एउटा लेखकको अधुरो इच्छा

2
2154

-खुसेन्द्र राई

मैले मेरो बाल्यकाल सम्झिनु पर्दा मेरो गाउँ जुमको समाजलाई कुलुङका आफ्नो अद्वितीय संस्कार-संस्कृति, जनविश्वास, जनबोली, नृत्यगीत, मिथकहरूले  ओतप्रोत पारेको वातावरण पनि सम्झिनुपर्ने हुन्छ। त्यो समय हामी कुलुङहरूको संसार रहस्यमय मात्रै हैन संसारलाई हेर्ने दृष्टिकोण नै अर्कै थियो। त्यस समय डाक्टरको काम बिजुवा वा झाक्री (Shaman)-ले गर्थे।

परिवारका रक्षा, खुशहालीका लागि नागी कुल देवता थिए। रोग, व्याधिका कारण मानमनितो गर्नुपर्ने प्रकृतिमा अनेकौं देवीदेवताहरू थिए। चौपाया (Domestic animal)-को रक्षा गर्ने अर्कै देवता थिए। दोबाटो, चौबाटो, भञ्ज्याङ, देवीथान, देवराली, जङ्गल, पानीपँधेरो, भीरपाखा, खोलानाला, गढ़तीरका सुरक्षा गर्ने  किसिमकिसमका जैविक देवताहरू थिए। तिनीहरू सबैलाई मानमनितो गरेर रिझाइराख्नु पर्ने आवश्यकता थियो।

हाम्रै घरको कुरा गर्छु। हामीले घरमा कुल देवता नागी, मोबो बाहेक गर्ने पूजाआजाहरू थिए– हरिकर्णे, सिद्ध, शिकारी, आइतबारे अनि लिम्बुनी । कुलुङ मिथकअनुसार हरिकर्णे भन्ने डरलाग्दो छौँड़ा थिए, जसले कुलुङ्गेहरूलाई आफ्नो शक्तिले रोगव्याधि थोपेर दुःख दिइरहन्थे। आइताबारे भन्ने जागित्रले गाउँघरमा विशेष केटाकेटीको शरीरमा घाउखटेरा उब्जाएर दुःख दिन्थे, जो परापूर्वकालमा बिजुवा थिए भनिन्छ जसलाई चिलाउनेको रूखमुनि गाड़ेको बौरेका थिए। सिद्ध भन्ने चैं कुनै खानीमा पुरिएर मरेको मान्छेको हंश थियो, जसले मानमनितो नपाए चौपायालाई बिमार पार्ने, मार्ने काम गर्थे।

शिकारी त हाम्रा आदिम बाजे भइगयो। लिम्बुनी बिजुवानी बज्यू थिइन्, जसलाई घरमा पालेको सुङ्गुर काट्दा पूजा अनिवार्य रूपमा गर्नुपर्ने हुन्थ्यो। हरिकर्णे, आइतबारे र सिद्ध देवतालाई एक जोर भालेपोथी कुख्रा र अण्डाले बेलुकी जङ्गलमा पूजा गर्नुपर्ने। आइतबारेलाई चैं आइतबारकै दिन चिलाउने रूखको फेदमा पूजा गर्नुपर्ने।

ती पीड़कहरूलाई पूजा गर्दा पापाले शुरू गर्थे … जदौ परमेश्सुरा, यो अजानको पूजा सुजान गर्दिनु! मनुवा भनेको खाई बिराउने, बोली बिराउने, आँखाको अन्धा, कानको बैरा; तिमी भनेको हिजदेखि मानिलिएको, ठानिलिएको, मान्छेको धनी, चौपायाको धनी, झारजङ्गलको धनी, रूखपातको धनी, खोलानालाको धनी; आज  दिनबार मिलाइकन, चोखोनितो गरिकन, सिन्दुर, गाजल गरिकन, बास्ने भाले चड़ाइकन, अण्डा, फलफूल चड़ाइकन मानमनितो दिएको छु, तिम्रो पिछा परेको छु, तिम्रो काख परेको छु, तिम्रो शरण परेको छु, जदौ परमेश्सुरा रक्खेक्षेमा गर्दिनु!………

गाउँमा अरूले पनि पूजाआजा गर्थे। मेरै मामाको घरमा घरको तालामा छाप्कुदुम भन्ने पूजा गर्थे जुन देवीलाई खुशी राखे सहकाल ल्याउने, रिसाए घरको अन्नबाली, धनदौलत सबै डोकोमा बोकेर अन्तै लान्थे। त्यो पूजा आधा रातमा गर्नुपर्ने हुन्थ्यो अनि पूजा गरेको अरू बाहिरकाले देख्नु हुँदैन थियो। त्यो पूजा गर्ने कोठामा जानु, हल्ला गर्नु सख्त मनाही थियो। ती देवी छोटो कदको गुन्युचोलो, फरिया, ढुङ्ग्रीबुलाकी लाएकी बज्यू हुन्थिन् जसलाई गाउँका धेरैले देखेका थिए।

यसरी हाम्रै वरिपरि अनिर्वचनीय रहस्यहरू थिए। संसार जादुई थियो। दक्षिण अमेरिकाको समाज पनि यस्तै रहस्मय भएको कारण भनिन्छ त्यहाँबाट साहित्यमा जादुई यथार्थवाद (Magic realism) वा अतियथार्थवाद (Surrealism) प्रादुर्भाव भएको थियो। यस्ता रहस्यहरू अरू जातगोष्ठीमा पनि थिए। तर यस्ता रहस्य रोमाञ्चको दुनियाँ रचनात्मक भएर हाम्रो साहित्यमा भने आउन सकेन।

वर्तमानमा, जुमका धर्मान्तरण नभएका कुलुङ राईहरूले अझै पनि अरू पूजाआजा गर्न छोड़े पनि कुल पूजा नागी चैं गर्दै आइरहेका छन्। यहाँ छोटकरीमा कुलुङ भाषीका कुल देवता नागीबारे वैज्ञानिक आधारमा वर्णन गरिन्छ ।

प्रकृति पूजक समूह (Doctrine of Animism)-मध्ये कुलुङहरूले नागी पुज्ने गरेको प्रथालाई सापेक्षवाद (relativism) -को दृष्टिकोणमा ब्रह्माण्डमा रहेको सौर्य मण्डल (Solar System) -लाई पुकार गरिएकोसित तुलना गर्न सकिन्छ।

कुलुङ भाषामा ‘दिरित्ति’ भन्नाले खगोल शास्त्र अनुसारको ब्रह्माण्ड (Universe) र नागी भनेको जम्मा आठरूपी नाग देउताहरू (Ophidiomorphic) रहेको विश्वास गरिन्छ। कुलुङ भाषामा ‘बेल्जाम’ अर्थात् गनार (चिम्फिङ) पौधालाई नाग देउताको आकृतिको रूपमा साल खोङ वा काठको आरीमा नयाँ फलेको कोदोको बियाँ, सतबीउ-पलबीउ र नयाँ अदुवाको बीचमा राखेर पुज्ने गर्छन्, जसलाई कुलुङहरूले ‘पुमोङ’ अर्थात् ‘साँप देव’ भनेर पनि मान्ने गर्दछन्। खगोल शास्त्रमा आठ ब्रह्माण्ड ग्रहसित (Eight Planets) परस्परमा मेल खाने तत्त्व दर्शनका सादृश गुणहरू विद्यमान रहेकोलाई कुलुङ धारणा अनुसार दिरित्ति भन्नाले आकाश गङ्गाअन्तर्गत् सौर्यमण्डल (Universe)-मा नागीलाई पुकार्दा आठवटा दप्सनिङ (सांस्कृतिक भाषा)-ले पुकार गरी नागीरे (Officiant)-को माध्यमद्वारा घरपरिवारको रक्षा र कल्याणार्थ आशिष, बल माग्ने काम गरिन्छ।

शारीरिक यात्राद्वारा हिन्दू धारणाको बोलबम, मानसरोवर तीर्थाटन र मुस्लिम धारणाको हज तीर्थाटानसित मेल खाने कुलुङको मौखिक तीर्थाटन नागी संस्कारको सञ्चालक (Officiant) नागीरेले मौखिक यात्रा (Verbal iitinerary) पद्धतिद्वारा यजमानको चुल्होदेखि पितृथान ‘दाम्फे’ हुँदै दैलो, बलेंसी भएर निस्किएपछि पैतृक किपट महाकुलुङ तर्फको यात्रा तय गर्दछ।

यात्राअवधि ठाउँठाउँमा विश्राम लिँदै पैतृक थलो पुगेपछि अन्तिम गन्तव्य आदिम सृष्टि थलो ‘दिरित्ति’ (Universe)-मा (नागीको देश) तर्पण कार्य समाप्त गरी फर्किआउने काम गर्दछ। शुरूकै मार्गलाई दोहोऱ्याएर फर्किने क्रममा यजमान स्वयंको शारीरिक यात्रा सम्पन्न नरहे पनि नागीरेले स्पष्ट मौखिक आवृतिद्वारा प्रत्यक्ष स्थानहरूको नामलाई दप्सनिङद्वारा उच्चारण गर्दै लक्ष्यमा पुगी यजमानको मनोकाँक्षा सिद्ध गर्ने काम गर्दछ। यस कार्यलाई विभिन्न रूपले आ-आफ्नो ठाउँको चलनचल्ती अनुसार ‘देदाम’ (ठूलो नागी), ‘चाचो’ (सानो नागी) भनेर उधौली वा उभौलीको छेक पारी वार्षिक रूपले सम्पन्न गर्ने गर्दछन्।

यो नितान्त सांस्कृतिक कार्य हुनाले, चलनचल्ती अनुसार द्वैरूपायित सांस्कृतिक भाषा (Diglossic) द्वीरूक्त अर्थात् दोहोरो शब्दहरू (Reduplicative binomial term) प्रयोग गरी सम्मानित भाषिका (Prestige dialect) -को सहायताद्वारा सम्बोधन गर्ने गर्दछ।

यसरी कुलुङ कुल पूजा नागी गर्ने नागीरेको कुलुङ भाषामाथि पकड़ मजबुत हुनुपर्ने भएकोले जो कोही नागीरे हुनु कठिन हुन्छ। त्यसैले नागीरे बिजुवा वा झाक्रीको अरू बिजुवाको भन्दा शक्ति बेसी हुन्छ। र, यो नागीरे बिजुवा मेरो च्याप्जु पूर्णलाल कुलुङ पनि थिए। उनी कति शक्ति सम्पन्न थिए भने उनी एकपल्ट तकभरबाट चिन्ता गरेर घर फर्किँदा तल सिक्किम-बङ्गालको साँध रामभाङ पुल छेउ गारदमा बसेको पुलिसले सिक्किम छिर्न नदिँदा त्यो पुलिसलाई आफ्नो शक्तिले पाँच फिट माथितल फुटबलजस्तो उफारेका थिए। पछि पुलिसले रक्सी राखेर शिर उठाएपछि मात्र उनले उफार्नु बन्द गरेका थिए। तिनै पूर्णलाल बुक्खो कुलुङका म नाति भएका कारणले होला सानोमा बिमार भएर सिकिस्त हुँदा सबै गाउँघरका बिजुवाहरूले मलाई बिजुवा उतार्नु पर्छ अनि मात्र बाँच्छ भनेका थिए तर मेरो आमा पटक्क मानिन्। म पनि बिस्तारै आफ्नै बलबुँतामा ठीक भएको थिएँ। र, मेरा च्याप्जु नागीरे बिजुवा पूर्णलाल कुलुङको ढोलढ्याङ्ग्रो, डेली, चिण्डोको उत्तराधिकारी बनेर गाउँको बाजे पर्ने वीरबहादुर कुलुङ, नामी बैदाङ बिजुवा भएका थिए।

मैले चिनेजानेका बिजुवामध्ये बैदाङ बिजुवा पनि एक नम्बरको जण्डा बिजुवा (Shaman) थिए। उनी हाम्रो गाउँको कुल पूजा गर्ने एकल नागीरे त थिएँ नै तर उनको असली ख्याति भविष्यवाणीमा थियो। चिन्ता बसेको बेला गाउँघरमा वर्ष दिनमा बिमार भएर वा चोटपटक लागेर को अचानक मर्छ उमेर, दिशा, केटाकेटी वा मरदऔरत सठीक भनिदिन्थे। हाम्रा कुलुङ बिजुवा र मध्ययुगीन ग्रीक शामनको सम्बन्ध तय गर्न शोध कार्यै गर्नुपर्ला कारण उनीहरूले क्रियान्वित गर्ने कतिपय विधिमा सामञ्जस्यता देखिएका छन्। बाफोनट (Baphonot) भन्ने ‘अकल्ट’ (Occult) अभ्यास गर्दा ग्रीकमा बिजुवा  (Shaman)-ले पेन्टाग्राम (Pentagram) भन्ने पाँच भागमा विभक्त पन्चमुखी तारा एउटै सतत् रेखाको भरमा बनाउँथे जसको गूढ़ अनि जादुई प्रतीक हुन्थ्यो। त्यस्तो पेन्टाग्राम कुलुङ बिजुवाले पनि चिन्ता गरेको बेला खड्को काट्दा मकैको पीठोले बनाउने गर्छ। त्यस्तै मध्ययुगीन फ्रान्समा पनि अकल्ट अभ्यास गर्दा एउटा वृतमा छःदेखि आठजना बसेर मृतात्मालाई बोलाउने विधि ‘सिमसेस’ (Seamces)-सँग पनि कुलुङ बिजुवाले मृतात्मालाई बोलाउने विधि सामञ्जस्यता राख्छ। तर अहिले कुलुङभाषी वृतमा त्यस्ता जण्डा बिजुवाहरू लगभग लोप भइसकेको अवस्था छ।    

यहीबीच २० अक्टबोर, १९९२-को राति बीएस राई बिते। उनले अविवाहित रहेर बाँचुञ्जेल एकाकी जीवन बिताए। जुम बस्तीले जन्माएको एउटा तारा सदाका लागि अस्तायो। त्यस्ता अर्का तारा देवकुमार राई ‘जुमेली’ पनि थिए, जसको विषयमा पछि चर्चा गरौंला। बीएस राई ठूलो सरकारी अफिसर मात्रै होइन, त्योभन्दा बेसी एउटा लेखक थिए। उनी स्वाभिमानी पनि त्यतिकै थिए। मर्नुभन्दा एक वर्षअघि १९९१-मा उनले तत्कालीन व्यवस्थाको मनमानीको विरोधमा जोइन्ट डाइरेक्टरको ठूलो ओहोदाबाट स्वेच्छापूर्वक राजीनामा दिएर पैतृक थलो जुम बस्तीमा आएर बसेका थिए। उनले सरकारअघि लम्पसार परेको भए सचिव हुनु सक्थे। तर उनलाई पैसा, पदको लोभलालच थिएन।

फकिर थिए उनी। तर त्यतिबेलासम्म उनका दुई उपन्यास – ज्वाला र खरानीहरू (१९८३), ती फूलका गीतहरू (१९८८), दिल्ली साहित्य अकादमीको अनुरोधमा प्रेमचन्द-को जीवनी अनुवाद (१९८६) र अनेकौं फुटकर कथा प्रकाशित भइसकेका थिए। मरणोप्रान्त निर्माण प्रकाशनले उनको कथा सङ्ग्रह ‘धून एकः तरङ्गहरू अनेक’ र कविता सङ्ग्रह ‘बीएस राईका कविताहरू’ छापिदिएको थियो।

म यहाँ बीएस राईका साहित्यिक कृतिको समीक्षा गर्नु चाहन्नँ कारण यो काम प्रवीण राई ‘जुमेली’-ले आफ्नो पुस्तक ‘शब्द सन्ताप’-मा गरिसकेका छन्।

र, मैले कसैको अन्तिम सास जाँदै गरेको प्रथमचोटि देखेको पनि उनै बीएस राईकै हो। हप्ता दिनदेखि उनी कोमामा एसटीएनएम अस्पतालमा लड़िरहेका  थिए, आर्मी छोड़ेर आएका डाक्टर कटुवालले बेलाबेला आएर हस्पिटलै थर्किनेगरी कानमा ‘मिस्टर राई’ भनेर पुकार्थे अनि प्रतिक्रियाहीन बीएस राईको अनुहार गहिरोसँग हेरिराखेर जान्थे। अझै झल्झली थाह छ, मर्ने बेलामा उनले मुखबाट घोंघोंको अस्पष्ट आवाज निकालेका थिए अनि हामी दुई-तीनजना रूङ्नेहरूलाई स्थिर भएका आँखा खोलेर फिन्फिन घुमाएर पालैपालो हेरेपछि सदाका लागि अचल भएका थिए। पछि हामीले अरूसँग यो कुरा गर्दा बूढ़ाको सास आँखाबाट गए छ भने।

उनको पार्थिव शरीरलाई पैतृक गाउँ जुममा दफन गरियो।

अब बैदाङ बिजुवा दृश्यमा देखा पर्छन्। दफनाएको त्यही दिन या तीन, पाँच, सात बिजोड़ी दिनमा एउटा कुलुङले मृतात्माको नाममा काम सम्पन्न गर्छ अनि त्यही रात चिन्ता पनि गर्छ। बीएस राईको पनि कामको दिन चिन्ता भयो। बैदाङ बिजुवाले निक्खुर सेतो रङ्गको जामा पहिरेर, शिरमा विभिन्न किसिमका चरीका प्वाँखले निर्मित सुन्दर शिरबन्दी बाँधेर, गलामा रूद्राक्षको र साँपको काँड़ाको माला लगाएर, कम्मरको पटुकामा खुर्मी भिरेर मुन्धुम गाउँदै बनको चरीजस्तो थरीथरी भावभङ्गीमा ढ्याङ्ग्रो र काँसे थालको तालमा नाँच्दै हाई पिचमा, नेवो… भागेश्वर काइँला… भनेर चिहानदेखि आँगनमा, आँगनदेखि बलेंसीमा, बलेंसीदेखि सिकुवामा, सिकुवादेखि घरभित्र बीएस राईको मृतात्मा बोलाएर उनको  दुःखमनबारे सोधे। आधा राततिर बैदाङ बिजुवाले रूँदैरूँदै भागेश्वर राई भएर बोले …. मैले मेरो लाश नगाड्नु भनेर लेखेर छोडेको थिएँ। मलाई जलाएर मेरो बारीको ठूलो ढुङ्गाको छेउमा कपुर बनाइदिनु भनेको थिएँ जुन ढुङ्गामाथि चढ़ेर म सानोमा खेल्ने गर्थे। मेरो लाशलाई गाड़ेकोमा मेरो ठूलो मनदुःखो छ।………

बीएस राईका सबै दाजुभाइ पढ़ेलेखेका बजारमा बस्ने अफिसरहरू थिए। कसैले पनि बैदाङ बिजुवाको कुरालाई महत्त्व दिएनन्। भनौं, पत्याएनन्। उनीहरूलाई चिन्ता गरेर चलनचल्तीको रीत निभाउनु थियो। तर, भोलि सबैजना फर्किने तर्खर गर्दै थिए, बीएस राईको एउटा थोत्रे सुटकेसमाथि सबैको नजर पऱ्यो। त्यो चाबी नभएको सुटकेसभित्र के छ भनेर जिज्ञासा मेटाउन सुटकेस तोड़ियो। त्यो सुटकेसभित्र केही कविताको बण्डल, आफ्नो जीवनी लेखेको केही अंश थिए, जो उनीहरूका लागि काममा चीज थिएनन् तर सुटकेसभित्र बैदाङ बिजुवाले चिन्ता गर्दा भनेका बीएस राईले मृत्युअघि लेखिछोड़ेको इच्छापत्र पनि थियो।

त्यसको अर्को साल बैदाङ बिजुवा पनि बिते। उनले १९९३-को मङ्गसीर महिना काट्दिन भनेका थिए, त्यही मङ्गसीर महिनाको एउटा कालरात्रिमा पलङ्गबाट लड़ेर उनी परलोक भए।

                     ………………………………………..

2 टिप्पणी

  1. कुलुङ मिथक र सस्कृतिको बिसयमा मुलधारको साहित्य लेखन मा कलम चलाउने हिम्मत/खुबी जो तपाईको मात्र देखियो ।

    यो दोश्रो लेख हो जो खुब आनन्द मानी मानी म पढिरहेको छु ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here