पहाड़मा हर्टिकल्चरलाई पुनः बिउँताउन जीटीएको पहल

0
1192

दार्जीलिङ, ३० जूनः पहाड़मा हर्टिकल्चरलाई पुनः बिउँताउनका लागि जीटीएले पहल शुरू गरेको छ।

हिजो (सोमबार) पहाड़मा हर्टिकल्चरको सम्भावना खोज्दै जीटीए मुख्यालय लालकोठीमा एक बैठक बसेको थियो। उक्त बैठक जीटीए बीओएका अध्यक्ष अनित थापाको अध्यक्षतामा बसेको थियो।

बैठकमा जीटीएका मुख्य सचिव सुरेन्द्र गुप्त, हर्टिकल्चरका कार्यकारी निदेशक पुष्पक कुमार राय, हर्टिकल्चरका जिल्ला अधिकारी एस.पी. सिंहलगायत लाइन डिपार्टमेण्टका मुख्य अधिकारीहरू उपस्थित रहेको बताइएको छ।

जानकारीका अनुसार करिब १४ वर्षपछि पहाड़मा हर्टिकल्चरलाई फेरि सुचारू गराउने प्रयास जीटीएले अहिले गरिरहेको छ। विभिन्न सरकारी योजनालाई गाउँस्तरसम्म पुर्याउन र गाउँका कृषकहरूसँग जोड्न जिल्ला अभियान समिति गठन गरिएको छ, जुन समितिमा दार्जीलिङ, कालेबुङ र खरसाङका ब्लकहरूबाट प्रतिनिधि चयन गरिएको बताइएको छ।

हिजो ती सबै प्रतिनिधिलाई लिएर जीटीए मुख्यालयमा पहिलो औपचारिक बैठक सम्पन्न भएको थियो।

बैठकमा हर्टिकल्चरले पहाड़मा रोजगारको अवसर प्रदान गर्ने जीटीए बीओएका अध्यक्ष अनित थापाले बताए।

थापाका अनुसार कोभिड-१९ का कारण विश्वभर बेरोजगारको दर बढ़ेको छ। त्यसैगरी दार्जीलिङ पहाड़मा अहिले बेरोजगारीको सङ्ख्या दुईगुणा भएको छ। रोजगारका लागि प्रदेश गएका युवावर्ग अहिले गाउँ फर्किएका छन्। अब उनीहरूका लागि रोजगार उपलब्ध गराउन एउटा जटिल विषय बनेको छ।

यसैले जीटीएले यस दिशामा केही हदसम्म रोजगारीको नयाँ  अवसर  युवावर्ग अघि राख्ने प्रयासमा नै हर्टिकल्चरमा विभिन्न योजना लिएर अघि आएको अध्यक्ष थापाले बताएका छन्।

बैठकमा उनले बताएअनुसार जीटीएले पहाड़मा हुने फूल खेती, साग-सब्जी, मसाला, औषधीय उद्भिदको खेती, गार्डनिङ, हर्टिकल्चर टुरिज्म आदि क्षेत्रमा युवावर्गलाई प्रोत्साहन गर्नेछ।

हिजो सम्पन्न बैठकमा कृषि विकास सङ्गठनका अध्यक्ष पेम्बा तामाङले यसपालिको वार्षिक योजनामा बिजनबारी र कालेबुङको एउटा गाउँलाई हर्टिकल्चरले मोडल भिलेजको योजना ल्याउनुपर्ने माग गरे।

उत्पादन र बजार व्यवस्थापनमा कृषकहरूले भोग्न परेका विभिन्न समस्या विषय पनि उनले बैठकमा धेरै कुरा उठाए। अर्कोतिर जीटीए बीओएका अध्यक्ष थापाले हर्टिकल्चरका कार्यकारी निदेशक र जिल्ला अधिकारी, हर्टिकल्चर विभागलाई दार्जीलिङ, कालेबुङ र खरसाङको खेती हुने ठाउँको भ्रमण गरेर कृषकहरूसँग सम्पर्क गरी नयाँ योजनाहरू बनाउने निर्देश दिएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here