केशहरू

0
1083

-उदय थुलुङ

टाउकोका केशहरू सल्बलाएको देखेर
हावा डरायो…
एउटा टोपीले थिचिएका यतिबिघ्न केशहरू?

शान्त पृथ्वीजस्तो देखिने टाउकोमा
प्राचीन खेतबारीजस्तो यो केशबारी
यो पिँढ़ीसम्मै?
अचम्भित छ हावा

बालासन खोलाजस्तो लामो सिउँदो
ओह्रालो बगिबस्छ टाउकोमा,
केशहरूलाई शङ्का छ
यसमा कुनै षड़यन्त्र छ,
केशको उँचाइलाई सख्त घृणा गर्ने टाउकोको
कैंचीसित पक्कै साँठगाँठ छ,
धानको बोटजस्ता केशहरूलाई
खेतमै ढाल्न
टाउकोले सायद सधैँ टोपी ओढ़्छ

केशबारीमा तर
सन्तोक गरेर बसेका छन् यी केशहरू
गाड़िएका कुर्कुच्चाहरूसित उभिन पाउँदा
खुशी छन् केशहरू
आनन्दित छन् केशहरू।

अस्तिको आँधी पछि
हावाको गाउँतिर फर्केर अचेल
बारम्बार सुसेली रहन्छन् केशहरूले
हावामा
टोपीको बिजोग हेर्नलाई।

(मङ्पू)

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here