सिलगढ़ी, ३० जूनः विमल गुरुङपन्थी गोजमुमो नेतृ एवं सुकना-पानीघट्टा समष्टिकी पूर्व सभासद् चम्पा विभारले सबै मुद्दामा जमानत पाएकी छन्।
२०१७ –को गोर्खाल्याण्ड आन्दोलनअवधि हिंसात्मक गतिविधिमा संलग्न रहेको आरोपमा पक्रा परेकी विभारमाथि चारवटा मुद्दा लगाइएको थियो भने तीनवटा मुद्दामा उनले अघिबाटै जमानत पाइसकेकी छन्। तर पुल बजार थानाअन्तर्गतको एक मुद्दाको सुनवाइ भने कोलकाता उच्च न्यायालयमा चलिरहेको थियो, जसका कारण उनी जेलमुक्त हुन सकेकी थिइनन्।
विमल गुरुङपन्थी गोजमुमो पक्षका उकिल आनन्द भण्डारीका अनुसार हिजो २९ जूनका दिन पुलबजार थानाअन्तर्गतको मुद्दामा भिडियो कन्फ्रेन्सिङमार्फत् सुनवाइ भएको थियो, जसमा चम्पा विभारले जमानत पाएकी हुन्।
उकिल भण्डारीका अनुसार दार्जीलिङ सिंहमारी थानाअन्तर्गतका एउटा मुद्दामा उनले पछिल्लो ६ जूनका दिन कोलकाता उच्च न्यायालयबाट जमानत पाइसकेकी छन्।
यसभन्दा अघि उनले दुईवटा मुद्दामा खरसाङ कोर्टबाट जमानत पाइसकेकी थिइन्।
उल्लेखनीय छ, चम्पा विभार २०१७ को आन्दोलनकालअवधि पनि पक्रा परेकी थिइन्। त्यसबेला उनी लामो समयसम्म जेल बसेपछि जमानतमा मुक्त भएकी थिइन्।