बङ्गाल विधानसभा चुनाउअघि नै स्थायी राजनीतिक समाधान हुनुपर्छः गोरामुमो

1
1395

दार्जीलिङ, ३० जूनः आउँदो वर्ष हुने बङ्गाल विधानसभा चुनाउअघि नै दार्जीलिङ पहाड़को स्थायी राजनीतिक समाधान हुनुपर्ने माग गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो)-ले दोहोऱ्याएको छ।

केन्द्रिय अध्यक्ष मन घिसिङको उपस्थितिमा हिजो मेथीबारीनिवासी रूपेन गुरुङको निवासमा बसिएको खरसाङ ब्राञ्च कमिटीको सभामा वक्ताहरूले बङ्गाल विधानसभा चुनाउअघि नै स्थायी राजनीतिक समाधानको मुद्दा छिनोफानो हुनुपर्ने माग दोहोऱ्याएका हुन्।

खरसाङ ब्राञ्च कमिटीका प्रचार प्रसार सचिव भुपेन्द्र गुरुङले एक प्रेस विज्ञप्ति जारी गरी जानकारी गराएअनुसार सभामा केन्द्रिय प्रवक्ता महेन्द्र छेत्री, केन्द्रिय सदस्यहरू क्रमैले बी.के. राई, पारस गुरुङ, जे.बी. गुरुङ, खरसाङ ब्राञ्च कमिटी अध्यक्ष निमा लामा, सचिव युद्ध छेत्री, एचपीडब्ल्यूयू ब्राञ्च अध्यक्ष जर्ज गुरुङ, सचिव अदीप राईलगायत अन्य उपस्थित थिए।

गुरुङका अनुसार भाजपाले पछिल्लो लोकसभामा आफ्नो सङ्कल्प-पत्रमा प्रतिबद्धता जताएको गोर्खा जाति र गोर्खा भूभागको  स्थायी राजनीतिक समाधानका लागि प्रभावशाली रणनीति तयार पारी केन्द्र सरकारसँग जोगाजोग गर्ने तथा बङ्गाल विधानसभा चुनाउ अघिनै पहाड़को स्थायी राजनीतिक समाधान हुनुपर्छ भन्ने अड़ान राख्नुपर्ने कुरामा वक्ताहरूले जोड़ दिए।

यसका साथै सभामा अन्य विषयमा पनि छलफल गरी ती विषयसम्बन्धित समाधानका केन्द्रिय मन्त्रालयहरूसमक्ष पार्टीले उठान गर्ने पनि निर्णय गरिएको छ।

यसअवसरमा पार्टी अध्यक्ष मन घिसिङले पार्टी कार्यकर्ताहरूले विपदको बेला मानिसहरूका सहयोगका लागि गरिरहेको कार्यप्रति सन्तुष्टि व्यक्त गर्दै थप सहयोगहेतु तयार रहने आह्वान गरेको खरसाङ ब्राञ्च कमिटीका प्रचार प्रसार सचिव भुपेन्द्र गुरुङले बताएका छन्।

1 टिप्पणी

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here