहरूले २ महिनाको रोजी नपाएको बताए।

उनले भने, “यस विषयका साथै दार्जीलिङ नगरपालिकामा विगत धेरै वर्षदेखि स्थायी कर्मचारी नियुक्त नगरिएको, स्थायी कर्मचारीको सट्टा दैनिक रोजमा काम गर्नेहरूको मात्रै नियुक्ति गर्ने कार्य भइरहेको अनि दैनिक रोजीमा काम गर्ने कर्मचारीहरूको नियुक्ति गर्दा पनि उनीहरूबाट हजारौं रुपियाँ घुस लिइएको छ।’’

शर्माले ३० नोभेम्बर २०१९-सम्म दार्जीलिङ नगरपालिकामा १०० वटा पद रिक्त रहेको बताउँदै यी पदहरूमा किन नियुक्ति हुँदैन? भन्ने प्रश्‍न गरे।

उनले भने, “यी विषयहरू लिएर सङ्गठनले राज्यकी मुख्यमन्त्रीदेखि जिल्ला प्रशासन अनि सम्बन्धित निकायहरूसमक्ष ज्ञापनहरू चढ़ाइसकेको छ, जसमा सबैपक्षबाट नै सकारात्मक आश्‍वासन पाइएको छ, तर दार्जीलिङ नगरपालिकाका शीर्ष अधिकारीवर्गको हेल्चेक्राइको कारण नै यी समस्याहरू समाधान हुनसकेको छैन।’’

उनले वर्ष २०१८-मा हजारौं पैसा लिएर दैनिक हाजिरामा काम गर्ने कर्मचारीहरू नियुक्त गरिएको आरोप लगाउँदै यसमाथि छानबिन गरी उचित पदक्षेप ग्रहण गर्नुपर्ने पनि माग गरे।

शर्माले थपे, “दार्जीलिङ नगरपालिकाले मासिक ६ हजार रुपियाँमा काम गर्ने दैनिक कर्मचारीहरूलाई नियुक्त गर्नुका सट्टामा नगरपालिकामा नै विगत धेरै वर्षदेखि कार्यरत् अस्थायी कर्मचारीहरूलाई किन स्थायी गराउने कार्य गर्दैन? यदि महिनामा ६ हजार रुपियाँ पाउने कर्मचारीहरूले त्यसभन्दा अधिक रोज पाउने काम पाए, भोलि नै नगरपालिकाको काम छोड्नेछन्। उनीहरूले काम छोड़े दार्जीलिङ कति मैला हुनेछ, त्यसमा स्वयं जनताले पनि ध्यान दिन आवश्यक छ।’’

उनको दाबीका अनुसार एकाबिहानदेखि दार्जीलिङको मैला सफा गर्ने कन्जर्भेन्सी विभागका सफाइकर्मीहरूलाई वर्तमान कोरोनाकालमा गम्बुट, मास्क, ग्लब्स पनि प्रदान गरिएको छैन।

यी सफाइकर्मीहरू चप्पल लगाएर दार्जीलिङलाई सफा गर्न बाध्य बनिरहेको उनको भनाइ छ।

एक प्रश्‍नको उत्तरमा शर्माले भने, “आगामी ९ जुलाईसम्म पनि यी समस्या समाधानको दिशामा ठोस पहल नभए १० जुलाईदेखि नगरपालिका कार्यालयअघि नै धरना प्रदर्शन शुरू गरिनेछ अनि धरना प्रदर्शन गर्दा सामाजिक दूरीको नियमलाई पूर्णरूपले ध्यानमा राखिनेछ।

१५ दिनसम्म चल्ने धरना कार्यक्रमबीच पनि यी समस्याहरूको समाधान नभए रिले अनशन शुरू गरिने योजना बनाइएको सङ्गठनका अध्यक्ष अनुप लामाले बताए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here